वादरहित राजनीति र सत्ताको हलचल
नेपालको राजनीतिले कुनै पनि वादलाई मानेको पाइँदैन । दक्षिणपन्थी, कम्युनिस्ट, मध्यममार्गी एवं उग्र दक्षिणपन्थी र जातिवादी सबै वाद एकअर्काको सहवासलाई सामान्य ठान्छन् । कमल थापाको उग्र दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले उदारवादी र मध्यममार्गी नेपाली कांग्रेस र उग्र कम्युनिस्ट माओवादी केन्द्रसँग सहज उठबसमा छ । उदारवादी र मध्यममार्गी भनिएको कांग्रेसको नेपालका सबै कम्युनिस्टसँग बेलाबेलामा सत्ताको लागि घनिष्ट सम्बन्ध हुनु सामान्य नै छ ।
समाजमा वर्गीय समानताको पृष्ठपोषण गर्ने कम्युनिस्ट पार्टीहरू नै नेपालका जातीय राजनीतिका अगुवा बनेका हुन् । अन्तर्राष्ट्रियवादमा आधारित कम्युनिस्टहरू जातिवादी र क्षेत्रीयतावादको पृष्ठपोषण मात्र होइन, राष्ट्रियताको विषयमा पनि अब्बल पार्टी ठहरिएका छन् । कुनै बेला दस वर्ष लामो हिंसात्मक आन्दोलनका माओवादी दलका अगुवा डा. बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त मात्र छोडेनन्, पछिल्लो समय क्षेत्रीयतावादी उपेन्द्र यादवको संघीय समाजवादी दलसँग सजिलै गठबन्धन गरे । नेकपा एमालेदेखि कांग्रेससम्म, राप्रपादेखि माओवादीसम्म, मधेसका क्षेत्रीय पार्टीदेखि उदारवादीसम्मका गठबन्धन सत्ता प्राप्तिको लागि निरन्तर जारी छ । वर्तमान राजनीतिका सबैजसो पात्र सत्ता प्राप्तिको लागि जुनसुकै गठबन्धन जायज ठान्छन् ।
जनताका नाममा जनतालाई निरन्तर अस्थिरतामा राख्ने यो प्रवृत्ति नेपालको भूराजनीतिक जटिलताले अझै थप चलायमान छ । केही समय अघिसम्म राजनीतिका अछूत राप्रपा नेता कमल थापा अहिले राजनीतिक वृत्तमा क्रान्तिकारी माओवादी नेता प्रचण्ड हुन् वा लोकतन्त्रका शिखर नेता शेरबहादुर देउवा अनि एमाले नेता केपी शर्मा ओली सबैका प्रिय र घनिष्ट राजनीतिक मित्र भएका छन् । सम्भावनाभन्दा धेरै टाढा रहेको कांग्रेस र माओवादी गठबन्धन झन्डै दस वर्षदेखि यथार्थ छ । अबको अर्को चरणमा भर्खरै एकै सूत्रमा बाँधिएका मधेसी नेताहरू र वर्तमान सत्ता समीकरणका प्रमुख दलहरू एकै ठाउँमा आउने सम्भावना नकार्न सकिन्न । लामो र निरन्तर राजनीतिक अस्थिरतामा अघि बढिरहेको नेपालको राजनीतिमा असम्भव भन्ने समीकरण केही देखिँदैन । शासन र सत्तालाई अस्थिर राख्न अस्वाभाविक गठबन्धन र समीकरणको निरन्तरताको लागि यहाँ सबै आवश्यक आधार पनि छ । कम्युनिस्ट, दक्षिणपन्थी, प्रजातन्त्रवादी, मध्यममार्गी सबैको संस्कृति र संस्कार एउटै भएकाले मिलन र बिछोडको निरन्तरता छ ।
नेपालको राजनीति र समाजमा बारम्बार हुने हलचल, उतारचढाव, समीकरण र त्यसमा देखिने क्रियाप्रतिक्रिया र त्यो परिवेशमा संलग्न व्यक्तिहरूको भूमिकालाई हेर्दा कतिपय अवस्थामा अनायास, अतिरञ्जित, निर्दयी लाग्न सक्छ । तर विगतको लामो समयकाल, राजनीतिक यात्रा र समाजलाई अध्ययन गर्दा यसलाई अस्वाभाविक मान्न सकिन्न । कतिपय व्यक्तिहरूको उदय र अवशान अप्रत्यासित तर निरन्तर छ । नेपालको राजनीतिक इतिहास डर, त्रास, प्रतिशोधले भरिपूर्ण छ । राजनीतिक व्यवस्था मात्र होइन, त्यसमा संलग्न राजनीतिज्ञसमेत अस्थिर छन् । प्रत्येक राजनीतिक उथलपुथलमा व्यक्तित्वहरूको उत्थान र पतन भएका सैयौं उदाहरण छन् ।
