ला ट्रोबद्वारा छात्रवृत्ति घोषणा
काठमाडौं : अस्ट्रेलियामा रहेको ला ट्रोब विश्वविद्यालयअन्तर्गतको ला ट्रोब बिजनेस स्कुलले नेपाली विद्यार्थीलाई लक्ष्य गरी छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। बिजनेस स्कुलका प्रतिनिधिको उपस्थितिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरिएको हो।
विद्यार्थीले पढ्न चाहेको शैक्षिक कार्यक्रमअनुसार कुल शैक्षिक शुल्कको १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म शुल्कमा छात्रवृत्ति प्रदान गर्ने उक्त विश्वविद्यालयले जनाएको छ। पत्रकार सम्मेलनमा ला ट्रोब बिजनेस स्कुलका प्रमुख, प्रोफेसर पल माथरले भने, ‘सन् २०१७ देखि प्रदान गरिएका यी छात्रवृत्ति अन्डरग्राजुएट र पोस्टग्राजुएट तहमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि हो।
यी छात्रवृत्ति प्राप्तांकको आधारमा प्रदान गरिनेछ भने विद्यार्थीको पछिल्लो शैक्षिक उपलब्धीलाई आधार मानिने जनाइएको छ। छात्रवृत्ति प्रदान गर्दा पहिला भर्ना हुने विद्यार्थीलाई ग्राह्यता दिइनेछ।'
नेपाली विद्यार्थीको मागलाई ध्यानमा राखी यस बिजनेस स्कुलले नोभेम्बर महिनामा अन्डरग्राजुएट बिजनेस कोर्षमा नयाँ भर्ना लिने घोषणा गरेको छ। यो सत्र फेब्रुअरी र जुलाईका दुई प्राज्ञिक सत्र बाहेकको हो।
केही वर्षअघि ला ट्रोब बिजनेस स्कुलले पोस्टग्राजुएट कार्यक्रमका लागि तेस्रो सेमेस्टर पनि थप गरेको थियो। यी कार्यक्रम अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीमाझ लोकप्रिय छन्। यसका अलावा सम्बन्धित उद्योगको आवश्यकता पूर्ति गर्न रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिलाई ध्यानमा राखी कलेजले नयाँ कार्यक्रम पनि आरम्भ गरेको छ।