वृद्धाको सामाजिक काम
बिर्तामोड : ८५ वर्षीया तुलसादेवी खरेलको घर चारपानेमा छ। उनी कान्छा छोरासँग नातिनातिना खेलाउँदै खुसीसँग बसेकी छन्। देवघाट, बराहक्षेत्र र भारतको नैनसारंगी घुम्दा उनले असहायलाई सहारा दिन बनाइएका भवन देखिन्। आफ्नो ठाउँमा यस्तै गर्न पाए कति बेस हुन्थ्यो भन्ने सोच उनमा पलायो।
फर्केपछि उनी कन्काई नगरपालिका–२ स्थित धनुषकोटी धाम घुम्न गइन्। तब सेवा गर्ने इच्छा जागेको उनले सुनाइन्।
२०७० सालदेखि उनको ध्यान घरपरिवारभन्दा बढी भवन बनाउनेमा केन्द्रित भयो। दाता खोज्न लागिन्। कन्काई–३ मा धामनजिकै दाताले दुई कट्ठा जग्गा उपलब्ध गराए। त्यसपछि उनी दिन–रात नभनी सहयोग जुटाउन कस्सिइन्। अन्नतः पाँचकोठे पक्की भवन ठडियो। ‘म बूढीले केही गर्न सक्दिनँ भनेर चुपचाप बसेको भए कहाँ यत्रो भवन बन्ने रहेछ त ? ’, उनले भनिन्, ‘इच्छाशक्ति भए जुनसुकै उमेरमा गर्न नसक्ने भन्ने काम नहुने रहेछ।’
भवन बनाउन र सहयोग रकम संकलन गर्न संस्था आवश्यक पर्ने भएपछि उनले सोही क्षेत्रका महिलालाई संगठित गरेकी थिइन्। शान्ति अभियान आमा समूह गठन भयो। जिल्ला प्रशासन कार्यालयमा दर्तापछि समूहले नै सहयोग जुटाएर भवन निर्माण गरेको हो।
अहिले उनी कन्काई क्षेत्रमा ‘मनकारीलाई उमेरले छेक्ने रहेनछ’ भन्ने गतिलो उदाहरण बनेकी छन्। ‘कान्छा छोराले एकपटक यो अवस्थामा धेरै दुःख नगर्नु आमा भनेर पनि सम्झाउन खोज्यो’, उनले भनिन्, ‘तर, मैले आफू लक्ष्यबाट पछि नहट्ने भनेपछि उसले पनि सहयोग गर्यो।’
भवनमा उनी आफैंले दुई लाखभन्दा बढी रकम लगानी गरिन्। दाताको सहयोगसमेत गरी २८ लाख लागतमा भवन ठडिएको उनले सुनाइन्। उनले अब धनुषकोटी धाममा आउनेको सेवा गर्ने सोच बनाएकी छन्। उनका अनुसार भवन निर्माणमा कन्काई नगरपालिका र जिल्ला समन्वय समितिले पनि सहयोग गरेका छन्। भवनमा धार्मिक क्रियाकलापका साथै पीडामा परेकाहरूलाई आ श्रय दिइने उनले बताइन्।