जरुरी छ पुँजीवादको आलोचना

जरुरी छ पुँजीवादको आलोचना

गत भदौ ३१ गते अन्नपूर्ण पोस्ट्को ‘फुर्सद'का यिनै पृष्ठहरूमा प्राध्यापक चैतन्य मि श्रको अन्तर्वार्तामा आधारित लेख छापियो । सो लेखको शीर्षक नेपाली वामपन्थीहरूमा उत्तेजना सञ्चार गर्ने खालको थियो । कम्युनिस्ट पार्टी नचाहिने एउटा कडा दलिल शीर्षक भएर आएको थियो । त्यति मात्रै होइन, शीर्षकको अर्को अंशमा उत्तिकै ठाडो टिप्पणी थियो- संसारभरका कम्युनिस्टहरूले चिन्तक र नेताका रूपमा श्रद्धा गर्ने लेनिनले नै माक्र्सवाद बुझेनन् ।

 

लेख छापिएपछि सामाजिक भनिने सञ्जालहरूमा अनेक टिकाटिप्पणी लेखिए । कोही चर्को विरोधमा उत्रिए भने कोही बचाउमा । केही अध्येताले भने यसलाई गहन बहसको प्रस्थानबिन्दु मानेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । कम्युनिस्ट आन्दोलन, वामपन्थी शक्तिहरू र नेपाली समाजमा तिनको उपस्थितिबारे सहरका थुप्रै गल्लीमा चर्चा हुनु यो लेखको सफलता मान्नुपर्छ ।

खासगरी वामपन्थबारे रुचि राखेर अध्ययन गर्ने र कम्युनिस्ट भनिने पार्टीहरूमा संलग्न भएकाले मि श्रका लेखबारे चर्चा गरे । वैश्विक परस्थिति र त्यसबारे गरिने सैद्धान्तिक र वैचारिक विमर्शमा सदैव अद्यावधिक रहेर नेपाली समाजसम्बन्धी लामो समय अध्ययन, चिन्तन र अध्यापन गरेका बुज्रुग प्राध्यापकले दिएको मन्तव्यको चर्चा हुनु सामान्य हो र त्यो आवश्यक थियो । यसैबीच राजेन्द्र महर्जन, विभूषित विष्ट र रामचन्द्र श्रेष्ठका लेखहरू मि श्रले उठाएका बहस वरपर केन्द्रित भएर आए । बहसका लागि अझ काफी सवालहरू ज्यूँदै छन् । यो लेख त्यही बहसमा जोडिने सामान्य प्रयत्न हो । गम्भीर र प्राज्ञिक तहको बहसका लागि अखबारको एउटा लेख पर्याप्त भने हुँदैन ।

विचारको पुरानो सिलसिला
प्राध्यापक चैतन्य मि श्रले ‘फुर्सद'को सो चर्चित लेखमा व्यक्त गरेका विचारहरू नयाँ होइनन् । लेनिनले माक्र्सको अपव्याख्या गरेको र सो ‘भ्रमपूर्ण व्याख्या'अनुसार राजनीतिक आन्दोलनका नाममा घातक ‘छलाङ' मारेका कारण सोभियत संघले तीतो असफलता बेहोरेको निष्कर्ष उनले पटकपटक दोहोर्‍याएका छन् । अर्थात्, पुँजीवादको व्यापक विस्तार र विकास नभई समाजवादतर्फ चालिने पाइला गन्तव्यहीन अँध्यारो गर्तमा फस्छ भन्ने उनको दाबी उनका धेरै लेख र भाषणहरूमा दोहोरिएका छन् । त्यसैगरी माओले प्राधिकार बनेर गरेको प्रयोग माक्र्सवादसम्मत होइन र त्यसैको अनुसरण गर्दै नेपालमा सञ्चालन गरिएको झापा काण्डदेखि माओवादी जनयुद्धमा समेत उस्तै खोट छ भन्ने मि श्रको निष्कर्ष हो ।

