नयाँ प्रधानन्यायाधीश

 नयाँ प्रधानन्यायाधीश

सर्वोच्च न्यायालय दलीय राजनीतिको दलदलमा छ । ऊ हिलोमा छ, तर जनताको अपेक्षामुताविक हिलोको कमल बन्न सकेको छैन । त्यो साहस र चरित्र सर्वोच्च हाँक्ने नेतृत्व र न्यायाधीशमा छ भन्नेबारे धेरैलाई विश्वास लागेको छैन । तर त्यो अविश्वासभन्दा फरक ढंगले सर्वोच्च नेतृत्व र परिवारले न्यायिक ढंगले केही गर्‍याे भने सबभन्दा बढी खुसी नेपाली जनता हुनेछन् र सबभन्दा ठूलो विजय संविधानवादको हुनेछ ।

केही दिनअघि सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्कीले पदबाट अवकाश लिनुभएको छ, उमेर हदको कारण । उहाँको कार्यकाल विवाद र दलीय द्वन्द्वबाट मुक्त हुन सकेन । ‘छापामार’ शैलीमा आएको र त्यत्तिकै गैरकानुनी रूपमा फिर्ता भएको महाभियोग प्रस्तावले सर्वोच्च अदालत राजनीतिक प्रहारको जोखिमपूर्ण निशानामा रहिरहेको सावित गरेको छ । त्यसअघि अत्यन्त विवादास्पद र प्रतिशोधपूर्ण तरिकाबाट सर्वोच्च न्यायालय नेतृत्व स्वयं नै ‘एक्टिभिस्ट’ शैलीमा एउटा ‘पक्ष’ को रूपमा प्रस्तुत हुन पुगेको थियो, लोकमानसिंह कार्की प्रकरणमा । अख्तियार प्रमुख कार्कीविरुद्ध त्यत्तिकै छापामार शैलीमा ल्याइएको थियो, संसद्मा महाभियोग प्रस्ताव ।

सर्वोच्च न्यायालयसँगै उच्च न्यायालयहरू (यसअघि पुनरावेदन अदालतहरू) निकै हदसम्म ठूला राजनीतिक दलहरूको भर्ती केन्द्र बनेका छन् र त्यसमा ठूला दाताहरूको प्रभाव पनि बुझिने गरी देखिन थालेको छ । सर्वोच्चका न्यायाधीशहरूले दाताको भत्तामा समानान्तर कार्यक्रम गर्दै आएको र अन्तर्राष्ट्रिय संस्थामा समानान्तररूपमा संलग्न भएको विविध अवसरमा उनीहरूको आरामदायी र सुविधासम्पन्न ‘आतिथ्य’ ग्रहण गरेका तथ्य सार्वजनिक जानकारीका विषय हुन् । त्यसैले सर्वोच्च नेतृत्वको छनोटमा व्यापक चासो देखा पर्नु अस्वाभाविक हैन ।

अहिले प्रधानन्यायाधीश नियुक्तिमा न्याय परिषद्ले ६ जना योग्यतासम्पन्न न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतको हालै निवर्तमान नेतृत्व र उत्तराधिकारको अग्रपंक्तिमा रहेका गोपाल पराजुलीबीचको वैमनस्य पनि त्यत्तिकै पारदर्शी घटनाका रूपमा अंकित छ बारमा । सोमबार निर्धारित संवैधानिक परिषद्को बैठक सम्पन्न हुन सकेन, नयाँ प्रधानन्यायाधीशको नियुक्तिलाई अन्तिम रूपमा दिन । प्रतिपक्षी नेता केपी ओलीले पराजुलीको थप अध्ययन गर्न चाहेकाले अर्को बैठक १५ असारको लागि निर्धारित गरिएको छ ।

संसदीय सुनुवाइ र संवैधानिक परिषद्ले दलीय स्वार्थ र घेराभन्दा माथि उठी यो महत्ववपूर्ण पदका दाबेदारबारे पारदर्शी निर्णय लिएमा केही हदसम्म भए पनि दलीय प्रभावको पकड कमजोर हुने थियो, न्यायपालिकामाथि । तर संसदीय समिति र संवैधानिक परिषद्ले अहिलेसम्म प्रायोजित नियुक्तिकै अनुमोदन गर्दै आएका छन् । त्यस अर्थमा ओलीले यो नियुक्तिबारे केही महत्ववपूर्ण तथ्य हासिल गरी अध्ययन गर्ने चाहना राख्नुलाई स्वागतयोग्य सुरुआतको रूपमा लिन सकिन्छ ।

तर त्यो प्रक्रिया एमाले नेतृत्वले सर्वोच्चका नियुक्तिलाई दलीय समीकरणबाट निर्देशित छ कि भन्ने आशंकाले ठाउँ दिनु हुँदैन । किनकि भोलिका दिनमा सर्वोच्च न्यायपालिकालाई ओढाइएका दलीय छाता र ती छाता समात्ने हातहरू व्यापक विरोधको निशाना बन्ने पक्कै छ । आखिर जनता निष्पक्ष, दलीय अभिभावकत्व नबोकेको, सच्चरित्र र योग्य न्यायपालिका र नेतृत्व चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.