योगदानका आधारमा टिकट बाड्‍न काँग्रेस, एमाले कार्यकर्ताको माग

योगदानका आधारमा टिकट बाड्‍न काँग्रेस, एमाले कार्यकर्ताको माग

भक्तपुर: आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पुर्‍याएका व्यक्तिको मूल्याँकनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताले माग गरेका छन्। पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन्।

 

भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा परेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिशमा जिल्ला समितिले आकांक्षीको नाम थप गरेर सिफारिश गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याँकन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताए।

नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गरे। भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा पर्नुभएका उनले भने, 'पार्टीमै जीवन अर्पण गरेका, यसअघि अवसर नपाएका र पार्टीमा पुर्‍याएको योगदानको कदर गर्दै यसपटकको निर्वाचनमा पार्टीले टिकट वितरण गर्नुपर्छ, त्यसमा हामी विश्वस्त छौँ ।”

नेपाली काँग्रेस र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिशमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्नेक्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं-२ सूर्यविनायकका उम्मेदवारको सिफारिशमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदशेसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पुर्‍याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताए।

निर्वाचन क्षेत्र नं २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिशमा पर्नुभएका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताए।पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उनले प्रतिक्रिया दिए।

यता नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले पनि टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन्। विशेषगरी एमालेको क्षेत्र नं १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिश गरे पनि प्रदेश नं २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिशको विवादले एमालेमा तरङ्ग पैदा गरेको छ।

गाउँ, नगर र क्षेत्रले सर्वसम्मतरूपमा पार्टीका पुराना नेता शशीजंग थापाको नाम सिफारिश गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिश गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र तरङ्ग पैदा गरेको हो।

पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिश गरे पनि अध्यक्षले नियम विपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिए।

थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्ने बारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै संकट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन्।

सूर्यविनायकमा भएको पत्रकारसम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिए। निर्वाचन नजिकिँदै गर्दा चुनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.