राजनीतिक खेलमा राप्रपा अध्यक्ष थापा नेपालको वर्तमान संविधानको प्रबल समर्थक मात्रै होइनन्, त्यसको मुख्य व्याख्याताको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । थापा यो संविधानले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको सम्भावना दिएकाले नै संविधानको पक्षमा आफूले मतदान गरेको पुष्टि गर्छन् । थापालाई थाहा छ, संविधानबाट पुनस्र्थापना गर्न सकिन्छ भनिएका दुवै विषय संवैधानिक एवं जनमतको आधारले नभई कुनै घोषणालाई कानुनी आवरण दिई गरिएको थियो ।
गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासँगै समाजवादतर्फ उन्मुख भनी संविधानले परिभाषित गरेको छ । तर यथार्थमा संविधानले बोलेका वा व्यक्त गरेका भावनासँग राजनीतिक संस्कार बढ्न नचाहेको कटुसत्य सबैको अघिल्तिर छ ।
हुन त थापाले आफैं गृहमन्त्री हुँदा नगरपालिकाको चुनाव गराएका थिए । तर अहिले उनी नै २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा भाग लिन आह्वान गर्दैछन् । थापाका राजनीतिक सोचमा आएको यो परिवर्तनले नै उनी क्रान्तिकारी पार्टीका अपरिहार्य र निकतटम् सहयोगी बनेका हुन् । हिजोसम्म परिवर्तनको मूलधार ठान्ने मधेसी दलहरू अहिले निकै टाढा पुगेका छन् । आफ्नै संलग्नतामा ल्याइएको परिवर्तनको माग लिपिबद्ध गरिएको संविधान व्यापक परिमार्जन नभए जस्तोसुकै निर्णय लिने घोषणा मधेसी दलहरूले गरेका छन् । तर मूलधारका तीन मुख्य दलका नेताहरू अझै पूर्वराजालाई निषेध गरिराखेका छन् ।
उनका सामाजिक कार्यसमेत बहिष्कार गरिराखेका छन्, तर पूर्वराजाकै शासन व्यवस्थाका प्रमुख हस्ती थापा राजनीतिमा मियो छन् ।वर्तमान राजनीति र समाजमा सक्रिय पात्रहरू र तिनका प्रवृत्तिमा नेपालको सांस्कृतिक र संस्कार नै निर्णायकत्वको रूपमा रहेको यथार्थ हो । थापा प्रधानमन्त्री दाहालको यति निकट छन् कि आफूलाई प्रधानमन्त्री बनाउन अहम् भूमिका खेल्ने र सबैभन्दा ठूलो दलका नेता उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई समेत मन्त्रिपरिषद्को वरिष्ठताको मर्यादाक्रममा घटुवा गराउने सामथ्र्य राख्छन् । मन्त्रिपरिषद्को वरिष्ठताको विवादमा उपप्रधानमन्त्री थापाको मर्यादा बढाउने क्रममा देउवाले समेत थापालाई साथ दिएका छन् ।
२०६२/६३ को आन्दोलनपछि आफैंले पुनस्र्थापना गरेको संसद् र आफैंले शपथ दिलाएर वैधानिकता प्रदान गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकलौटी रूपमा शासन र सत्ता उपयोग गरी अझै कार्यवाहक राष्ट्रप्रमुख घोषणा गर्नेसम्मको हर्कत गर्छन् भन्ने थाहा पाएको भए पूर्वराजा ज्ञानेन्द्रले एकपटक सोच्ने होलान् । २०६२/६३ पछि प्रजातान्त्रिक आन्दोलनका नेता कोइराला श्रीपेचबिनाका महाराज बन्न पुगेका राजनीतिक परिदृश्य यहाँ उल्लेख गर्नु आवश्यक छैन । नेपालको इतिहासले के देखाएको छ भने सत्ता र स्वेच्छाचारी चरित्र र प्रवृत्तिको निरन्तरता नेपालमा छ ।
