‘उत्पादनमूलक उद्योग प्रोत्साहन गर्ने वातावरण छैन'

‘उत्पादनमूलक उद्योग प्रोत्साहन गर्ने वातावरण छैन'

सारदा समूह अहिलेको अवस्थामा आइपुगेको उत्पादनमूलक उद्योगबाटै हो । राइस मिलमार्फत ६ दशकअघि उत्पादनमूलक उद्योगमा हात हालेको मेरो परिवार अहिले डन्डी, सिमेन्ट, वायर, रिफाइनरी, मैदा, मदिरा, स्याक्स, अक्सिजन आदि उद्योगमा संलग्न छ । तर अहिले निर्माणाधीन होङ्सी-शिवम् सिमेन्ट र प्रिमियर स्टिल सञ्चालनमा आएपछि तत्कालका लागि उत्पादनमूलक उद्योगमा लगानी गर्ने क्रमलाई वि श्राम दिने निष्कर्षमा पुगेको छ ।

 

वास्तवमा देशको वातावरण उत्पादनमूलक व्यवसाय निरुत्साहित गर्ने, ट्रेडिङ/कमिसनखोरी प्रोत्साहित गर्ने खालको बन्यो । उत्पादनमूलक उद्योगमा प्रतिस्पर्धा धेरै छ, स्वदेशी/विदेशी अनेकथरी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लागत घटाउन महाभारत छ । यसका दायित्व अनेक हुन्छन्, भनेको बेला बन्द गर्नसम्म पाइन्न । तर उत्पादनमूलक उद्योगले रोजगारी सिर्जना र भ्यालू एड गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याएको छ भन्ने बुझिदिएर प्रोत्साहित गर्ने कोही छैन । विदेशमा जहाँजहाँ उत्पादनमूलक उद्योगमा ठूलो लगानी भयो, त्यहाँ सरकारले नै प्रोत्साहन दिएको छ ।

सरकारले सर्वसुलभ जग्गा उपलब्ध गराउनेदेखि सित्तैमा जग्गा दिनेसम्मका सुविधा दिएकै ठाउँमा उत्पादनमूलक उद्योगमा एकैचोटि ठूलो लगानी भएको छ । उद्योग स्थापना गर्न बाटो, बिजुली, पानी, टेलिफोन आदिको आधारभूत पूर्वाधार हुनुपर्छ, त्यस्तो ठाउँमा जग्गाको भाउ छोइसक्नु छैन । अहिले उद्योगका लागि जग्गा किन्ने भनेको उद्योगले नाफा गर्‍यो भने गर्‍यो, नत्र जग्गाको भाउ बढिहाल्छ, बेचेर लगानी फिर्ता गर्छु भनेर हो । नत्र जग्गा किनेर उद्योग नाफा गर्न गाह्रो छ । सरकारले जग्गाको वर्गीकरण उद्योग क्षेत्रको जग्गा नछुट्ट्याए देशमा ठूला उद्योग खोल्न गाह्रो छ ।

हामीले एकपछि अर्को उद्योग लगायौं- जग्गा सस्तो थियो, अदक्ष श्रमिक जति पनि पाइन्थ्यो । दक्ष श्रमिक पहिले पनि भारतबाटै ल्याउनुपथ्र्यो । अहिले अदक्ष श्रमिक पनि पाइन्न । वैदेशिक रोजगारीमा जाने ट्रेन्ड यस्तो भयो- आज मधेसमा घरपिच्छे श्रम गर्न विदेश गएका छन् । हुनेखाने/पढालेखा परिवारका युरोप, अमेरिका, जापान आदि गएका छन्, हुँदा खाने खाडी/मलेसिया ।


-देशको वातावरण उत्पादनमूलक व्यवसाय निरुत्साहित गर्ने र ट्रेडिङ/कमिसनखोरी प्रोत्साहित गर्ने खालको छ ।
-विदेशमा उत्पादनमूलक ठूला उद्योगमा लगानी गर्न सरकारले प्रोत्साहन गर्छ ।
-पहिले खाद्यसंकट हुँदैन भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट' दिएपछि मात्र खाद्य सामग्री निर्यात गर्न पाइन्थ्यो ।

घरबाट एकजना पनि वैदेशिक रोजगारीमा नजाने परिवारको समाजमा इज्जत नहुनेजस्तो अवस्था छ । यसैले उत्पादनमूलक उद्योग क्षेत्रमा श्रमिकको अभाव भयो । स्वदेशभन्दा कम कमाइका लागि पनि विदेसिएका छन् । यसैगरी श्रमिक बिदेसिने हो भने देशमा उत्पादनमूलक उद्योग चलाउन गाह्रो छ । फेरि उद्योग भनेको अपडेट/अपग्रेड गरेर कहिल्यै नसकिने प्रक्रिया हो । सुरुमा घाटा हुन्छ, नाफा दिन थालेपछि क्षमता बढाउने भन्यो, प्रविधि अपडेट गर्ने भन्यो, नाफाको पैसा त्यसैमा खन्याइरहनुपर्छ । उद्योगको पैसा उद्योगमै घुमिरहन्छ । ट्रेडिङ तुलनात्मक रूपमा सजिलो छ । घाटा भयो, तुरुन्त बन्द गरिदिए हुन्छ ।

