तारुकामा यसरी जुधाइयो गोरु, नौवटा फोटोमा हेर्नुस्
चन्दनी, तारुका, नुवाकोटः स्पेनको बुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरुमेला सोमवार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन् । सदियौँदेखि प्रत्येक वर्षको माघे संक्रान्तिमा नुवाकोटको दक्षिणी तारुकाको चन्दनीमा यसवर्ष पनि ३५ हल गोरु जुधाउँदै सोमवार सम्पन्न भएको हो ।
यस वर्ष तारुकालगायत तीन स्थानमा गोरु जुधाउने मेला गरियो । गोरु जुधाई मेलामा नुवाकोटकै तीन स्थानमा ३५ हल गोरु जुधाइएकोे छ ।
तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनीमा सोमवार २० हल गोरु जुधाइएको हो । नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा नमूना र पहिचानको रुपमा गोरु जुधाइने गरिएको छ ।
नेपालको सांस्कृतिक मेला प्रवद्र्धनका साथै ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्धेश्यले तारुकामा १२ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ । नेपालकै एकमात्र मेला तथा सांस्कृतिक पहिचान गोरु जुधाइ मेलालाई राष्ट्रिय पर्वबवनाउनु पर्ने माग गरिएको छ ।
तारुकाको गोरु जुधाई मेलामा क श्रेणीका विजेता गोरु धनीलाई नगद ६ हजार रुपैयाँ र प्रमाणपत्र तथा उपविजेतालाई चार हजार रुपैयाँ प्रदान गरिएकोे छ । ख श्रेणीका विजेता गोरु धनीलाई नगद तीन हजार र उपविजेतालाई दुई हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको तारुका माघे संक्रान्ति गोरु जुधाउने मेला व्यवस्थापन समितिका अध्यक्ष शिववहादुर अधिकारीले जानकारी दिए ।