नेपालका कम्युनिस्ट पार्टीहरूले लेनिनमार्फत माक्र्स बुझ्न खोजेकाले, माओको प्रयोगलाई माक्र्सवादी राजनीतिक प्रयोगका रूपमा अंगीकार गरेकाले सही बाटो समात्न नसकेकोमा मि श्रले चिन्ता व्यक्त गरेका छन् । त्यसैले अहिले पुँजीवादी व्यवस्थालाई तन्दुरुस्तीका साथ हुर्कन दिनुको विकल्प छैन भन्ने उनको स्पष्ट तर्क छ । त्यसका लागि कमजोरीहरू भए पनि सामाजिक लोकतन्त्र नै सबैभन्दा उचित मोडल भएकाले नेपालका परिवर्तनकारी पार्टीहरूले यही बाटो अंगीकार गर्नु श्रेयस्कर हुन्छ । सामाजिक लोकतन्त्रमा राज्यसत्ता पुँजी र श्रमलाई सन्तुलनमा राख्ने राजनीतिक सेतु हुन्छ भन्ने उनको जिरह छ ।

यी निचोडहरूबारे मि श्रका चारवटा महत्वपूर्ण लेखहरू अध्ययन गर्न जरुरी छ । ‘रातो झिल्को' पत्रिकाको सन् २००९ को जुलाई–सेप्टेम्बर अंकमा डा. बाबुराम भट्टराईको ‘आजको माक्र्सवाद' शीर्षकको मुख्य आलेखमा उनले गरेको टिप्पणी मि श्रका केही महत्वपूर्ण निष्कर्षहरूबारे बुझ्न उपयोगी छ । त्यसैगरी पहिलो संविधानसभा चल्दै गर्दा उनले अंग्रेजी भाषामा लेखेको ‘ह्वाई सोसल डेमोक्रेसी इन नेपाल नाव ? 'मा उनले माथि भनिएका निष्कर्षपछि नेपालले हिँड्नुपर्ने सही बाटो कस्तो हुनुपर्छ भनेर बुँदागत व्याख्या गरेका छन् । सो लेखको नेपाली अनुवाद नेपाली कांग्रेसका नेता गगन थापाको संयोजकत्वमा निस्किने ‘विचार विशेष'को एक अंकमा प्रकाशित छ ।

त्यसैगरी मिश्रको अर्को उत्तिकै महत्वपूर्ण आलेख उनले सोसल साइन्स बहाले वार्षिक रूपमा आयोजना गर्ने ‘द महेशचन्द्र रेग्मी लेक्चर'को सन् २०१४ संस्करणमा दिएको मन्तव्य हो । ‘ह्वाट लेड टु द २००६ डेमोक्रेटिक रेभोलुसन इन नेपाल ? ' शीर्षकको सो प्राज्ञिक निबन्धमा उनले आफ्ना पुराना निष्कर्षहरूलाई पुष्टि गर्ने तथ्य, तर्क र अन्वेषणहरू प्रस्तुत गरेका छन् । त्यसैगरी राजेन्द्र महर्जनले सम्पादन गरेको ‘बदलिँदो नेपाली समाज' र ‘एसेज अन द सोसियलोजी अफ नेपाल' पुस्तकमा व्यक्त उनका विचारहरूलाई एउटा खास सिलसिलामा राखेर गहिरो अध्ययन गर्दा मात्रै उनीसँगका बहसहरू बढी फलदायी होलान् । त्यस्तो बहस छेड्न अहिले सम्भव छैन । त्यसैले मि श्रले निकालेका निष्कर्षहरूबारे उठेका केही सन्देह र प्रश्नहरूलाई मात्रै यहाँ प्रस्तुत गरिनेछ ।

मिश्र–निष्कर्षका वैचारिक स्रोत
प्राध्यापक चैतन्य मि श्रले पुँजीवादको विकास जरुरी भएको र त्यसका लागि बजारको विस्तार र विकास हुनु आवश्यक भएको तर्क गरिरहँदा, उनीभन्दा पहिले पश्चिमा प्राज्ञिक जगत्मा यस्ता विमर्श गर्नेहरूको स्मरण गर्नु आवश्यक छ । रेग्मी लेक्चरमा उनले उठाएका ‘थर्ड वेभ' र ‘ह्युमन एजेन्सी'को भूमिकाको स्मरण जरुरी भए पनि ती सबै चर्चा गर्न यहाँ सम्भव छैन ।

