खाद्य संकट

खाद्य संकट

दसैं नजिकिँदै गर्दा मध्यपश्चिमको जाजरकोटबाट नरमाइलो समाचार आएको छ । त्यहाँको बारेकोटलगायत गाउँमा खाद्य संकटका कारण थुप्रै नागरिकलाई छाक टार्ने पिरलोले गाँजेको छ । पहाडी र हिमाली जिल्लामा खाद्यान्न अभाव बर्सेनि दोहोरिने ‘रोग’ हो । सरकारले त्यस्तो अभावलाई सम्बोधन गर्न ढुवानीमा अनुदान दिई चामल वितरण गर्ने गरेको पनि छ । तर, ढुवानीका लागि टेन्डर आह्वानलगायत झन्झटिलो कागजी प्रक्रिया, सरकारी ढिलासुस्ती र वर्षाले बाटोघाटो प्रभावित हुँदा त्यस क्षेत्रका बासिन्दा बर्सेनि खाद्य संकटको चपेटामा पर्ने गरेका छन् ।

सरकार अर्थात् व्यवस्था परिवर्तनले पनि पश्चिम नेपालको पहाडी क्षेत्रका बासिन्दाको छाकटार्ने पिरलो सम्बोधित हुन सकेको छैन । पहिले ‘ठूलाबडा’ को सिफारिस लिई सदरमुकामस्थित खाद्य संस्थानका डिपोमा चामलका लागि भिड्नुपर्ने बाध्यता थियो, अहिले सदरमुकामबाहेकका गाउँमा किनेर पनि अन्न नपाइने अवस्था देखिएको छ । यो लोकतान्त्रिक सरकार र लोककल्याणकारी राज्यका लागि लाजमर्दो विषय हो ।

पश्चिमका जिल्लामा हुने खाद्य संकटमा मुख्य तीन कारण छन् । एक, यातायात । अहिले सुदूरपश्चिमका प्रायः सबै जिल्ला सदरमुकामलाई सडक सञ्जालले छोइसकेको छ । विगतको तुलनामा सदरमुकाममा प्रायः सरकारी अनुदान र व्यापारका लागि लगिएको चामल पुग्ने गरेको छ । यद्यपि, सदरमुकामभन्दा टाढाका गाउँमा अझै यातायातको सहज पहुँच छैन । स्थानीय खाद्यलगायत दैनिक उपभोग्य सामग्री खच्चडलाई बोकाएर वा आफंै बोकेर पुर्‍याउँछन् । हातमा पैसा हुँदासमेत स्थानीयले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको छ ।

दुई, सरकारी ढिलासुस्ती खाद्यान्न संकटका लागि उत्तिकै जिम्मेवार छ । सरकारले पहाडी र हिमाली भेगका बासिन्दालाई लक्ष्य गरेर चामल ढुवानीमा अनुदान दिनु सकारात्मक पक्ष हो । तर, यससम्बन्धी प्रक्रियागत ढिलासुस्तीका कारण सधैंजसो दसैं-तिहारजस्ता महत्वपूर्ण पर्वको मुखमा जनता भोकै रहनुपर्ने अवस्था निम्तनुले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्छ । हरेक वर्ष एउटै समस्या दोहोरिनु र सरकारले त्यसको हल खोज्न नसक्नु गैरजिम्मेवारपनको पराकाष्ठा हो ।

तीन, स्थानीय स्तरमा उत्पादन हुन सक्ने खाद्यान्न राम्रोसँग प्रयोग नहुनु संकटको अर्को कारण हो । त्यहाँ कोदो, फापर, गहुँ, मकै, जौजस्ता बाली फले पनि त्यसको उत्पादनका लागि आवश्यक श्रमशक्ति प्रायः विदेशमा छ । भएकै जमिनमा समेत कतिपय स्थानीयले खेती गर्न छाडेका छन् । अनुदानको चामल खान तयार हुने तर आफ्नो पाखामा खेती नगर्ने र स्थानीयभन्दा आयातीत खाद्यान्न नै रुचाउने प्रवृत्ति पनि खाद्यसमस्याका निम्ति जिम्मेवार छ ।

नेपालको संविधानको धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने उल्लेख गरेको छ । संविधानले नागरिकलाई खाद्यवस्तु अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकको व्यवस्था गरेको छ । संविधानमा यति प्रस्ट रूपमा व्यवस्था गर्दासमेत नागरिक भोकै पर्नु सरकारका लागि लज्जाजनक कुरा हो । यसका लागि सम्भावित संकटको अनुमान गरी सरकारले खाद्य संकटको सम्भावना भएका ठाउँमा पहिले नै पर्याप्त चामललगायत खाद्यान्न भण्डारण गर्न आवश्यक छ ।

पहाडी, हिमाली भेगमा खाद्य सुरक्षाको मुद्दा सम्बोधन गर्न सडक सञ्जाल नपुगेका ठाउँमा यातायातको पहुँच सहज बनाउने, वर्षामा भत्किएका सडक मर्मत र स्तरोन्नति गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्छ । त्यस्तै, ढिलो र झन्झटिलो कागजी प्रक्रियालाई छिटो र छरितो बनाउन जरुरी छ । खाद्यान्न ढुवानीको टेन्डर प्रक्रियालाई छिटो गराई चाहिने स्थानमा खाद्य पुर्‍याउने र स्थानीय उत्पादन बढाउनेतिर केन्द्रित हुने हो भने अहिलेको जस्तो अवस्था नआउन सक्छ । आफ्ना नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्ने दायित्व सरकारको हो । सरकारले शीघ्रातीशीघ्र जाजरकोटका जनताको छाक टार्ने चिन्ताको सम्बोधन गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.