‘जय भोले’ बनाउँदै अशोक
काठमाडौं : पुराना निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘जय भोले’ राखिएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा यो चलचित्र निर्माण घोषणा गरिएको हो।
खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेने चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, वसुन्धरा भुसाललगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्र घोषणा कार्यक्रममा खगेन्द्रले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई चलचित्रले उठाउने जानकारी दिए।
नायिका स्वस्तिमाले राम्रो टिम र आफ्नो भूमिका मन परेका कारण काम गर्न लागेको बताइन्। निर्देशक अशोक शर्माले ‘जय भोले’ को कथा बलियो रहेको बताए।
शिवरात्रिको दिनबाट छायांकन सुरु हुने चलचित्रको लागत एक करोड ६० लाख बताइएको छ। झापा र इलाममा छायांकन हुने ‘जय भोले’ अर्को वर्षकोे दसैंको फूलपातीमा रिलिज हुने जानकारी कार्यक्रममा दिइयो।
पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य रहने फिल्मको द्वन्द्वनिर्देशकमा रोशनविक्रम भट्टराई रहेका छन्। किरण शर्मा, कृति शर्मा र अंकित शर्मा फिल्मको निर्माता रहेका छन्।