लाहानदेखि काठमाडौंसम्म

हाम्रो परिवार लाहानको हो । बाल्यकाल सम्झिँदा कपडा, किराना, सुनचाँदीको कारोबार एकै ठाउँबाट हुने पसल थियो । जुटको कारोबार गरेको छ, धानको गल्ला पनि चलाएको छ, यस्तै थियो व्यापार । म अलि ठूलो हुँदा बुबाले कपडाको होलसेल सुरु गर्नुभयो । उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगामा कपडा सप्लाई हुन्थ्यो । त्यो बेला पूर्वी पहाडका लागि होलसेल कारोबार हुने लाहान र धरान थियो । २०१५ सालतिरै हुनपर्छ बुबाले लाहानमा राइस मिल खोल्नुभयो । त्यो बेला नेपालबाट धान/चामल निर्यात हुन्थ्यो ।

भारतमा एक प्रदेशबाट अर्को प्रदेशमा खाद्यान्न ओसारपसार गाह्रो थियो । खाद्यसंकट हुँदैन भन्ने लागेमात्र अर्को प्रदेशमा बेच्न पाइन्थ्यो । तर नेपालमा अञ्चलाधीशले निर्यात गर्दा खाद्यसंकट हँुदैन भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट' दिएपछि भारतको जुनसुकै ठाउँमा निर्यात गर्न पाइन्थ्यो । त्यसैले एकपछि अर्को राइस मिल थपिँदै गए । मुरारका परिवार (आत्माराम मुरारका)को साझेदारीमा हामीले एकैचोटि ११ वटासम्म राइस मिल चलायौं । नेपालगन्जमा धान/चामल कारोबारको ‘डन' टन्डन परिवार थियो । पश्चिममा उत्पादन हुने धान किनेर निर्यातको काम टन्डन परिवारले मात्र गर्थ्यो।

टन्डन परिवार समस्यामा परेको सुनेपछि आत्मारामजी र म नेपालगन्ज गयौं, त्यहाँको धान/चामल कारोबारमा जम्ने सपना बुनेर । तीन महिना बस्दा नेपालगन्ज मन परेन । लाहान ल्याउन किनेको धान पनि ल्याउन सकिएन । भारतीय रेलमा ढुवानी गरी लाहान ल्याउनुपथ्र्यो, अनुमति नपाएपछि त्यहीँ बेचेर फर्कियौं । बुबाले राइस मिलपछि चिनी मिल (खाँडसारी) खोल्नुभएको थियो, लाहानमा । तर सिराहामा लाहानभन्दा पूर्व मिर्चैयातिर उखु खेती थियो । ढुवानी समस्याका कारण चिनी मिलको परियोजना फेल भयो ।

धान/चामल व्यापार उचाइमा पुगेकै बेला एकदिन आत्माराजजी र मैले सल्लाह गर्‍यौं- यति सानो ठाउँको ठूलो साहुजी बन्नुभन्दा ठूलो ठाउँको साहुजी बन्नुपर्छ । अनि हामी काठमाडौं आयौं । केही समय आयातको काम गरेपछि काठमाडौंमा नाम चलेका इन्द्रभक्त श्रेष्ठसँग साझेदारीमा विराटनगरमा एभरेस्ट रोलिङ मिल खोल्यौं । यो हिमाल आइरनपछि दोस्रो डन्डी उद्योग थियो । तर कच्चापदार्थ अभावका कारण चलेन । हिमाल आइरनका लागि भारतले बिलेटको कोटा दिएको थियो, हामीले पाएनौं । तर उद्योग बन्द भएपछि कच्चापदार्थ सहज रूपमा पाइने अवस्था बन्यो । यसपछि मैले हेटौंडा स्टिल, आत्मारामजीले पशुपति स्टिल खोल्नुभयो । इन्द्रभक्तजीले एभरेस्ट रोलिङ मिल चलाउनुभयो ।

विराटनगरमा उद्योग खोलेपछि आधा परिवार विराटनगर, आधा काठमाडौंमा बस्यौं । लाहानमा बसोवास छाडियो । परिवारका लागि राइस मिल तरक्कीको पहिलो टर्निङ प्वाइन्ट थियो भने लाहान छाड्ने निर्णय दोस्रो टर्निङ प्वाइन्ट । लाहानमै रमाउने व्यापारी परिवार ससानो व्यापारमै सीमित भए । हाम्रो थर सारडा हो । मेरो काका जसकरण बडाहाकिम हुनुुहुन्थ्यो, सारडाभन्दा सारदा प्रचलित शब्द भएकाले उहाँले सारदा लेख्न थाल्नुभयो । सबैले त्यसै गरे । मुरारका र सारदा परिवारको साझेदारी लामो समय चल्यो । काठमाडौंमा हामीलाई मुसा (मुरारका, सारदा) भनेर जिस्काउँथे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.