डेमोक्रेटिक इनोभेसन्स इन नेपालमा भुवनलाल जोशी र लियो रोजले नेपालको राजनीतिक संस्कृति र संस्कारको परिभाषा गरेका छन् । जोशी र रोज नेपालको राजनीतिक संस्कार प्रतिशोध र राजनीतिक अतिशयोक्तिमा आधारित रहेको विश्लेषण गरेका छन् । इतिहास अध्ययन गर्दा सबैजसो राजनीतिक उथलपुथलपछि प्रतिशोध र अतिशयोक्ति भएको देखा पर्छ । वर्तमान नेपालको राजनीतिक संस्कार र संस्कृति पनि यसैबाट प्रभावित छ । सत्ता केन्द्रहरू अतिशयोक्तियुक्त भएर प्रतिशोधमा उत्रेका उदाहरण प्रशस्तै छन् । आफ्नो विचारसँग विमति भएकालाई राज्यले कुन हदसम्म प्रतिशोध लिन्छ भन्ने विभिन्न आयोगहरूमार्फत व्यक्तिहरू र राजनीतिज्ञलाई निर्मम रूपमा स्वेच्छाचारी ढंगले गरेका कारबाहीका फेहरिस्त सबैको सामु छ ।
राजनीतिक चिन्तक ग्याबरिय ए आल्मोडको भनाइ यहाँ सान्दर्भिक छ । राजनीति एउटा प्रक्रिया हो । यो प्रक्रिया प्रत्येक पुस्ताले अघिल्लो पुस्ताबाट ग्रहण गरेको हुन्छ । नेपालको राजनीतिमा लामो समयसम्म विभिन्न चरणमा भएका प्रतिशोध र अतिशयोक्तिपूर्ण घटना पुस्तान्तरण हुँदै आएका छन् । मल्लकालदेखि राणाकाल र त्यसपछिका आधुनिक कालमा पनि राजनीतिमा प्रतिशोधको प्रवृत्तिको निरन्तरता छ । राजनीतिक संस्कृति अनुभवजन्य आस्था एवं मान्यताहरूले राजनीतिक प्रक्रियालाई परिभाषित गर्छ । नेपालको राजनीति पनि यसबाट अछूत छैन । मल्लकालीन षड्यन्त्रले राणाकालका राजनीतिलाई प्रभावित पारेका थिए । राणकालीन षड्यन्त्र एवं घातप्रतिघातको राजनीतिले त्यसपछिका राजनीतिलाई प्रभाव पार्दै आएको छ ।
हुन त नेपालमा पूर्ण लोकतन्त्रमा आधारित गणतन्त्रात्मक शासन व्यवस्था छ । तर राज्य सञ्चालनमा प्रतिशोधपूर्ण कारबाहीको लागि स्वेच्छाचारी संस्थाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि व्यवस्था गरेको छ । प्रतिशोधका लागि हिजोका दिनमा शारीरिक रूपमा नै समाप्त गरिन्थ्यो भने अहिले मानसिक र चारित्रिक रूपमा समाप्त पारिएका उदाहरण प्रशस्त छन् । जयस्थिति मल्लदेखि जंगबहादुर राणासम्मले राज्य सञ्चालनका लागि थितिहरू नबसालेका होइनन्, तर तिनको परिभाषा भने शासनअनुकूल भएको पाइन्छ । नेपालमा उदार प्रजातान्त्रिक संवैधानिक व्यवस्थाको प्रार्दुभाव भएको ७० वर्ष लामो इतिहास छ । ६ वटा संविधानहरू एकपछि अर्को गर्दै बदलिएर सातौं संविधानको अभ्यास नेपाली राजनीतिज्ञहरू गर्दैछन्, तर व्यक्तिको स्वतन्त्रता, न्यायपूर्ण समाज, कानुनी राज्य एवं जनउत्तरदायी सरकारहरू अझै पनि नेपालीको लागि मृगतृष्णा बराबर छ ।
प्रसिद्ध राजनीतिक विचारक लुसी पाई लेख्छन्, कुनै पनि व्यक्तिको राजनीतिलाई संस्कार, त्यस व्यक्ति जन्मेको, हुर्केको समाज एवं परिवारको ऐतिहासिक, सांस्कृतिक एवं सामाजिक पृष्ठभूमिले प्रभावित पारेको हुन्छ । कुनै पनि व्यक्तिले समाजमा विद्यमान सांस्कृतिक, ऐतिहासिक प्रभाव र जानकारीहरू आफूमा समाहित गरेको हुन्छ । व्यक्तिको मनोविज्ञान गतिशील हुन्छ, तर सामाजिक, धार्मिक र सांस्कृतिक संरचना यति दह्रोसँग गाडिएको हुन्छ कि त्यसमा तत्कालै परिवर्तनको सम्भावना हुँदैन । राजनीतिक व्यवस्था जति आधुनिक भए पनि अन्ततः त्यसको सञ्चालनमा तत्स्थानमा विद्यमान संस्कार र संस्कृति नै निर्णायक हुन्छ ।
