दोस्रो चरण निर्वाचन

 दोस्रो चरण निर्वाचन

जनताको सहभागिता र चाहना सर्वोपरि हुन्छ, प्रजातान्त्रिक व्यवस्थामा । जनताकोे सर्वोपरि विकास, सशक्तीकरण, समावेशी र सहभागितापूर्ण जनस्तरीय पद्धतिको विकासबिना प्रजातन्त्रले खासै नाता जोड्न सक्तैन जनतासँग । त्यही उद्देश्यको लागि ०४७ को संविधानले स्थानीय शासन ऐनको परिकल्पना गरेको थियो, यद्यपि त्यसको पहिलो निर्वाचित निकायलाई गृहमन्त्रीका रूपमा वामदेव गौतमले २० वर्षअघि भंग गरेपछि कसैले त्यसको निर्वाचन गराउनै चाहेन ।

राजाको प्रत्यक्ष शासनकालमा स्थानीय निर्वाचन सञ्चालन गरिए पनि दलहरूद्वारा बहिष्कार मात्र हैन, परिआएमा हिंसात्मक व्यवधानमार्फत त्यसलाई रोक्ने अठोटपछि त्यो प्रयासले वैधानिकता पाउन सकेन । २०६३ को परिवर्तनपछि स्थानीय तह निर्वाचन सम्पन्न गर्नुनपर्ने कुनै कारण थिएन । तर सत्तामा एकाधिकार जमाएका सात÷आठ दल र तिनको नेतृत्व तह प्रजातन्त्रको सबभन्दा महत्ववपूर्ण खम्बा सशक्त र क्रियाशील होस् भन्ने चाहना राख्दैनथ्यो ।

स्थानीय तह निर्वाचन सम्पन्न नहुँदा त्यसमा यी एकाधिकारवादी दलहरूका झोलामा पालिएका मनोनीतलाई जिम्मेवारी मात्र दिइएन, स्थानीय विकासका नाममा झोले प्रतिनिधिमार्फत सरकारी कोषको ठूलो रकमसमेत दुरुपयोग भयो । निर्वाचनले दल र नेताहरूको यो तजविजी या जमिनदारी अधिकार समाप्त गर्ने हुनाले एकपछि अर्को बहानामा त्यो सर्दै गयो ।

बुधबार स्थानीय तह निर्वाचनको दोस्रो चरण सम्पन्न भयो, प्रस्तावित तीन प्रान्त १, ५ र ७ मा । वैशाख ३१ मा सम्पन्न पहिलो चरणमा प्रान्त ३, ४ र ६ तथा दोस्रो चरणका तीन प्रान्तमा कुल ७४४ मध्ये ६१७ मा निर्वाचन अत्यधिक जनसहभागिताका साथ सम्पन्न भएको छ । यद्यपि स्थानीय निर्वाचनले पूर्णता पाउन ६ महिना लाग्नु (प्रान्त २ मा असोजमा निर्वाचन हुँदैछ) आफैंमा हास्यास्पद र स्थानीय निर्वाचनप्रति सरकार र दलहरूको उदासीनता नै मानिनुपर्छ । तर जनतामा देखा परेको उत्साहले स्थानीय तहको औचित्य र त्यससम्बन्धी अवधारणाको अनुमोदन गरेको छ ।

जनतामा देखा परेको उत्साहले उनीहरू प्रजातान्त्रिक पद्धतिप्रति प्रतिबद्ध रहेको र त्यसले सुम्पेको दायित्व बहन गर्न सक्षम रहेको देखाउँछ । जनस्तरीय प्रजातन्त्र (ग्रासरुट डेमोक्रेसी) को आधार हो र प्रजातन्त्र मुलुकको स्वतन्त्र हैसियतबिना टिक्न सक्तैन । विगतमा प्रजातन्त्रको छाडा प्रयोगमा राष्ट्रिय नेताहरूले विदेशी हैकमसमेत निम्त्याएका छन्, आन्तरिक मामिलामा ।

प्रजातन्त्रलाई संस्थागत र स्थायित्व दिन स्थानीय तहमा देखा परेको उत्साहले जनता प्रजातन्त्रको स्थायित्वको आधार निर्माण गर्न र यसअघि राष्ट्रिय नेतृत्व तहले निम्त्याएको विचलनलाई सम्बोधन गर्न सक्षम भएको सन्देश पनि दिएको छ । सम्भवतः वर्तमान संविधानका अपूर्णता र अव्यावहारिक पक्ष सुधार्नसमेत जनताको यो उत्साह र सहभागिताले महत्ववपूर्ण दबाबको रूपमा काम गर्नेछ, आगामी दिनमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.