स्वावलम्बनको राहत
काठमाडौं : स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडले बाढीपहिरोमा परी जनधनको क्षति व्यहोरेका परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित आठ जिल्ला मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालयमार्फत एक हजार आठ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले चामल, दाल, चिउरा, नुन र खानेतेल गरी १३ लाख २० हजार दुई सय रुपैयाँबराबरको राहत वितरण गरेको हो । प्रभावित सदस्यले बैंकको जीवन तथा आवास सुरक्षा योजनाअन्तर्गतका नियमानुसार थप सुविधा पाउने बैंकले जनाएको छ ।