ब्रिटेनका कम्युनिस्ट नेता तथा चिन्तक बिल वार्रेनले लेखेको ‘इम्पेरियलिज्म: अ पायोनियर अफ क्यापिटलिज्म' नामको पुस्तक उनको मृत्यु भएको दुई वर्षपछि सन् १९८० मा छापियो । सो पुस्तकमा लेनिनले गरेको साम्राज्यवादको व्याख्या माक्र्सवाद सम्मत नभएको तर्क गरिएको थियो । पुँजीवादको उच्चतम विकसित रूप साम्राज्यवादले तेस्रो विश्वलाई सर्वनाश गर्छ भन्ने लेनिनको बुझाइमा खोट देखाउँदै वार्रेनले बरु साम्राज्यवादले तेस्रो विश्वलाई पुँजीवादको विकास गर्न सघाएको तर्क अघि सारेका छन् । यथेष्ट तथ्य, तर्क र प्रमाणहरू पेस गरेर उनले साम्राज्यवादको प्रगतिशील रूपबारे विशद चर्चा गरेका छन् ।

लेनिनवादीहरूले गरेको दाबीजस्तो साम्राज्यवादी शक्तिहरू तेस्रो विश्वमा औद्योगिक विकास गर्न बाधक नहुने बरु उम्दा सहयोगी हुने बताएका छन् । साम्राज्यवादको ठाडो हस्तक्षेपपछि नै तेस्रो मुलुकहरूमा उत्पादक शक्तिहरूको विकास गर्ने जाँगर चलेकाले नवउपनिवेशवादजस्ता लेनिनवादी जार्गनहरूको तुक नरहेको उनले बताएका थिए । ‘उत्पादक शक्तिको व्यापक विकास नभई तेस्रो विश्वमा समाजवादतर्फको यात्रा कल्पनातित हुन्छ', माक्र्सवादको शुद्ध व्याख्या उद्धृत गर्दै उनले यसो भनेका छन् । तर, उत्पादक शक्तिको प्रचुर विकास तेस्रो विश्वको आफ्नै बलबुता र ठूला पुँजीवादी शक्तिहरूको प्रभावबिना सम्भव नहुने पनि उनले तर्क गरेका छन् । तसर्थ, उनका अनुसार साम्राज्यवाद आफैंमा पुँजीवादी इतिहासको प्रगतिशील बिन्दु हो ।

त्यसैगरी पुस्तकमा अर्को उत्तिकै बहसको माग गर्ने विषय उठाएका थिए वार्रेनले । एन्डर गुन्डर फ्रान्क र सामिर अमिनजस्ता माक्र्सवादी विद्वान्हरूको आलोचना गर्दै उनले सबै रंगका ‘डिपेन्डेन्सी थियोरी'माथि आक्रमण गरेका थिए । सोझै भन्दा दुनियाँ विस्तारै अन्तरनिर्भर हुँदै गएको र ठूला पुँजीवादी शक्तिको प्रभावबाट तेस्रो विश्वले समेत उत्पादकत्व शक्ति बढाउँदै लगेका बेला एक देशले अर्को देशको नियन्त्रण गर्ने सवाल आफैंमा गौण भएको उनको तर्क थियो । कुनै पनि मुलुकको राजनीतिक आत्मनिर्भरता आफैंमा असान्दर्भिक बन्दै गएको र पुँजीवादी मुलुकहरूले आफू शक्तिशाली र धनी बनिरहन सारा दुनियाँलाई गरिब बनाइराख्छन् भन्ने दलिल उचित नभएको अर्थमा उनले यसो भनेका थिए ।

