कर्णालीमा यातायात प्रतिबन्ध खुकुलो
सुर्खेत : रातको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा तीन वर्षपछि केही खुकुलो बनाइएको छ। अब यो राजमार्गमा निजी तथा साना सवारीसाधन रातको समयमा पनि सञ्चालन हुन पाउनेछन्। यस्तै यात्रुवाहक सवारीलाई पनि नरम नीति अपनाइएको छ।
बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो, जसका कारण सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यो राजमार्गमा रातको समयमा यातायात सञ्चालन हुन सकेका थिएनन्। राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा चालकले बढी लापरबाही गरेका कारण दुर्घटना बढेको भन्दै प्रशासनले रोक लगाउँदै आएको थियो।
तर प्रदेश सरकारको गठनसँगै राजमार्गमा रात्रि यातायात खुकुलो बनाइएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले कर्णाली राजमार्गमा यातायात सञ्चालन खुकुलो बनाएको छ। ‘यो राजमार्गमा राति सवारी चलाउन केही खुकुलो बनाएका छौं', प्रदेश ६ प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले भने, ‘अब निजी र साना सवारीसाधनलाई कुनै अवरोध हुनेछैन। यात्रुवाहक र ठूला सवारीमा भने टाइमकार्ड लागू नै छ। त्यसलाई पनि पहिलेको तुलनामा खुकुलो बनाएका छौं।’
अब यात्रुवाहक सवारीसाधन राति १० बजेसम्म सञ्चालन हुन पाउनेछन्। यसअघि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएका थिए। आन्तरिक मामिला मन्त्रालयले यात्रुवाहक ठूला सवारीबाहेक साना सवारीलाई रातको समयमा पनि सञ्चालन गर्न पाउने गरी अनुमति दिएको छ। यस्तै यात्रुवाहक र ठूला सवारीलाई भने राति १० देखि बिहान पाँच बजेसम्म सञ्चालन प्रतिबन्ध कायमै छ।
दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
यात्रुको समस्यालाई दृष्टिगत गरी रात्रिकालीन यातायात केही खुकुलो बनाइएको मन्त्रालयले जानकारी दिएको छ। रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदा यात्रु अलपत्र पर्ने र बीचमै बास बस्नुपर्ने गुनासो आएपछि केही खुकुलो बनाइएको प्रहरीको भनाइ छ।
राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस ट्र्याकिङ) जडान गर्न लागिएको छ। यसले राजमार्गमा प्रहरीको उपस्थिति नभएको र सञ्चार सम्पर्क नभएको स्थानमा हुने सवारी दुर्घटना रोक्न र उद्धार गर्न सहज हुने अपेक्षा गरिएको छ। उक्त सिस्टम जडान भएपछि सवारीको गन्तव्य र अवस्था जानकारी हुनेछ। यातायात व्यवसायीसँग समन्वय भइरहेको र केही दिनभित्रमा यो सिस्टम जडान भइसक्ने प्रहरीको भनाइ छ।
करिब १० वर्षको अवधिमा यो राजमार्गमा सानाठूला गरी हालसम्म एक सय ७० भन्दा बढी दुर्घटना भइसकेका छन्। यसबाट दुई सय ३० जनाको ज्यान गइसकेको छ। यस्तै दुई सय ८० जनाभन्दा बढी यात्रु घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्यांक छ।
अहिले पनि कर्णाली राजमार्गमा १० वर्षअघि सेनाले खोलेको साँघुरो ट्र्याकमै जबर्जस्ती सवारी सञ्चालन भइरहेका छन्। सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकांश भागको चौडाइ तीन मिटर मात्र छ। स्तरोन्नति नहुँदा बर्सेनि यो राजमार्गमा ठूला दुर्घटना हुने गरेका छन्।
सरकारले हरेक पटक दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्दै आएको पनि छ। प्रायः सबै समितिले राजमार्गको अवस्था नाजुक भएकाले स्तरोन्नति नहुँदासम्म सवारी सञ्चालनमा रोक लगाउनुपर्ने प्रतिवेदन बुझाउँदै आएका छन्। तर ती प्रतिवेदन अहिले पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमा थन्किएका छन्। छानबिन समितिका प्रतिवेदन लत्याउँदै त्यही साँघुरो ट्याकमा नै जबर्जस्ती सवारी गुडाइएको छ।