गोर्खाल्याण्ड आन्दोलन ८४ दिनमा
इलामः पश्चिम बंगाल अन्तर्गतको दार्जिलिङ सहितको क्षेत्रमा बेग्लै गोर्खाल्याण्डको माग चर्कन थालेपछि विभिन्न स्थानमा भएका बम विस्फोटको जिम्मा गोर्खा लिबरेशन आर्मी (जिएलए)ले लिएको छ। पछिल्लो पटक बुधबार राति मिरिकमा शक्तिसाली बम विस्फोटन गराएको जिएलएले सहरमा पर्चा छरेर विस्फोटनको जिम्मा लिएको मिरिकका पत्रकार मनोहर शर्माले जानकारी दिए।
जिएलएले दार्जिलिङ, कालेबुङ, सुकिया र मिरिकमा यस अघि गराएको बम विस्फोटनको जिम्मा लिएको हो ।
पर्चामा जिएलएले अहिले पहाडमा रहेको कुनै दल निकट नरहेको पनि प्रष्ट पारेको छ। पर्चामा गोर्खाल्याण्ड प्राप्तिका लागि ज्यानको वाजी थापेर सडकमा आएको उल्लेख गरेको छ।
जिएलएको नाममा निकालिएको पर्चामा गोर्खाल्याण्डको विकल्पमा कसैले सम्झौता गरे त्यस्ता नेताको घरमै बम पड्काउने धम्की समेत दिएको छ।
गोर्खाल्याण्ड आन्दोलनशुरु भएको करिव एक महिनापछि पहिलो पटक दार्जिलिङमा बम पड्कीएको थियो । गान्धिवादी आन्दोलनको दावी गरिरहेका पहाडका दलहरुलाई सृखलाबद्ध बम विस्फोटनले अप्ठ्यारोमा पारेको थियो। दलहरुले बम काण्डको निन्दा गर्दै आएका थिए।
शुरु देखिनै आतंककारीको संज्ञा दिदै आएकी बंगालको मुख्य मन्त्री ममता व्यनर्जीका लागि बम काण्ड आतंककारी प्रमाणीत गर्ने आधार बन्दै आएको थियो।
राती गोर्खाल्याण्डका विभिन्न स्थानमा जिएलएले पर्चा छरेपछि सत्तपाक्ष र आन्दोलनकारीका लागि सौदावाजीको विषय बनेको बमकाण्डले निकास पाएको कतिपयको भनाई छ।
पर्चामा जिएलएको नेतृत्व कसले गरिरहेको छ, यसको संगठनको अवस्था के छ भन्ने बारे केहि उल्लेख गरिएको छैन। मिरिक प्रहरीले पहाडमा आतंक मचाउनेको खोजी भइरहेको बताएको छ।बुधबार वेलुकाको बम हमलापछि मिरिकमा प्रहरी तैनाथी अझ बढाएको प्रहरी अधिकारीहरुले बताएका छन्।
गोर्खा जनमुक्ति मोर्चाले पार्टीबाट हटाएका सहसचिव विनय तामाङले आफ्नो घरमा बम पड्काउने धम्की आएको बताएको केहि दिनमै जिएलएले गोर्खाल्याण्ड वाहेकमा सम्झौता गर्ने कुनैपनि नेताको घर समेत नछोड्ने चेतावनी दिएको हो।
गोर्खाल्याण्डको विकल्पमा कतिपय दलका नेताहरु सम्झौता गर्न तयार भएको विशलेषण वाहिर आइरहेको समयमा नयाँ समुहले गोर्खाल्याण्ड बाहेकमा सम्झौता गर्ने नेतालाई 'नछोड्ने' बताएपछि अब आन्दोलन गरिरहेका नेताहरुलाई पनि थप दवाव परेको कतिपयको विश्लेषण रहेको छ ।