कतारका सेना प्रमुखसँग साउदीका राजाको भेट
राबात : साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले एक महिना लामो विदा मनाएर बुधबार मोरोक्कोबाट फिर्ता भएका छन् ।
यो एक महिने विदालाई व्यक्तिगत विदा भनिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विदा मनाउन जाने क्रममा अरबका राजाले इब्न बाट्टौटा विमानस्थलमा मोरोक्कोका प्रधानमन्त्री साडेड्डीन इल अथमानीसँग भेटेको मोरोक्कोको एउटा अनलाईनले लेखेको छ ।
उनले विभिन्न क्षेत्रीय नेता र सार्वजनिक व्यक्तिहरुसँग पनि भ्रमणका बेलामा भेटबार्ता गरेका थिए ।
साउदी राजा सल्मानले मोरोक्कोका राजा मोहम्मद छैठौं, सुडानका राष्ट्रपति ओमार अल बसिर र यमनका राष्ट्रपति अब्दु राब्बो मनसुर हादीलाई समेत सौहार्दपूर्बक भेट गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यसैगरी कतारको राजपरिवारका एक जना बरिष्ठ सदस्य सेख अब्दुल्लाह बिन अली अल थानीसँग उनले दुई देशको आपसी सम्बन्ध थप मजबुद गराउने बारेमा छलफल गरेका छन् ।
मोरोक्कोको समाचारमुलक अनलाईनले बिदामा रहेका साउदी राजाले कतारको सेनाका उपप्रमुखसँग पनि भेटबार्ता गरेको उल्लेख गरेको छ ।
साउदी अरव नेतृत्वको समूहले कतार माथि नाकावन्दी लगाउँदै आएको छ । नाकावन्दीका कारण कतारको जनजीवन प्रभावित हुन थालेको छ । साउदी नेतृत्वको समूह र कतार वीचमा कुवेत गरेको मध्यस्थताले पनि समस्या समाधान हुन सकेको छैन । अमेरिकाले पनि कतार माथिको नाकावन्दी हटाउन साउदी नेतृत्वको समूहलाई दबाब दिएको थियो । तर साउदी नेतृत्वको समूहले कतार माथिको नाकावन्दी फिर्ता गरेको छैन ।
रासस/सिन्ह्वा