दोहोरो नागरिकताधारी अष्ट्रेलियन उपप्रधानमन्त्रीको पद धरापमा
काठमाडौंः दोहोरो नागरिकता भएका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसको राजनीतिक भविष्य संकटमा परेको छ।
न्यूजिल्याण्डको समेत नागरिकता भएका उपप्रधानमन्त्री जोयसको पद गुम्ने निश्चित जस्तै भएको छ। जोयससंग न्यूजिल्याण्डको पनि नागरिकता रहेको पुष्टि भएको छ। न्यूजिल्याण्ड सरकारले जोयसका बुबा न्यूजिल्याण्डको नागरिक भएका कारण जोयसले पनि स्वतह त्यहाँको नागरिकता पाएको सोमबार पुष्टि गरेको छ।
अष्ट्रेलियाको कानुनी व्यवस्था अनुसार दोहोरो नागरिकता भएका व्यक्ति त्यहाँको सांसद र उच्च पदका लागि अयोग्य ठहरिन्छन्।
संसदमा एकसिटले मात्र बहुमतमा रहेको सत्तारुढ गठबन्धनले अब बहुमत गुमाउने निश्चित जस्तै भएको छ। दोहोरो नागरिकताको रहस्योद्घाटनपछि गतबर्ष मात्र चुनाव जितेको प्रधानमन्त्री माल्कोल्म टुर्नबुलको गठबन्धन सरकार संकटमा परेको हो।
गठबन्धनले ७६ सिटमा विजयी हासिल गरेको हो। एक सिटले मात्र बहुमत पुर्याएको गठबन्धन जोयसको दोहोरो नागरिकता प्रकरणपछि संकटमा परेको हो।
जोयसले पद छोड्न अस्वीकार गर्दै आफू उच्च अदालत जाने र अदालतबाट न्याय पाउने बताएका छन्। ‘म यति बेला केही भन्न आवश्यक ठान्दिन किनकि म आफै स्तब्ध छु' संसदमा दोहोरो नागरिकताको कुरा उठेपछि जोयसले भने, ‘म सधैं अष्ट्रेलियन नागरिक हुँ, म टमवर्थमा जन्मे। म अरु कुनै देशको नागरिक भएको कुरा म अनि मेरो परिवारले विश्वास गर्ने कुनै कारण छैन।'
अष्ट्रेलियामा यस अघि पनि दोहोरो नागरिकता भएका धेरै जनाले पदबाट राजीनामा दिएका छन्। गत जुलाईमा पनि ग्रीन पार्टीका नेता स्कट लुद्मामले पनि राजनीतिबाट हात धुनुपरेको थियो। उनीसंग न्यूजिल्याण्डको पनि नागरिकता भएको पुष्टि भएको थियो।