प्रदेश ६ मा एमालेले मुख्यमन्त्री नछाड्ने

प्रदेश ६ मा एमालेले मुख्यमन्त्री नछाड्ने

सुर्खेत : प्रदेश ६ मा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ। गठबन्धनको भागबन्डामा प्रदेश नेतृत्व माओवादी केन्द्रले पाउने चर्चा चले पनि एमाले संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको हो।

संसदीय दलले प्रदेशसभामा एमालेको एक्लै ५० प्रतिशत अर्थात २० जना सांसद रहेको र एकल सरकार गठन गर्नसक्ने स्थिति रहेको निष्कर्ष निकालेको छ। सोमबार वीरेन्द्रनगरमा बसेको प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो। प्रदेशसभाका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले एमालेकै नेतृत्वमा सरकार गठन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। प्रदेशमा आफ्नो सहभागिताबिना सरकार गठन हुन नसक्ने भएपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्न सक्ने दाबी पार्टी केन्द्रमा पेस गरेको हो।

प्रदेश ६ को एमाले संगठन कमिटीले यसअघि नै प्रदेश सरकारको नेतृत्वमा औपचारिक दाबी गरिसकेको छ। प्रदेश संसदीय दलको निर्णयसँगै यो प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको छ। संसदीय दलको निर्णयबारे जानकारी दिँदै एमाले नेता कँडेलले भने, ‘हामीले एक्लै सरकार बनाउने अवस्था छ, हाम्रो सहभागिताबिना सरकार नै गठन हुन सक्दैन। हामीले आफ्नै नेतृत्वमा सरकार बनाउने हो, यसका लागि केन्द्रमा पनि गम्भीर ध्यानाकर्षण गराएका छौं।'

प्रदेश ६ मा आफ्नो सहभागिताबिना सरकार गठन हुन नसक्ने भएपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्नसक्ने दाबी पार्टी केन्द्रमा पेस गरेको हो।

यो प्रदेशसभामा जम्मा ४० जना सांसद छन्। तीमध्ये एमालेसँग आधा अर्थात २० जना सांसद छन्। माओवादीसँग १३, कांग्रेससँग ६ र राप्रपाका १ जना सांसद छन्। सरकार गठन गर्न २१ सांसद चाहिन्छ। एमालेबाहेक अरु सबै दल मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन। एमालेले सरकार गठन गर्न बहुमत पुर्‍याउन १ जना सांसद भए पुग्छ। एमालेले राप्रपाका १ जना सांसदको समर्थन लिए एकल सरकार बनाउन सक्ने एमालेकै नेताहरू बताउँछन्।

यो स्थितिको आकलन गरेरै एमाले संसदीय दलले सरकारको नेतृत्व नछाड्ने अडान लिएको हो। ‘पार्टी एकताको सर्त भागबन्डा हुन सक्दैन, अझ एउटै पार्टी भएपछि केका लागि भागबन्डा गर्ने ? ', एमाले प्रदेश ६ का सहसंयोजकसमेत रहेका नेता कँडेलले भने, ‘प्रदेशमा पार्टीका सबै उम्मेदवार जिताएका छौं, एक्लै सरकार बनाउने हैसियत बनेको छ। नेतृत्व अरुलाई सुम्पने विषय मान्य हुँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गर्नेछौं।'

आफ्न नेतृत्वमा सरकार बनाउने संसदीय दलको निर्णय

सरकारको नेतृत्व नछाड्ने निर्णय गरे पनि बैठकले संसदीय दलको नेता छनोट गर्न सकेन। संसदीय दलको नेतामा नेता कँडेल र प्रकाश ज्वालाले रुची देखाएका छन्। संसदीय दलको नेता छानिए मुख्यमन्त्री बन्ने बाटो खुल्ने भएकाले पनि कँडेल र ज्वाला दुवैले दलको नेतामा रुची देखाएका हुन्। पार्टीका प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष युवराज ज्ञवाली बैठकमा उपस्थित हुन नसकेपछि दलको नेता छनोट हुन नसकेको बताइएको छ।

नेता कँडेलले पहिलो बैठक आफ्नो अध्यक्षतामा बसिसकेकाले संसदीय दलको नेताका लागि अब कुनै समस्या नरहेको दाबी गरे। केही दिनभित्रै औपचारिक रूपमा दलको नेता चयन हुने कँडेलले बताए। बैठकले प्रदेशका कुनै पनि जिल्ला हालसम्म काठमाडौंसँग सिधा हवाई सेवामा नजोडिएकाले तत्काल नेपाल वायु सेवा निगम र निजी हवाई कम्पनीलाई काठमाडौंदेखि सुर्खेतसम्म सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बैठकले प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा तत्काल हवाई उडानका लागि पहल गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.