संघर्षमै हुर्कन्छन् डमरु
बर्दिया : विश्वमै लोपोन्मुख एवं दुर्लभ मानिने वन्यजन्तु पाटेबाघ निकै सुन्दर र आकर्षक हुन्छ। तर, आमा (बघिनी)को गर्भवासदेखि वयस्क हुँदासम्म संघर्षका निकै चरण पार गर्नुपर्छ। आहाराको खोजी, भाले बाघको आक्रमणलगायत विभिन्न विपत्तिका कारण डमरुको जीवन संघर्षपूर्ण बन्छ।
प्राकृतिक नियमानुसार बाघको आयु २० वर्षको हुन्छ। भाले बाघ ४ देखि ५ वर्ष र पोथी ३ देखि ४ वर्षमा प्रजननयोग्य हुन्छन्। बघिनीले जुनसुकै महिनामा गर्भधारण गर्न सके पनि प्रायः मंसिरदेखि वैशाखसम्म गर्भधारणको खास समय मानिन्छ। बर्दिया राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार बघिनीको गर्भधारण अवधि साढे ३ महिनाको हुन्छ। बघिनीले गर्भधारण गरेको १ सय ४ देखि १ सय ६ दिनको अवधिमा डमरु जन्माउँछ।
वयस्क बघिनीले २ देखि साढे २ वर्षको फरकमा ४ वटासम्म बच्चा जन्माउँछ। सुत्केरी भएपछि डमरु जोगाउन बघिनीलाई हम्मे पर्छ। ‘एउटा बघिनीले ३ देखि ४ वटा डमरु जन्माउँछन्। डमरुलाई सधैं भाले बाघबाट खतरा हुन्छ’, निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी भन्छन्, ‘भाले बाघले डमरुलाई हिर्काउने, दुःख दिनुका साथै मार्न पनि सक्छ। बघिनीले जन्माएका सबै डमरु हुर्कने सम्भावना न्यून हुन्छ।’
कुनै–कुनै बघिनीबाट जन्मेका डमरु त एउटा पनि बाँच्न पाउँदैन। ‘डमरु जन्मँदा सानोमा आँखा देख्दैन’, भण्डारीले भने, ‘डमरु ६ महिनाको भएपछि मात्र सिकारका लागि माउलाई पछ्याउन सक्छ। आफैंले आहाराको जोहो गर्न नसक्दासम्म डमरुलाई सधैं समस्या हुन्छ।’ उनका अनुसार डमरु विस्तारै अर्धवयस्क भएपछि २ देखि ३ वर्षको उमेरमा आमाबाट अलग्गिएर आफ्नो आधार इलाका बनाउन थाल्छ। बघिनी गर्भवती हुँदा सिकार गर्न गाह्रो हुन्छ। यस अवधिमा सिकारका लागि बघिनीले धेरै संघर्ष गर्नुपर्छ।
पाटेबाघ नेपाल, भारत, बंगलादेश र भुटानमा पाइन्छ। पहिले तराईका जंगल, भित्री मधेस, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ अहिले चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत केही सामुदायिक वनमा मात्र सीमित भएको छ।
बाघलाई दुर्लभ वन्यजन्तु वा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ‘कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इनडेन्जर्ड स्पाइसिस अफ वाइल्ड फाउना एन्ड फ्लोरा (साइटिस)’ को अनुसूची १ मा सूचीकृत गरिएको छ। बाघको ओसारपसार, लेनदेन एवं व्यापारलाई समेत प्रतिबन्ध लगाइएको छ। बाघ ‘इन्टरनेसनल युनियन फर कन्जरभेसन नेचर (आईयूसीएन)’ को रेडडाटा बुकमा दुर्लभ वन्यजन्तुको सूचीमा पनि पर्छ।
बर्दियामा सन् २०१६ मा क्यामेरा ट्र्यापिङ प्रविधिबाट गरिएको अनुगमनमा २९ वटा डमरु र ५६ वटा वयस्क गरी ८५ वटा पाटेबाघ भेटिएका थिए। सन् २०१७ मा गरिएको अनुगमनमा ६२ वटा वयस्क र बाँकी डमरु भेटिए। सन् २०१३ मा नेपालमा गरिएको बाघ अनुगमनमा चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा गरी १ सय ९८ वटा वयस्क पाटेबाघ भेटिएका थिए। सन् २०१८ मा मुलुकभर बाघ अनुगमन भइरहेकाले यसको संख्या बढ्ने अनुमान गरिएको छ।