छैटौं इपिजी बैठक : १९५० को सन्धि परिमार्जन गरिने

छैटौं इपिजी बैठक : १९५० को सन्धि परिमार्जन गरिने

 

नयाँ दिल्ली : नेपालले उठाउँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत असमान सन्धि-सम्झौता परिमार्जन गर्ने सहमतिसहित नेपाल-भारत प्रबुद्ध समूहको छैटौं बैठक शुक्रबार सकिएको छ।

दिल्लीको इन्स्टिच्युट फर डिफेन्स एन्ड अनालाइसिस (आईडीएसए) भवनमा शुक्रबार सकिएको दुईदिने बैठकले प्रतिवेदनको विषय लेखन सुरु गर्ने, छलफल भएका विषयवस्तुलाई अन्तिम स्वरुप दिने तथा आगामी बैठक फागुन १२ र १३ (फेब्रुअरी २४ र २५) मा नेपालमा गर्ने सहमतिसमेत गरेको छ।

नेपालले उठाउँदै आएको १९५० को सन्धि यथास्थानमा नरहनेमा दुवै पक्ष सहमतिमा पुगेको नेपाली पक्षले जानकारी दिएको छ। बैठकपछि नेपाली दूतावासमा अन्नपूर्णसँग कुरा गर्दै समूहका संयोजक डा. भेषबहादुर थापाले भने, ‘१९५० को सन्धिलगायत असमान सन्धि-सम्झौता परिमार्जनको विषयमा भारतीय पक्ष सकारात्मक छ। आगामी बैठकमा अहिलेसम्म छलफल भएका विषयको दस्तावेज तयार पारेर अन्तिम स्वरुप दिन दुवै पक्ष सहमत भएका छौं।'

विगतको बैठकमा छलफल गरिएका सीमा सुरक्षा, सीमा नाका, व्यापार, जलस्रोत, कनेक्टिभिटीलगायत विषयमा भारतीय पक्षको सहमति रहेको भए पनि सन् १९५० को सन्धि परिमार्जनको विषयमा सकारात्मक देखिएको थिएन। ‘यसपटक नेपालले उठाएका विषयमा राम्रो सुनुवाइ भएको छ', थापाले भने, ‘लेखनको क्रममा जे-जति सुझाव राखिन्छ, त्यो विगतबाट निर्देशित नभएर भविष्यमुखी हुन्छ।'

नेपाल-भारत सम्बन्धको इतिहासमै पहिलोपटक असमान सन्धि-सम्झौतालगायत विषयमा छलफल र सहमति जुट्नु उपलब्धिमूलक भएको समूहका सदस्य एमाले नेता राजन भट्टराईले जानकारी दिए। ‘नेपाल-भारत सम्बन्धको इतिहासमै पहिलोपटक असमान सन्धि-सम्झौतालगायत आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका वृहत पक्षको बारेमा एउटै टेबलमा छलफल भएको छ। यो निकै सकारात्मक पक्ष हो', उनले।

 ‘१९५० को सन्धिलगायत असमान सन्धि-सम्झौता परिमार्जनको विषयमा भारतीय पक्ष सकारात्मक छ। नेपालले उठाएका विषयमा यसपटक राम्रो सुनुवाइ भएको छ।' - डा. भेषबहादुर थापा, संयोजक

प्रतिवेदनमा सन्धि परिमार्जनको विषयमा नेपालले चाहेअनुसार परिमार्जनको सुझाव राख्न सकिने संकेत बैठकअगावै अन्नपूर्णसँग कुरा गर्दा भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले दिएका थिए। प्रबुद्ध समूह नेपाली पक्षको सम्मानमा दिल्लीमा बुधबार साँझ आयोजना गरिएको रात्रिभोज कार्यक्रममा कुरा गर्दै उनले भनेका थिए, ‘नेपालको मुख्य चासो १९५० को सन्धिमा देखिएको हुँदा त्यसलाई सहज बनाउने विषयमा हामी सकारात्मक भएर छलफल गर्छौं।'

त्यसो त नेपालमा पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रम तथा चीनको बढ्दो प्रभावले झस्किएको भारतले प्रबुद्ध समूहका माध्यमबाट नेपालसँगको सम्बन्धलाई सुधारोन्मुख बनाउने रणनीति बनाएको बुझिएको छ। उच्च स्रोतका अनुसार इपीजी समूहलाई सकेजति लचक भएर अगाडि बढ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट निर्देशन दिएका थिए।

नेपालको तर्फबाट उठाएका १९५० सन्धि लगायत अन्य मुद्दालाई सकेजति लचक भएर सम्बोधन गर्न मोदीले समूहलाई विन ओभर नेपाल (नेपालको मन जित) भन्ने सिंगल लाइन अर्डर दिएको उच्च स्रोतले जनाएको छ। त्यही भएर यो बैठकमा भारतीय पक्ष निकै लचिलो गरी प्रस्तुत भयो।

बैठकमा सहभागी एक सदस्यले भने, ‘विगतमा भन्दा उहाँहरू निकै सकारात्मक देखिनुभयो, भाषा (टोन) नै परिवर्तन थियो।'

शुक्रबारको बैठकमा भारतका तर्फबाट प्राध्यापक महेन्द्र पी.लामाले नेपालमा भारतको वैदेशिक सहायताका बारेमा प्रस्तुति राखेका थिए। सन्धिको मोडालिटी अर्थात् कुन-कुन बुँदा कसरी परिमार्जन गर्ने भन्ने सुझावको विषयमा आगामी बैठकमा थप छलफल हुने बुझिएको छ।

बैठकमा भारतका तर्फबाट समूहका संयोजक भगतसिंह कोशियारी तथा सदस्यहरू प्राध्यापकद्वय महेन्द्र पी.लामा तथा बीसी उप्रेती तथा स्वास्थ्यलाभ गर्दै गरेका नेपालका लागि पूर्वभारतीय राजदूत जयन्त प्रसादसमेत सहभागी थिए। नेपालका तर्फबाट संयोजक भारतका लागि पूर्वराजदूत डा.भेषबहादुर थापा तथा सदस्यहरू पूर्वमन्त्री नीलाम्बर आचार्य, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र एमाले नेता राजन भट्टराई सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.