वार्रेनले आफू ज्यूँदै हुँदा सन् १९७३ मा लेखेको चर्चित लेख ‘इम्पेरियलिज्म एन्ड क्यापिटलिस्ट इन्डस्ट्रियलाइजेसन'मा यस्ता निष्कर्षहरू निकालिसकेका थिए । प्रकट माक्र्सवादी तथा कम्युनिस्ट पार्टीमा काम गरिसकेको मान्छेबाट माक्र्सवादीहरूलाई अनौठा लाग्ने निष्कर्षसहितका दलिलहरू पुस्तकाकारमा छापिँदा त्यसले ठूलो हल्लाखल्ला मच्चाएको थियो । उबेलाका ती हल्लाखल्ला अहिले मि श्रको अन्तर्वार्ताबाट तरंगित खैलाबैलासँग मिल्दोजुल्दो हुँदो हो ।
बिल वार्रेनको पुस्तक छापिएको दुई दशकपछि भारतीय मूलका धुरन्धर अंग्रेज अर्थशास्त्री तथा विद्वान् मेघनाथ देसाईले ‘माक्र्सेज रिभेन्ज: द रिसर्जेन्स अफ क्यापिटलिज्म एन्ड द डेथ अफ स्टेटिस्ट सोसियलिज्म' नामक पुस्तक लेखे । देसाईले पुस्तकमा लेनिनवादमा नमिसिएको शुद्ध माक्र्सेली विचार अहिलेको नवउदारवादसँग बढी मिल्दोजुल्दो भएको आशय व्यक्त गरेका छन् । एक माक्र्सवादी समीक्षकको शब्दमा भन्दा उनै पुराना बिल वार्रेनको झल्को आउने गरी देसाईका तर्कहरू आएका छन् । अर्थात्, जेलाई संसारभरका कम्युनिस्ट पार्टी र घोषित माक्र्सवादी शक्तिहरूले समस्या ठाने, त्यसैलाई प्रगतिको स्रोत ठान्ने उपक्रम देसाईले पनि दोहोर्‍याएका छन् ।

पहिले वार्रेनले ‘इम्पेरियलिज्म'लाई प्रगति र तेस्रो विश्वमा उत्पादकत्व शक्ति वृद्धिका लागि उचित ऐतिहासिक पडावका रूपमा व्याख्या गरेका थिए भने अहिले देसाईले पुँजीवादको अर्को विकसित रूप भूमण्डलीकरणलाई प्रगतिशील कडीका रूपमा प्रमाणित गर्ने कोसिस गरेका छन् । उनले एक प्रसंगमा कार्ल माक्र्स ज्यूँदा रहेर पुँजीवादको पछिल्ला विकासक्रम देख्न पाएका भए सन् १९८० को दशकमा मार्गरेट थ्याचरले उछालेको निजीकरणको उत्ताल वेगलाई सही ठहर्‍याउँथे भनेका छन् । उनले पुस्तकमा भनेका छन्, ‘अर्थतन्त्र बजारले नियन्त्रण गर्ने वा सत्ताले भन्ने चुनाव गर्नुपर्ने भयो भने भने, माक्र्स बजारको पक्षमा हुन्थे भनेको सुन्दा आधुनिक उदारवादीहरू समेत छक्क पर्थे होलान्... ।'

यस्ता कतिपय पंक्ति पढ्दा देसाईले अरू कोही प्रकट र घोषित कम्युनिस्टभन्दा बढी माक्र्सवादी मार्गरेट थ्याचर हुन् भन्ने दाबी गर्न खोजेका हुन् कि, यस्तो भान हुन्छ । राज्यको नियन्त्रण भएको अर्थतन्त्रले अन्ततः दासतामा पुर्‍याउँछ भन्ने निष्कर्षसहित ‘रोड टु सर्फडम'जस्ता पुस्तक लेख्ने फ्रेड्रिक भोन हाएक र ‘क्यापिटलिज्म एन्ड फ्रिडम'जस्ता पुस्तकहरूबाट खुला बजारकै पक्षपोषण गर्ने मिल्टन फ्रिडम्यानहरू कति माक्र्सवादी थिए भनेर सोच्नुपर्ने ठाउँमा पुर्‍याउँछन् देसाईले । फिडम्यानहरू नै माक्र्सवादका अघोषित तर असली अनुयायी रहेछन् कि भन्ने बिन्दुमा पुर्‍याएका छन् उनले । पुस्तकमा हायक र किन्सजस्ता अर्थशास्त्रीका विचारबारे ससाना व्याख्या पनि उल्लेख छन् ।

