बसको ठक्करबाट महिलाको मृत्यु
दमौली : दमौली बजारमा सोमबार बिहान कार र बस ठोक्किँदा भएको दुर्घटनामा एक पैदलयात्री महिलाको ज्यान गएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको बा ९ च ४४४३ नम्बरको कार तथा पोखराबाट दमौली आउँदै गरेको बा ६ ख ७२११ नम्बरको यात्रुवाहक बस दमौली ट्राफिक चोकनजिकै दुर्घटनाग्रस्त भएका थिए।
कारसँग ठोकिएपछि अनियन्त्रित बसलाई छेउतिर लैजाने क्रममा बसले सडकमा यात्रा गरिरहेका दुईजनालाई ठक्कर दिएको थियो। त्यसक्रममा घाइते व्यास १२ बेनिकोट निवासी हरिमाया आलेको उपचारका क्रममा पोखराको मेट्रो सिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
उनीसँगै यात्रारत सोही ठाउँकी ९ वर्षिया बालिका गुराँस आलेको भने मेट्रो सिटीमै उपचार भैरहेको छ। घाइतेलाई डोजरको सहायतामा बस पन्छाएर झिकिएको थियो। दुर्घटनामा कारमा सवार काठमाडौंका यामप्रसाद रेग्मी र धादिङका सुजन श्रेष्ठ दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।