उँधौलीमा रमाए किराँतीहरू

उँधौलीमा रमाए किराँतीहरू

 

आइतबार हात्तीवनमा धूमधामसँग उँधौली मनाइरहेका थिए किराँतीहरू । रमणीय वन क्षेत्रको थुम्कोमा कोही आफ्नै भाषाका गीतमा नाचिरहेका थिए, कोही परम्परागत पहिरनमा सजिएर गफिँदै थिए ।उँधौली मनाइरहेका भेटिए, किराँत याक्थुङ चुम्लुङको अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे । उनका अनुसार परापूर्वकालमा नेपालको पूर्वी भेगमा कोही नपुगेको समयमा लिम्बूहरूको उत्पत्ति भएको थियो ।

त्यसपछि बाली लगाउन जंगल फाँड्न थाले उनीहरू । तर जंगल, खोलानाला सबैतिरको देवताले दु:ख दिएपछि इष्टदेवताको पूजा गरे । पुन: बीउबिजन रोपे, अन्न फलाएर खाए । तर, लिम्बूहरू फेरि बिरामी भए, त्यसपछि पाकेको पहिलो अन्न देवतालाई चढाए । अन्न चढाएपछि कोही बिरामी भएनन् । सोही समयदेखि उँधौली अर्थात् चासोक तोङनाम मनाउने थालियो । शाब्दिक रूपमा ‘चा’ को अर्थ अन्न र ‘सोक’ भनेको कसैले नखाएको चोखो भन्ने हुन्छ ।

उँधौलीमा कुलदेवता ‘युमा’ को पूजा गरिन्छ । जाँडलगायत अन्नपात जे जे फलेको हुन्छ, त्यो देवतालाई चढाइन्छ । विशेषगरी तीन दिन मनाइने यस चाडमा आफन्तसँग भेटघाट गरिन्छ, मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । यो चाडमा जाँडरक्सी र बंगुरको मासु अनिवार्य हुन्छ ।

चेप्टे सुन, कण्ठ, बुलाकी, ढुंग्री, यार्लिंङ लगाएर चिटिक्क परी आफन्तको साथ उँधौली मनाउन आइपुगेकी ताप्लेजुङकी ६३ वर्षीया धनमाया लिम्बू आफन्तहरूसँग भेटघाट गर्न पाउँदा मक्ख थिइन् । उता रामेछापका मोहन सुनुवार किराँतीमध्ये राई, लिम्बू, सुनुवार र याख्खाबाहेक यसपटक थामी समुदाय पनि उँधौली मनाउन थपिएको बताए । उनले किराँतीहरू प्रकृतिको पुजारी भएकै कारण उनीहरूको प्रत्येक संस्कृतिसँग प्रकृति जोडिएको बताए ।

उनले भने, बाली लगाएपछि चराचुरुंगी, बाँदर नलागून् भनेर पितृलाई सम्झिने गरिन्छ । बाली भित्र्याएपछि पनि कीरा नलागून्, चोरी नहोस्, अनिकाल नलागोस्, सहकाल आओस् भन्दै पूजा गरिन्छ । ‘न्वागी’ अर्थात् नयाँ अन्नलाई पूजा गरेर खाइन्छ ।

जल, जमिन, वायु, आगो, पृथ्वी यी पञ्चतत्वको पूजा गर्ने चलन किराँतीहरूमा पहिलादेखिकै हो । सातदोबाटो बस्ने विजय लिम्बू हात्तीवनमा पहिलो पटक उँधौली मान्न आइपुगेका थिए । उनले भने, हामीजस्ता युवाहरूले आफ्नो संस्कृतिहरू के रहेछ यस्ता कार्यक्रमबाट बुझ्न सजिलो हुने बताए ।

तेह्रथुमका टंक लिम्बू उँधौलीमा परम्परा र संस्कृतिको जगेर्नासँगै साथीभाइहरूसँग मिलेर जमघट गर्न रमाइलो लागेको बताए । उनलाई यो चाडमा आफूभन्दा ठूलाकोमा गएर आशीर्वाद लिने र पूजा सकाएपछि मीठो मसिनो खाने चलन निकै मन पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.