देसाईले मूलतः अन्तर्राष्ट्रिय व्यापारलाई विश्व पुँजीवादसँग मिसिने कडीका रूपमा व्याख्या गरेका छन् । अन्तर्राष्ट्रिय व्यापारको विस्तारले श्रमको विशिष्टीकरण हुँदै जाने र त्यसले प्रभावकारिता बढाउने भएकाले उत्पादनमा वृद्धि हुने अत्यन्त सहज सुनिने सिद्धान्तको वकालत गरेका छन् । प्रत्येक देशले तुलनात्मक रूपमा लाभ हासिल गर्दै जाने र त्यसै क्रममा हरेकका लागि राष्ट्रिय र वैश्विक उत्पादन बढ्ने उनको सोझो सूत्र छ । यद्यपि यस क्रममा असमानता भने बढ्ने सम्भावना प्रचुर रहेको उल्लेख गर्न भुलेका छैनन् । उनले भनेका छन्, ‘आधुनिक दुनियाँ असमान छ तर उच्च तहको उपभोग गर्न सक्षम छ ।' उनको आशय के बुझिन्छ भने असमान दुनियाँ बनाएर श्रमिक वर्ग अकण्टक श्रम शोषण गराउन तयार भएर बसेको छ र त्यस्तो शोषण चलिरहँदा त्यसका विरुद्ध लड्न नभई उपभोग गरेर रमाउन बढी उद्यत छ । त्यसैले देसाईका अनुसार पुँजीवादभन्दा पर नभई पुँजीवादअन्तर्गत नै समाजवादी व्यवस्थाको परिकल्पना गर्नु मनासिब हुन्छ । पुँजीवादविरुद्ध संघर्ष गरेर वा गरेको भान पारेर समय खेर फाल्नुभन्दा पुँजीवादको द्रुततर विकासबाट कसरी समाजवाद आउँछ, त्यो हेरेर बस्नु श्रेयस्कर हुन्छ ।

प्राध्यापक मि श्रका तर्कहरू बिल वार्रेन वा मेघनाद देसाईसँग मिल्दाजुल्दा सुनिन्छन् । देसाईले जस्तै मि श्रले पनि माक्र्स बजारका पक्षपाती भएका कारण बजारको विकल्पका रूपमा राज्यलाई अघि सार्नु उचित होइन र त्यो माक्र्सवादसम्मत काम होइन भनेका छन् । बजारको प्रतिस्पर्धाबाट मात्रै उत्पादकत्व बढ्ने र नेपालजस्तो सानो मुलुकले चीन र भारतजस्ता ठूला पुँजीवादी शक्तिसँगको अन्तर्राष्ट्रिय व्यापारबाट लाभ हासिल गर्न क्ने तर्क गरेका छन् । पुँजी र श्रमका बीचमा हस्तक्षेपकारी नबनी सामान्य सन्तुलनकारी भूमिका खेल्ने व्यवस्थापकको काममा राज्यले आफूलाई सीमित नगर्दा, त्यो समाजवादको नाममा राज्य नियन्त्रित पुँजीवाद हुने र त्यसले असली समाजवादको बाटो छेक्ने मि श्रको तर्क छ । वामपन्थीहरूले सँगालेको समाजवादी सपनाको कच्चापन देखाउन खोज्दा भने अहिलेको दुनियाँमा पुँजीवादको विकल्प कल्पना गर्नु सबैभन्दा फजुल काम हो भन्ने निष्कर्षमा मि श्र त्यसरी नै पुग्छन्, जसरी देसाई पुगेका छन् । अर्थात्, देसाई र मि श्रले हिँडेको तर्कको गोरेटो लगभग उस्तै देखिन्छ ।

