पुल भाँचिनुमा प्राविधिक त्रुटि भएको दाबी
काठमाडौं: बर्दियाको जग्दिघाटमा बनेको बबई नदीको पुल भाँचिनुमा प्राविधिक त्रुटि देखिएको निर्माण व्यवसायी महासंघले दाबी गरेको छ। महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पुल निर्माता पप्पु कन्स्ट्रक्सनको कमजोरी नभई सरकारी निकायले दिएको डिजाइनमा भएको प्राविधिक त्रुटिले पुल भाँचिएको दाबी गरेको हो।
महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाइ श्रेष्ठले डिभिजन सडक कार्यालय नेपालगन्जले दिएकै डिजाइनमा निर्माण कम्पनीले पुल बनाएको जानकारी दिए। पुल बनाउँदा वेल फाउन्डेसन (पुलका खम्बा नदबिने गरी बनाउने विधि) अपनाउनुपर्नेमा पाइल (खम्बामुनि कुनै सपोर्ट नराखी) बनाइएको दाबी गरिएको छ।
श्रेष्ठका अनुसार पप्पुले वेल फाउन्डेसन हुनुपर्ने र सोहीअनुसार पुल बनाउन सुझाव दिएको भए पनि सडक डिभिजनले आफैले भनेअनुसार डिजाइनमा बनाउन दबाब दिएकाले पाइल दबिएर पुल भाँचिएको हो।
‘डिभिजन सडक कार्यालयले दिएको हाइड्रोलोजी डाटा, डिजाइन डिस्चार्जमा गरिएको पानी र त्यसको बहावको आँकलन गलत देखिएको छ', उनले भने । चार सय ३५ मिटरको उक्त पुलमा राखिएको १७ वटा स्पानमध्ये चार वटाबाट मात्रै पानी बग्ने गरेको छ । चारवटा पाइलमा मात्रै पानीको बहाव धेरै भएको, डिजाइन स्कोरिङ डेप्थ कम आँकलन गरिएको, बाढीले पुलमा ठूला रुख र अन्य अवरोध अड्काएका कारण पुलको पाइल दबिएको उल्लेख छ।
र्माण व्यवसायी महासंघले भने पुल भाँचिनुमा ठेकेदार कम्पनीलाई मात्रै दोष लगाउन नहुने र सम्रग पक्षलाई विश्लेषण गर्नपर्ने बताएको छ। पुल निर्माता पप्पु कन्स्ट्रक्सनका अध्यक्ष हरिनारायण रौनियारले सरकारी डिजाइन नै गलत भएकाले पुल भासिएको दाबी गरे। उनले भने, ‘हामीले दुई लाख खर्च गरेर गरेको सर्वेलाई पन्छाएर डिभिजनकै डिजाइनमा पुल बनाउन लगाइयो।
' यो पुलमा वेल फाउन्डेसन हुनुपर्ने तर्कसहितको प्रतिवदेन दिँदा पनि पाइलमै निर्माण गरिनु कमजोरी भएको पप्पुको भनाइ छ। पप्पुका अनुसार निर्माता कम्पनीले आफ्नो जिम्मेवारी पूरा गरेर यो पुल २०७३ असार २१ मै डिभिजन सडकलाई हस्तान्तरणसहित बाँकी बिल भुक्तानीको आग्रह गरिएको थियो।
पुलको मर्मत अवधि २०७४ असार २० मा सकिएको र उक्त समयमम्म बजेट अभाव भन्दै करिब दुई करोड रुपैयाँको बिल भुक्तानी नभएको तर्क रौनियारले दिए। उनका अनुसार पुल निर्माता कम्पनीले दायित्व पूरा गरिसकेको छ। आफूहरूले दायित्व पूरा गरेकोले अब यो पुलको पुनर्निर्माण गर्ने दायित्व पनि सरकारकै रहेको तर्क पप्पुको छ।
‘हामीले १६ मिटर गहिरो पाइल फाउन्डेसनको डिजाइन गरेका थियाै, निर्माता कम्पनीले १० मिटरको मात्रै गर्ने प्रस्ताव ल्यायो, उक्त प्रस्तावलाई नमानेर १६ मिटरकै पाइल बनाउने गरी डिजाइन स्वीकृत गराएको सडक विभागका पुल मशाखाशा प्रमुख अर्जनजंघ थापाले बताए। पुल तथा सडक निर्माणमा हुने डिजाइनमा कमाजोरी छ।
यसअघि पप्पुले रौतहटको लालबकैया बनाएको पुलमा पनि डिजाइनमै समस्या आएर भाँचिएको थियो। डिजाइनमा समस्या नेपालमा दक्ष जनशक्ति नहुनु र नयाँ जनशिक्तबाट काम लिनु भएको स्वकारोक्ति उनको छ।