मन्त्रिमण्डलको सन्तुलन नमिलेको भन्दै असन्तुष्टि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् समावेशिता तथा भौगोलिक सन्तुलन नमिलेको भन्दै पार्टीका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एमालेबाट ६, माओवादीबाट ११ जना मन्त्री र एमालेबाट तीन राज्यमन्त्री एवं माओवादीबाट एक राज्यमन्त्री नियुक्त गरेका छन् ।
ओलीले समावेशी एवं भौगिक सन्तुलन मिलानमा ध्यान नपुर्याएको गुनासो पार्टीभित्रैबाट आएको छ । आफ्ना गुटकालाई मात्र साथमा लिएर मन्त्रिमण्डल विस्तार गरेकाले सन्तुलन नभएको एमाले नेताहरूकै भनाइ छ ।
प्रदेश १ बाटै एमालेमा प्रधानमन्त्री केपी ओलीबाहेक कोही परेनन् । यहाँबाट योगेश भट्टराईको नाम चर्चामा थियो । स्थायी समितिका २४ जनामध्ये २३ जना मन्त्रिमण्डलमा सहभागी हुँदा पनि पार्टीका सचिवसमेत रहेका भट्टराईको नाम परेन । ओलीले चुनावी प्रचारका क्रममा भट्टराईलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रीमा भानुभक्त ढकालको पनि चर्चा थियो । तर उनी पनि समेटिएका छैनन् ।
ओलीको मन्त्रिमण्डलमा कुनै प्रदेशको प्रतिनिधित्व छैन भने कुनैबाट दुईदुई जना परेका छन् । प्रदेश २ बाट रघुवीर महासेठ र ३ बाट शेरबहादुर तामाङ एवं गोकुल बास्कोटा मन्त्री बनेका छन् । प्रदेश ४ बाट रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्री बनेका हुन् । प्रदेश ५ बाट पनि प्रदीप ज्ञवाली र गोकर्ण विष्ट मन्त्री बनेका छन् । प्रदेश ६ बाट राज्यमन्त्रीमा धनबहादुर बूढा छन् भने ७ बाट कसैको प्रतिनिधित्व छैन । प्रदेश ७ बाट नारदमुनि राना र प्रेमबहादुर आले मगरले मन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश ७ बाट कोही पनि मन्त्री नबन्दा त्यस क्षेत्रका एमाले नेताहरू नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । ओलीले काम गर्न सजिलो हुने गरी मन्त्रिपरिषद् विस्तार गरेको मन्त्रीमा दाबेदारी पेस गरेका आलेको तर्क छ । ‘भौगोलिक सन्तुलन मिलाउन पनि प्रदेश ७ बाट एक जना मन्त्री छनोट भएको भए राम्रो हुन्थ्यो’, उनले भने ।
एमालेमा मात्रै होइन, माओवादीमा पनि प्रदेश र समावेशी सन्तुलन मिलेको छैन । प्रदेश १ बाट कृषि राज्यमन्त्रीमा रामकुमारी चौधरी, २ बाट मातृका यादव, ३ बाट रामबहादुर थापाको सहभागिता रहे पनि ४ बाट कोही पनि प्रतिनिधित्व भएन । प्रदेश ५ बाट वर्षमान पुन, चक्रपाणि खनाल र ६ बाट शक्ति बस्नेत एवं ७ बाट विना मगर मन्त्री बनेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार २५ जना मन्त्री राख्न सकिन्छ । अहिलेको मन्त्रिमण्डलमा राज्यमन्त्रीसहित २२ जना सहभागी भइसकेका छन् । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्नेमा पनि ओलीले कार्यान्वयन नगरेको भन्दै महिला सांसद्हरूले असन्तुष्टि व्यक्त गरेका छन् । ओलीले समावेशितालाई बेवास्ता गरेकोप्रति एमाले नेत्री श्रीमाया थकाली गुनासो गरिन् । ‘राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने हो । तर नेतृत्वले कन्जुस्याइँ गर्दा महिला राजनीतिक नेतृत्वमा सधैं पछि पर्ने स्थिति देखियो’, उनले भनिन्, ‘यो चिन्ताको विषय हो । अब नेतृत्वप्रति समावेशिता कार्यान्वयनका लागि महिला भ्रातृ संगठनले आवाज बुलन्द पार्न ढिला भइसक्यो ।’
प्रतिक्रिया दिनुहोस !