अवैध बोइलर कुखुरा बरामद
नेपालगन्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका बोइलर कुखुरा प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक राजन गौतमको नेतृत्वको टोलीले अवैधरुपमा ल्याइएका दुईसय ४० बोइलर कुखुरा नेपालगन्ज उप–महानगरपालिको आदर्श नगरबाट बरामद गरेको हो।
प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको साइकल समेत नियन्त्रणमा लिएको छ। भारतबाट अबैधरुपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरु भागेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख गौतमले प्रहरीलाई देखेपछि तस्करले साइकल र कुखुरा छाडेर भागेको जानकारी दिए।
प्रहरीले बरामत गरेका कुखुरा केही मरेको समेत बताएको छ। सरकारले विगत एक दशकदेखि बर्डफ्लुको कारण देखाउँदा भारतीय पंक्षीजन्य वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाए पनि नेपालगन्जलगायतका सीमा क्षेत्रबाट अवैधरुपमा कुखुरा आयात हुने कार्य रोकिएको छैन।
सीमा क्षेत्रका मासु व्यवसायीले भारतीय नाका हुँदै कुखुरा अबैधरुपमा भित्र्याइरहेका छन्। सीमा जाँचका लागि खटिएका भन्सार कर्मचारीहरु भने, अबैधरुपमा भित्रिने यस्ता कुखुरा नियन्त्रणमा कुनै चासो नदिने समेत गरेको पाइएको छ।