के मि श्र पनि थ्याचर, हाएक र फ्रिडम्यानहरूको सान्दर्भिकता पुष्टि गर्ने हदमा पुँजीवादको वकालत गर्छन् ? के अविकसित पुँजीवादबाट समाजवादको अगतिलो छलाङको आलोचना गर्दा, पुँजीवादले सिंगो विश्वकै अस्तित्वमाथि थोपरेका खतरालाई बेवास्ता गरिरहेका छन् ? के पुँजीवादको उच्चतम विकास त्यति नै मानवीय र सहज छ, जति उनले अघि सारेको सामाजिक लोकतन्त्रको कागजी अनुहारमा देखिन्छ ? पुँजी र श्रमबीचको शालीन सन्तुलनको अर्को नाम नै राज्य भइरहला ? वा पुँजीवादको चरित्र नै त्यस्तो छ कि पुँजी र श्रमको यस्तो सन्तुलन कायम हुनै दिँदैन ? यस्ता प्रश्न र सन्देहहरू उब्जिनु स्वाभाविक छ ।

मि श्रले अघि सारेका सैद्धान्तिक र वैचारिक प्रस्ताव र तिनको सान्दर्भिकता पुष्टि गर्न पेस गरेका तर्क र तथ्यलाई बुझ्न, विचारको जगमा नपुगी सम्भव छैन । लेनिन वा अक्टोबर क्रान्ति वा बोल्सेभिज्म नमिसिएको माक्र्स के हो भनेर पर्गेल्न जरुरी छ नै । तर, त्यति मात्र पर्याप्त हुन्छजस्तो लाग्दैन । वार्रेन र देसाईका प्राज्ञिक अध्ययनहरू साथै अर्थराजनीति र समाजशास्त्रका उस्तैखाले बाटो तय गरेर हिँडेका एन्थोनी गिड्डेन्सजस्ता विद्वान्ले रचेको ‘द थर्ड वे'को गम्भीर अन्वेषण र नेपालमा तिनको सान्दर्भिकता नखोजी मि श्रले उठान गरेको बहस विस्तारित हुन सक्दैन । कारण, देसाई र वार्रेनजस्ता विद्वान्ले पनि माक्र्सवादको सही गोरेटो आफूले पहिचान गरेको दाबी गरेका थिए ।

पुँजीवादी विकासको मौन साक्षी हुने वा विकल्पको परिकल्पना गर्ने ?
अखबारको सीमित परिधिमा रहेर पनि यति भन्न आवश्यक लाग्यो, मैले बुझेको पुँजीवाद सामन्तवादी व्यवस्था वा पूर्वपुँजीवादी अवस्थाभन्दा हजार गुणा प्रगतिशील छ तर यो मानवीय र न्यायी छैन । अमानवीय र अन्यायी भएकाले यसको विकल्पको परिकल्पना गर्ने कामलाई निषेध गर्न खोज्नु वा त्यसलाई फजुल ठहर्‍याउनु उचित हो भन्ने लाग्दैन । यसो भन्दै गर्दा माओ र लेनिनलाई शतप्रतिशत ठीक मान्ने जिरह पनि होइन यो । उनीहरूको गहन आलोचना प्रगतिका लागि लाभदायक हुन्छ भन्ने लाग्छ ।

नेपालमा मौजुद कम्युनिस्ट पार्टी यति कल्पनाशील बन्ने र उच्चतम बौद्धिक अभ्यास गरेर नयाँ बाटो कोर्ने ल्याकतका छैनन्् भन्ने पुष्टि भएको छ । माओवादी जनयुद्धको बैठान हुँदै गर्दा उठाइएका केही सिर्जनात्मक प्रयासलाई आफैं असफल बनाउने नेतृत्वबाट त्योभन्दा ठूलो अपेक्षा गरिएको छैन । तर, कम्युनिस्ट ब्यानरका मौजुद राजनीतिक शक्तिहरू अन्तिम सत्य होइनन् र इतिहासको अन्त्य यही बिन्दुमा हुने पनि होइन होला । आलोचनात्मक चिन्तनको अभ्यास र अनेक प्रगतिशील विकल्पका ढोका खुला राख्न आवश्यक छ ।

