सिड्नीपछि न्युजिल्यान्ड जाँदै नेपथ्य
काठमाडौं : सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया पुगेको नेपथ्यले न्युजिल्यान्डमा समेत प्रस्तुति दिने भएको छ । यस वर्ष अस्ट्रेलिया भ्रमणमा पहिलो सो मेलबर्नमा ८ जुलाई एवं दोस्रो कन्सर्ट १५ तारिखमा एडिलेडमा आयोजना गरिएको थियो ।
अहिले नेपथ्य २२ तारिखमा सिड्नीमा हुने कन्सर्टको तयारीमा छ । त्यसपछि न्युजिल्यान्डको अकल्यान्ड सहरमा जुलाई २८ मा पनि नेपथ्यले कन्सर्ट गर्ने तय भएको छ । नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयले दिएको जानकारीअनुसार अस्ट्रेलिया गइसकेपछि न्युजिल्यान्डका लागि भिसा आवेदन दिइएको हो । अस्ट्रेलिया रहँदै टोलीको आवेदन न्युजिल्यान्डको हाई कमिसनले स्वीकार गरेपछि त्यसतर्फको यात्रा औपचारिक रूपमा तय भएको हो ।
अस्ट्रेलियाको छेउमै रहे पनि विशिष्ट पहिचान बनाएको न्युजिल्यान्डमा पहिलोपटक नेपथ्यले प्रस्तुति दिन लागेको हो । ‘नेपथ्यलाई न्युजिल्यान्डमा निम्त्याउन पाउँदा गौरव महसुस भएको छ', आयोजक आरोह इभेन्ट्सका राज महर्जनले भने, ‘सही ढंगको मञ्चमा सही तरिकाले गीतसंगीत प्रस्तुत हुन लागेकाले यहाँ बसोबास गर्दै आएका नेपालीका निम्ति यो ऐतिहासिक क्षण बन्नेछ ।'
ब्यान्ड स्थापनाको रजत वर्ष मनाउँदै गरेको नेपथ्यले अहिलेसम्म आफू पुग्न नभ्याएका तर नेपाली बसेका सहरलाई विशेष ध्यानमा राखेर यो वर्षको कार्यक्रम तय गर्ने घोषणा गरेको थियो । रजत वर्ष उत्सवका क्रममा नेपथ्यले सुरु गरेको कन्सर्टमध्ये न्युजिल्यान्ड पाँचौं आयोजना हुनेछ । उत्सवको पहिलो कार्यक्रम ब्यान्डले आफ्नो पहिचानभूमि पोखराबाट थालनी गरेको थियो ।