नारी वेदनाको पोको ‘श्रीमान् वीरबहादुर'

नारी वेदनाको पोको ‘श्रीमान् वीरबहादुर'

भरतपुर : आफ्नी श्रीमतीमाथि आँखा लगाउने सुबेदारलाई कुटेपछि वीरबहादुर प्रहरी थुनामा पर्छन्। थारू जातिको वीरबहादुरलाई सोझो भएकै कारणले प्रहरीले यातना दिन्छन्। गरिब भएकैले हेपिएका वीरबहादुरलाई उनकी श्रीमतीले थुनाबाट छुटाउँछिन्। रिक्सा चलाएर परिवार पाल्ने वीरबहादुर आफ्नी श्रीमतीलाई आँखा लगाउनेविरुद्ध जाइलाग्ने गर्छन्।

श्रीमतीको खुसीका लागि मेहनत गर्ने ‘ श्रीमान् वीरबहादुर'को कथा हो यो। नारायणी कला मन्दिरमा नाटक ‘ श्रीमान् वीरबहादुर' मञ्चन भइरहँदा दर्शक भने निकै भावुक भए। हलमा कनिष्ठदेखि वरिष्ठ कलाकार सामुन्ने नाटक पस्किँदा सबै स्तब्ध थिए। कथालाई अभिनयमा उतार्ने कलाकारको दर्शक बनेर आएका वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले प्रशंसा गरे। ‘नेपाली समाजको वास्तविक घटना देखाउन खोजिएको छ, विषयवस्तु पनि राम्रो छ', नाटक हेरेपछि उनले खुसी हुँदै भने, ‘प्रयास राम्रो छ, अभिनयमा आशलाग्दो सम्भावन देखेँ।'

नाटकमा बिहे नहुँदै गर्भवती भएकी किशोरीले प्रेमीले दिएको धोकापछि भोगेका सामाजिक अपहेलना देखाउन खोजिएको छ। सुदूरपश्चिमेली परिवेशमा आधारित यो कथामा पुरुषपीडित उपल्लो वर्गकी नारी पात्रलाई गरिब परिवारमा हुर्केका व्यक्तिले दिएको सहारा र परिबन्दले जोडेको सम्बन्ध उतारिएको छ।

मदन पुरस्कार विजेता कृति रामलाल जोशीको कथा ऐना संग्रहभित्रको ‘ श्रीमान् वीरबहादुर'को नाट्य रूपान्तरण गरिएको हो। एउटा धनाढ्य परिवारकी छोरी, रिक्साचालक, प्रहरी र पत्रकारको बीचमा घुमेको कथामा नाटक केन्द्रित छ। सामाजिक यथार्थमा बगेको कथाको मर्मअनुसार नाटक तयार गरेको निर्देशक भीष्म जोशीले बताए।

सुरेश जीसी वीरबहादुरको भूमिकामा देखिएका छन्। कृपा अधिकारी, भीष्म जोशी, अञ्जान ढुंगाना, अस्मिता थापा, विवेक तिवारी, सुमित आचार्य लगायतको अभिनय नाटकमा हेर्न पाइन्छ। बुधबारदेखि दर्शकका लागि उक्त नाटक नारायणी कला मन्दिरमा मञ्चन सुरु भएको छ। चार दिनसम्म दैनिक दुई सो नाटक मञ्चन गरिने कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले बताए। चितवनमा पनि नाटकको सम्भावना प्रबल देखिएकाले मञ्चले पहिलोपटक नाटक मञ्चन गर्ने प्रयास गरेको उनले बताए। उनका अनुसार नाटकबाट संकलित रकम ‘थिएटर' निर्माणमा खर्चिने योजना छ।

नाटक विधालाई कलाकारले प्राथमिकता दिएको नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले बताए। ‘प्रविधिको विकास भएसँगै नाटक विधा ओझेलमा परेको थियो। नाटकमा देखिएको युवा पुस्ताको मोहले आशा जगाएको छ', उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.