रात चिर्न्या भानु
काठमाडौँ : आदिकवि भानुभक्तको कविताका अंश ‘घाँसी'। उनको जीवनीको आधारमा हेर्ने हो भने बाटामा हिँड्दै गर्दा भानुभक्तले भेटेको व्यक्ति जसको विचारबाट उनी निकै प्रभावित भए। तर खुलाउन बिर्से या चाहेनन् त्यति प्रेरक व्यक्तिको परिचय। उनको नाम थर र जात लुकाएर आदिकविले नयाँ परिचय दिए ‘घाँसी'।
पानी नै नभएपनि घाँसीले बनाएको कुवा हेर्न अहिले पनि राजमार्गमा गाडी रोकिन्छन्। तर ती घाँसी कुन कुलका थिए कसैलाई पत्तो छैन। घाँसीको विषयमा प्राय सबैको मनमा खुल्दुली भेटिन्छ। त्यहि खुल्दुलीलाई आक्रोशमा पोख्दै भित्रिएको एक व्यक्तिको आगमनले सुरु गर्यो, ‘रात चिन्र्या भानु'। शिल्पी थिएटरमा सोमबारसम्म मञ्चन भएको नाटक हो यो। नाटकमा आदिकवि भानुभक्तको जीवनी देखाइएको छ। उनको बाल्यावस्था देखि तरुण र अन्तिम घडीका पलहरुलाई नाटकले समेटेको छ।
जुन आक्रोश बोकेर नाटक सुरु भएको थियो, त्यो गति भानुभक्तको जीवनीको पहिलो हिस्साबाटै सेलायो। हजुरबुवासँग संस्कृत शिक्षा लिइरहेको बालक भानु देखिन्छन्। घरमा सामान्य अध्ययन गर्न सक्ने भइसकेका भानु बाँकी अध्ययनका लागि हजुरबुवासँगै काशी तिर लाग्छन्। शिक्षा आर्जन गरेर जवान भएपछिको भानु र घाँसीसँग भेटको प्रसंग एकै पटक देखाइन्छ। ज्ञान धन दुवै भएको आफू भन्दा बढि दिलदार घाँसीको ठूलो हृदयबाट भानुले जीवनदर्शन पाउँछन्। यहिँबाट सुरु हुन्छ, रामायणको नेपाली रुपान्तरण। भानुभक्तका जीवनका उतारचढाव, जागिर, जेल कुनै विषय नयाँ छैनन्। नाटकले आदिकविका बारेमा सर्वसाधारणलाई थाहा भएकै विषयहरु समेटेको छ।
नाटकका निर्देशक प्रभाकर न्यौपानेले अनुसन्धान गरेर ल्याएको भनिएपनि कुनै विषय नौलो लाग्दैनन्। नाटक हेर्नुपूर्व भानुभक्तका विषयमा केहि नयाँ बुझिएला भन्ने दर्शकको अपेक्षा डेढ घन्टाको अवधिमा पुरा हुन सक्दैन। नाटकलाई यथार्थपरक बनाउन कलाकारहरुले उतिबेलाकै जस्तो लवज बोल्ने प्रयास गरेका थिए। त्यहि लवजमा बोल्न खोज्दा खोज्दै पनि उनीहरु धेरै ठाउँमा चिप्लिएका छन्।
त्यतिबेला प्रयोग नै नुहने ‘फेरि' भन्ने शब्द नाटकमा प्रयोग भएको छ। लवज र संवादमा ध्यान दिँदा दिँदै कलाकारले आभिनय कला देखाउनै बिर्सिएजस्तो लाग्छ। भानुभक्तका चर्चिच कवितांशमात्र वाचन भएका छन्। यसले नौलोपन खोज्ने दर्शकलाई सन्तुष्ट तुल्याउन सक्दैन। घाँसीको परिचयको खोजीबाट सुरु भएको नाटक उसको परिचय नभेटि सकिन्छ। कुनै विषय उठान गर्नुभन्दा भानुभक्तको महिमामै नाटक सकिन्छ।