ब्रिक्स समूहको बैठक आतंकवादविरुद्धको सहकार्यमा जोड
जियामेन (चीन): विश्वको उदीय अर्थतन्त्र भएका राष्ट्रहरूको समूह (ब्रिक्स) सदस्य राष्ट्रले सोमबार संयुक्त राष्ट्रसंघ र यसको सुरक्षा परिषद्मा बृहत् सुधार ल्याई विकासशील राज्यहरूको प्रतिनिधित्व गर्न आग्रह गरेका छन्। विश्वस्तरमा आफ्नो उपस्थिति देखाउँदै ब्रिक्स समूहले चीनमा सम्मेलनको आयोजना गरेको छ।
ब्रिक्सका सदस्य राष्ट्रहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले ब्रिक्सद्वारा जारी संयुक्त घोषणापत्रप्रति सहमति जनाउँदै यस संस्थाले आतंकवादी संगठनको सूचीमा राखेका केही पाकिस्तानी संगठनसहितलाई आतंकवादीको संज्ञा दिएका छन्। साथै आतंकवादविरोधी अभियानलाई थप सशक्त पार्दै सहकार्य गर्ने विषयमा ब्रिक्सले सहमति जनाएको छ। यसलाई भारतले आफ्नो कूटनीतिक विजय बताएको छ।
ब्रिक्सका पाँच सदस्यले सम्मेलन आयोजक राष्ट्र चीनका राष्ट्रपति सी जिन पिङले विशेष महत्वका साथ अघि सारेको संरक्षणवादको प्रतिवाद गर्ने पनि जनाएका छन्। चीनले पश्चिमा राष्ट्रको विश्वव्यापीकरण विरोधी भावनाले चीनको ठूलो निर्यात बजारलाई प्रभावित गरेको भनी ब्रिक्समार्फत यो आवाज उठाएको छ।
त्रिचालीस पृष्ठ लामो घोषणापत्रमा प्रधानमन्त्री सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति मिसेल तिमर र दक्षिण अफ्रिकाका राष्ट्रपति याकोब जुमाले विश्वको आर्थिक सुशासनलाई प्रोत्साहन गर्न ‘थप न्यायपूर्ण र समान अन्तर्राष्ट्रिय व्यवस्था' को स्थापना गर्न एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
ब्रिक्स सम्मेलनमा सहभागी नेताहरूले उत्तर कोरियाद्वारा आइतबार गरेको छैटौं शक्तिशाली आणविक परीक्षणको कडा शब्दमा निन्दा गरेका छन्। दुई दिन लामो चीनको दक्षिणपूर्वी जियामेन शहरमा भएको सम्मेलनमा चीनले बढ्दो अन्तर्राष्ट्रिय अवस्था देखाउन सफल भएको छ।
भारतीय विदेश मामिला मन्त्रालयकी अधिकारी प्रीति सरानले भनिन्, ‘प्रत्येक नेताले उत्तर कोरियाको आणविक परीक्षणबारे विरोध गर्नुभएको छ।' घोषणापत्रले उत्तर कोरियाको हतियार मोहलाई ‘सम्बन्धित पक्षबीच शान्तिपूर्ण तथा प्रत्यक्ष वार्ताका माध्यमबाट' समाधान गर्नुपर्नेमा ब्रिक्स नेताहरूले जोड दिएका थिए।
उनीहरूले संयुक्त राष्ट्रसंघ र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई थप प्रतिनिधिमूलक, प्रभावशाली र कुशल निकाय बनाउन बृहद् सुधार आवश्यक रहेको बताएका थिए। राष्ट्रसंघको प्रतिनिधित्वलाई विकासशील बनाउँदा यसले विश्वका चुनौतीलाई सही तरिकाले समाधान गर्न सकिने उनीहरूले बताए।
सम्मेलनमा केही पर्यवेक्षकले ब्रिक्सको प्रभाव सदस्य राष्ट्र चीन तथा भारत र ब्राजिल, रूस तथा दक्षिण अफ्रिकाबीचको आर्थिक तथा राजनीतिक प्रतिद्वन्द्विताका कारण घट्न लागेको जनाएका थिए। आतंकवादलाई सम्बोधन गर्दै घोषणापत्रले पाकिस्तानस्थित विद्रोही समूहहरू लस्कर ए तैयबा, जैयस ए मोहम्मद, इस्लामिक स्टेट समूह र अल कायदा समूहलाई आतंकवादी समूहको सूचीमा समावेश गरेको छ।
सरानले पहिलोपटक ब्रिक्सको घोषणापत्रमा आतंकवादीको सूचीलाई समावेश गरिनु ‘एउटा अत्यन्तै महत्वपूर्ण उपलब्धि' भएको बताइन्। पाकिस्तानको प्रमुख सहयोगी चीनले जैस ए मोहम्मद तथा मसुद अजारलाई आतंकवादीको कालोसूचीमा राष्ट्रसंघ सुरक्षापरिषद्मा राख्न गरेको प्रयासलाई पटक पटक रोक्दै आएको थियो।
भारतले राख्ने पाकिस्तानमाथि विभिन्न लडाकु समूहको उत्पादन तथा उनीहरूलाई प्रशिक्षण गरी भारतीय भूमिमा हिंसा फैलाउने गरेको बताउँदै आएको छ। चीन राष्ट्रसंघ सुरक्षा परिषद्को भिटो शक्ति लगाउने हैसियत राख्ने प्रभावशाली एशियाली मुलुक हो। रासस/एपी