नेपाल अहिले क्रियाशील राजनीतिक सिद्धान्त, व्यवस्था र पद्धति धेरै आधुनिक छन् । गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासँगै समाजवादतर्फ उन्मुख भनी संविधानले परिभाषित गरेको छ । तर यथार्थमा संविधानले बोलेका वा व्यक्त गरेका भावनासँग राजनीतिक संस्कार बढ्न नचाहेको कटुसत्य सबैको अघिल्तिर छ।
संकेत, बोलीचाली मात्र होइन, सञ्चार क्षेत्रमा श्रव्यदृश्यसँगै सामाजिक सञ्जालमा आउने राजनीतिक प्रतिक्रिया र टिप्पणीहरू हाम्रो सांस्कृतिक र संस्कारसँग जोडिएका छन् । ऐतिहासिक कालखण्डदेखि पुस्तान्तरण हुँदै आएका सामाजिक र सांस्कृतिक संस्कारहरूमा आधारित रहेर नै भर्खरका युवाको टीकाटिप्पणी आउने गरेको पाइन्छ । पश्चिमा औद्योगिक मुलुकका सभ्य संस्कृतिलाई समेत विकृत बनाउने यी सामाजिक सञ्जालहरू नेपालको परम्परागत समाजमा व्यक्तिका व्यक्तिगत चरित्रहत्या र हुर्मत लिन प्रयोग भएका छन् ।
कोतपर्व जस्ता अनगिन्ती हिंसात्मक राजनीतिक षड्यन्त्रसम्बन्धी संकेतहरू स्थानान्तरण हुँदै आएको संस्कार सामाजिक सञ्जालमा देख्न पाइन्छ । व्यक्तिको हत्यालाई सामान्य मान्दै आएको हाम्रो समाजले चरित्रहत्यालाई सामान्य रूपमा लिने गरेको पाइन्छ । त्यसैले व्यक्तित्व, आत्मसम्मान जस्ता आधारभूत मानवअधिकारसमेत निरन्तर आक्रमणमा छ । हिजोको दिनमा जात र थरबीचको हिंसात्मक द्वन्द्व अहिले राजनीतिक वादको आवरणमा प्रस्फुटन भएको देखिन्छ । दलदलका बीचमा विभाजन प्रजातन्त्रको सामान्य संस्कार हो । तर व्यक्तिगत स्तरमा हुने चरित्र हत्याका विषय नेपालको संस्कार हो ।
मानिस सामाजिक प्राणी हो । समाजमा विद्यमान सांस्कृतिक, धार्मिक र समुदायहरूबीचको ऐतिहासिक आधारहरूले व्यक्तिको चरित्र निर्धारण गरेको हुन्छ । नेपाली समाज र यही समाजमा हुर्केबढेका मानिसहरू अछूतो छैनन् । विश्वविख्यात मनोविज्ञानवेत्ता फ्रायडले कुनै पनि व्यक्तिको व्यक्तित्व निर्माणमा उसको समाजका मूल्यमान्यताहरूले प्रभाव पार्ने धारणा राख्छन् । नेपाली राजनीति र सत्ता संघर्षको सन्दर्भमा त्यसमा संलग्न व्यक्तिहरूको चरित्रलाई विश्लेषण गर्दा नेपालको परम्परा ऐतिहासिक मान्यता र संस्कार बिर्सन मिल्दैन । प्रजातन्त्रलाई अघि बढाउन नयाँ संस्कृति बसाल्न नेपालले लामो फड्को मार्नैपर्ने हुन्छ ।
एक व्यक्तिले गर्ने निष्ठाको राजनीतिले के गर्न सक्दैन भन्ने उदाहरण बीपी कोइराला हुन् । तर उनकै शब्दमा भन्दा एक्लो वृहस्पति बन्ने आँट राजनीतिज्ञहरूले नगरेसम्म यो समाजको प्रजातान्त्रिक संस्कार निर्माण सम्भव छैन । बीपीजस्तो निष्ठा र सैद्धान्तिक वचनबद्धता भएका नेता परिदृश्यमा नभएका अहिलेको अवस्थामा हाम्रो परम्परागत सांस्कृतिक संस्कारको निरन्तरता लामो रहनेछ । यसको अर्थ सत्ताको खेल, गठबन्धन र निरन्तर अस्थिरता हाम्रो नियति मान्नुपर्छ ।