बैतडीमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालक घाइते
बैतडी : चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ। सोमबार राति ९:५०बजे मेलौली- ९ रोकटाका एक बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
घाइते हुनेमा मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेश चन्द रहेका मेलौली नगरपालिका वडा नं ९का वडा अध्यक्ष नारद भट्टले बताए।रातिको समयमा घरभित्रै सुतिरहेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको वडा अध्यक्ष भट्टले बताए।
घाइते बालकको अवस्था गम्भीर रहेकोले उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ। यसअघि गत भदौमा मेलौली ९ कै एक महिलालाई चितुवाले आक्रमण गरी सक्त घाइते बनाएको थियो। २०६८ साल यता तल्लोसोराडमा चितुवाले २३जनाको ज्यान लिइसकेको छ।
चितुवाको आतंक बढेपछि जिल्ला सुरक्षा समितिले पटक पटक प्रहरी खटाए पनि प्रहरीले चितुवालाई मार्न सकेको छैन्। चितुवा प्रभावित क्षेत्रका नागरिकले सो क्षेत्रमा स्थायी प्रहरी चौकीको माग गरेका छन्।
स्थायी प्रहरी चौकी स्थापनाको लागि गृह मन्त्रालयबाट स्वीकृति आउनुपर्ने भन्दै यसको पहल थालिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोसीले बताए।