नेपालको अहिलेको व्यवस्था मि श्रले अघि सारेको सामाजिक लोकतन्त्रको खाकाभन्दा धेरै पर छ जस्तो लाग्दैन । उनले आफ्ना केही लेखमा बुँदागत रूपमा उल्लेख गरेका लोकतन्त्रको त्यस्तो मोडलभन्दा विपरीत विचार पार्टीका दस्तावेजहरूमा उल्लेख भएका हुन सक्छन् । संविधानमा समाजवाद भन्ने शब्द लेख्नु संविधान निर्माताहरूलाई सुविस्ता हुन्थ्यो, त्यो अवधारणा लगभग सबै ठूला पार्टीबाट समाजवादी प्रशिक्षण पाएका देशका लाखौं जनता रिझाउने बिकाउ पुडियाभन्दा बढ्ता केही होइन । त्यसैले छलाङप्रति अलिअलि मोह रहेको माओवादी केन्द्रसमेत एमालेमा विलय हुने प्रक्रियामा उद्यत भएपछि, कसैले पनि समाजवादी छलाङ मार्ने कोसिस वा दुस्साहस गर्ला भन्ने देखिँदैन । त्यसैले बुझेर वा नबुझेर, सामाजिक लोकतन्त्रको मोडल नै अब उनीहरूको भविष्यको बाटो हुनेछ । सुशासन र भ्रष्टाचार नियन्त्रण लगायतका मुद्दा भने पेचिला रहलान् । कारण, कचल्टेको पुँजीवादबाट विकसित भनिएको पुँजीवादको यात्रामा यी सबै अवश्यम्भावी नै हुन् । त्यसो भए के त अब कुनै त्यस्तो शक्ति वा बौद्धिक जमातको विकास जरुरी छैन जसले पुँजीवादको अमानवीय तस्बिर उजागर गरोस् ?

पुँजीवादको चरम विकास भएका केही नमुना ठाउँहरूमा नै त्यसका अमानवीय रूपहरू देखिएका छन् । ती विकसित पुँजीवादी मुलुकको समृद्धि र त्यहाँका जनताले भोग्न पाएका सुविधामात्रै हेरेर, त्यो विकसित पुँजीवादको सग्लो चित्र देखिएला र ? यद्यपि त्यसका खराबीहरू मात्रै खोजेर रचिएको प्रोपागान्डा साहित्यबाट प्रभावित हुनु मात्रै पनि मुक्तिको बाटो भने होइन । तर, विकसित पुँजीवादमा मान्छेले जति सुख पाएको दाबी गरिएको छ, के त्यसको तुलनामा दुःख र संकटहरूको आयतन त्यति नगन्य छ कि सहजै नजरअन्दाज गर्न मिलोस् ?

लाखौं मान्छेलाई भोकै राखेर खानयोग्य मकैबाट बायोग्यास उत्पन्न गरेर धनीहरूका मोटर चलाउने व्यवस्थाको विकल्पको परिकल्पना गर्न अबको कति दशकपछि सम्भव हुने हो ? यस्ता दशकहरूका छेकबार खडा गर्दा मानवीय कल्पनाशीलतालाई निमोठ्नमा अग्रसर भइने त होइन ? केवल माक्र्सको शुद्धताका लागि उनीभन्दा उन्नत सोच्ने सम्भावनालाई निषेध पो गरिँदैछ कि ? प्राधिकारको दाबी गलत हो भने पुँजीवादको विकल्पहीनता प्रस्तुत गर्दा अर्को प्राधिकारिताको खोजी गरेको आरोप लाग्ने कत्तिको सम्भावना होला ?

माक्र्सेली व्याख्याअनुसार आर्थिक जग तयार नभई समाजवाद स्थापना गर्न संघर्षरत हुनु अवैज्ञानिक र अमाक्र्सवादी कर्म हुनसक्छ । यसबारे दार्शनिक तहको टिप्पणी गर्ने ल्याकत पंक्तिकारसँग छैन । तर, आलोचनात्मक चेतनासहित दुनियाँको तस्बिर हेर्दा, सुदूर भविष्यमा आउने त्यो समाजवादको मौन पर्खाइ गरेर समय गुजार्न वा पुँजीवादले गरिरहेको विकासको शालीन दर्शक मात्रै बनेर बस्न कति उचित होला ? यसमा कसैले माक्र्सको स्मरण गर्र्दै सहजै भन्दिन सक्छ, परिवर्तन व्यक्तिको चाहनामा मात्रै निर्भर हुँदैन, त्यसका लागि भौतिक परस्थिति तयार हुनुपर्छ ।

