विद्यालयमा 'आर्ट एन्ड क्राफ्ट'

विद्यालयमा 'आर्ट एन्ड क्राफ्ट'

पछिल्लो समय खेल्दै सिक्दै पढ्ने अवधारणाको धेरै विकास भएको छ । यसैअन्तर्गत विद्यार्थीले व्यावहारिक ज्ञान पनि हासिल गरून् भन्ने उद्देश्यले राजधानीलगायत देशका सबैजसो विद्यालयले आर्ट एन्ड क्राफ्टका कक्षा सञ्चालनमा जोड दिएका छन् । 'आर्ट एन्ड क्राफ्ट'का कक्षाले विद्यार्थीमा अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सघाउनेमा शिक्षाविद्हरूसमेत सहमत छन् ।

खेर गएका वस्तुको प्रयोग गरी क्राफ्ट बनाउन सकिने र विद्यार्थीलाई पनि 'क्रिएटिभ' बनाउने भएकाले यस्ता कक्षा प्रभावकारी बन्ने गरेको पाइन्छ । काठमाडौं नयाँबजार खुसिबँस्थित प्राइम ग्लोबल स्कुलका प्रिन्सिपल नारायणप्रसाद शर्मा भन्नुहुन्छ, 'आर्ट एन्ड क्राफ्ट'का कक्षाले विद्यार्थीमा कल्पनाशीलता अभिवृद्धि हुन्छ । त्यसैले हामीले यसलाई विद्यालयमा प्रयोगमा ल्याएका हौं ।'

अन्य कक्षाको तुलनामा आर्ट एन्ड क्राफ्टका कक्षा बढी प्रभावकारी हुने गरेको स्वयं शिक्षकशिक्षिकाको समेत अनुभव छ । यस्ता कक्षामा विद्यार्थीले रुचिका साथ सहभागिता जनाउने गरेको प्रिन्सिपल शर्माको भनाइ छ । 'अन्य कक्षामा शिक्षकले पढाएका कतिपय कुरा विद्यार्थीले सजिलै नबुझेका हुन सक्छन्', उहाँ भन्नुहुन्छ, 'तर, 'आर्ट एन्ड क्राफ्ट'का कक्षामा सिकाइएका कुरा उनीहरूले सजिलै बुझेको पाइन्छ ।'

विद्यार्थीमा रहेको सीप अभिवृद्धि गर्न यस्ता कक्षाले सघाउँछन् नै । साथै हस्तकलामा निपुण बन्न पनि 'आर्ट एन्ड क्राफ्ट'का कक्षा उपयोगी एवं सहयोगी भएको शर्माको भनाइ छ । यस्ता कक्षाले 'खेल्दै सिक्दै' अवधारणालाई पनि सघाउने उहाँले बताउनुभयो । किनभने यस्ता कक्षामा विद्यार्थीले नजानिँदो पाराले व्यावहारिक ज्ञानसीप हासिल गरिरहेका हुन्छन् । 'खेल्दै सिकिने किसिमका यस्ता कक्षामा विद्यार्थी बढी रमाएको मैले पाएको छु', उहाँले भन्नुभयो, 'त्यसैले पनि 'आर्ट एन्ड क्राफ्ट'का कक्षा उपयोगी भएका हुन् ।

यस्ता कक्षा विद्यार्थीका लागि मात्र नभई शिक्षकका लागि समेत लाभदायी हुन सक्छन् । किनभने कतिपय शिक्षकले विद्यार्थीलाई बुझाउन नसकेका विषयलाई व्यावहारिक दृष्टिले 'क्राफ्ट'का माध्यमबाट बुझाउन सके ती बढी प्रभावकारी बन्न सक्छन् । आर्ट एन्ड क्राफ्टका कक्षामा विद्यार्थी जिज्ञासु बनेर सिकिरहेको पाइने राजधानीकै एक निजी स्कुलमा अध्यापन गराउने शिक्षिका नीलम कार्कीले बताउनुभयो ।

वेस्टेज वस्तुको सदुपयोग

क्राफ्ट कक्षाको अर्को उपयोगिता पनि छ । यसका लागि सामग्रीको खोजीमा टाउको दुखाइरहनु पर्दैन । त्यत्तिकै 'वेस्टेज' सामग्रीको पनि प्रयोग गरेर यसलाई क्राफ्ट बनाउन सकिन्छ । जस्तै, सुकेका रूखका हाँगा, जरा, रूखका पात, मिनरल वाटर एवं कोकफेन्टाका बोतल, पत्रपत्रिका आदिको सदुपयोगबाटै क्राफ्टका कला बनाउन सकिने कार्कीले जानकारी दिनुभयो ।

'त्यसैले मैले त बाटोमा हिँड्दै गर्दा क्राफ्टका लागि चाहिने सामग्री भेटें भने टिपिहाल्छु', उहाँले भन्नुभयो, 'नयाँ वस्तु बनाउन पाइने भयो भनेर खुसी लाग्छ ।'क्राफ्टका कक्षाले शिक्षकलाई कसरी सहयोग गर्छन् ? भन्ने जिज्ञासा लाग्न सक्छ । त्यसका लागि प्राइमका प्रिन्सिपल शर्मा भन्नुहुन्छ, 'गणित, सामाजिक शिक्षा, विज्ञानलगायत विषयका कतिपय कुरालाई 'क्राफ्ट वर्क' गरेर देखाउन सकिन्छ नि । यसले विद्यार्थी पनि सजिलै सिक्छन्, शिक्षकलाई पनि सजिलो हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.