माओवादीका मन्त्रीकाे सामूहिक राजीनामा
काठमाडौं : विनाविभागीय मन्त्रीको हैसियतमा ११७ दिनसम्म सरकारमै रहेका माओवादीका मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सरकारमा गएको आठ महिनापछि माओवादी सरकारबाट बाहिरिएकाे हाे ।
विनविभागीय जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेलले ‘बिहीबार नै हामीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको थियो,’ उनले भने, ‘सार्वजनिक बिदा परेकाले शुक्रबार पार्टीको पत्र प्रधानमन्त्रीकहाँ पुगेको छ ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादी सरकारमा नरहेको पत्र पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।
माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई अब सरकारमै राखिरहन ‘औचित्यपूर्ण’ नहुने निष्कर्ष निकाल्दै फिर्ता बोलाएको हो । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी थिए । उनीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मा जिम्मेवारीमुक्त गरेका थिए ।
चुनावपछि नयाँ जनादेशका आधारमा प्रधानमन्त्री आफैँले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने अपेक्षामा रहे पनि त्यसो नगरेकाले पार्टीले मन्त्री फिर्ता बोलाएको उनले बताए । ‘नयाँ जनादेशपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने हो, त्यसैमा हाम्रो निकास हुन्छ भन्ने थियो तर ढिला हुँदै गएकाले त्यहाँ बसिरहनु औचित्य रहेन’, उनले भने ।
कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।