लेनिन नमिसिएको माक्र्सवादले अघि सारेको विकासको एकरेखीय सूत्र नै अन्तिम सूत्र हो ? शुद्ध माक्र्सवादी बन्नैका लागि यसभन्दा अघि बढेर परिकल्पना गर्न खोज्ने प्रयत्न गर्दै नगर्ने ? मलाई लाग्छ, यसो गर्न जरुरी छ । त्यसका लागि माओ वा लेनिनको हुबहु अनुसरण वा समाजवादी छलाङको नाममा अर्थहीन रडाको वा उनीहरूको पूजाअर्चना जरुरी छैन । पुँजीवादका अनेक विकल्पहरूबारे वस्तुगत ढंगले सोच्ने, माक्र्सवादलाई रेफरेन्स मानेर अघि बढ्ने ल्याकत भएका बौद्धिक जमात र राजनीतिक शक्ति निर्माण कसरी होला भनेर दिमाग खियाउन जरुरी होला । अहिलेसम्मका असफलताको समीक्षा गरेर माओ र लेनिनभन्दा सयौं गुणा बढी सिर्जनात्मक हुने सम्भावनाको अन्त्य भएको हो र ?

आलोचनात्मक बहसको बिन्दु
प्राध्यापक चैतन्य मि श्रले माक्र्सवाद, वामपन्थ, प्रगतिशीलता र समाजवाद बारेको आलोचनात्मक विमर्श गर्नु आफैंमा सुखद घटना हो । उनको गहन बहसलाई बेवास्ता गर्न खोज्नु, सम्यक विचारबिना सतही ढंगले डिसमिस गर्नु, व्यक्तिगत आक्षेपको तहमा उत्रेर गाली गर्नुको तुक छैन । कारण, भएका कम्युनिस्ट पार्टीहरू अहिले जुन हालतमा छन् र जसरी विचारशून्य भीड वा शुद्धतावादी अकर्मण्यतामा फसेका छन्, तिनलाई तरंगित गर्न पनि यस्ता बहसको आवश्यकता छ । फेरि भएन कम्युनिस्ट वा समाजवादी भनिएका मुलुकका पतन हाम्रै अघिल्तिर स्पष्ट देखिएपछि, तिनीहरूप्रति गरिएका आलोचनालाई बेवास्ता गर्न जरुरी छँदै छैन ।

लेनिन र माओले जस्ता कामलाई सिर्जनात्मक माक्र्सवादको नाम दिए ती कति सिर्जनात्मक थिए भनेर परख्नु उति नै जरुरी छ । साथै, नेपाली समाजका विशिष्टताहरूको सम्यक र गहिरो बुझाइ, वैश्विक परस्थितिको सुचित र चुस्त विश्लेषण, दुनियाँभरका मानिसले भोगिरहेका उस्तै खाले र विशिष्ट संकटहरूको पहिचान र हाम्रो खास अवस्थितिबाट प्रगतिको बाटो अघि हिँड्नका लागि पनि यस्ता बहसहरू हुन जरुरी छ । वामपन्थी शक्ति वा कम्युनिस्ट पार्टीको आवश्यकता अद्यापि छ भन्ने नेता, कार्यकर्ता र बौद्धिकहरू यस्ता बहसमा बढी अग्रसर भए भने तिनले सान्दर्भिकता गुमाउनेछैनन् । माक्र्सवादी हुँ भनेर दाबी गर्नेले अझ अघि बढेर यस्ता बहसमा सहभागी हुनु सान्दर्भिक हुनेछ । साथै, नेपालको वामपन्थी र कम्युनिस्ट आन्दोलनको वस्तुगत समीक्षा गर्ने बिन्दु पनि यही बहसको सिलसिलालाई बनाए समाजलाई फाइदा पुग्छ । कम्युनिस्ट आन्दोलनप्रति आलोचनात्मक ढंगले बहस गर्दै पुँजीवादका चरित्रबारे आफ्ना स्पष्ट धारणा राखिदिने प्राध्यापक मिश्रलाई धन्यवाद ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.