किन प्रदेशमा जान मान्दैनन् कर्मचारी ?

किन प्रदेशमा जान मान्दैनन् कर्मचारी ?

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दैनिकजसो कर्मचारीहरुको सातो लिइरहेका छन् । खटाइएको कार्यालयमा नजाने कर्मचारीको जागिर नै खाइदिनेसहितको चेतावनी पण्डितबाट दैनिक आइरहेको छ।

तर, उनको यो चेतावनीयुक्त भाषणको प्रभाव संघीय मन्त्रालयहरुका सचिवमाथि परेको छैन । एउटै मन्त्रालयमा सचिव र सहसचिवहरु अड्डा जमाएर बसेका छन्, उनीहरु प्रदेश सरकारमा सचिवको जिम्मेवारी लिन तयार नै छैनन् बरु संघीय मन्त्रालयमै महाशाखा प्रमुख भएर बस्ने योजना बनाइसकेका छन् ।

निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहका कर्मचारीहरुको गठजोड यस्तो छ कि उनीहरुले आफू मातहतका कर्मचारीलाई पनि प्रदेशमा जाने बाटो रोकिदिएका छन् । सरकारले प्रदेशमा सचिवस्तरका कर्मचारी राख्ने व्यवस्था गरेको छ ।

सात नम्बर प्रदेशको मन्त्रालयको सचिव बनाएर पठाइएका एक सहसचिव धनगढी जान छोडेर अमेरिका हान्निसकेका छन् । सचिव, सहचिवहरु प्रदेशमा जान तयार नहुँदा प्रदेश सरकारले घोषणा गरेका विकास कार्यक्रम पनि सुरु हुन सकेका छैनन् ।

उल्टै मुख्यमन्त्री र प्रदेश मन्त्रीहरु सचिव र अन्य कर्मचारी खोज्दै सिंहदबारसम्म धाइरहेका छन् । सिंहदरबारलाई गाउँ लाने बाचा गरेका मन्त्रीहरु नै अहिले सिंहदरबारमा कर्मचारी खोज्न बाध्‍य छन् ।

ऐन, कानुन अलपत्र

सचिवहरु प्रदेशमा नगइदिँदा ऐन, कानुन र नीति निर्माणका काम समेत अवरुद्ध छन् । सचिवहरु नै नगएपछि तल्लो तहका कर्मचारी पनि गएका छैनन् । सचिवसहित कर्मचारी नजाँदा प्रदेश अपाङ्ग जस्तै भएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावल केन्द्रबाट खटाइएका सचिवहरु अहिलेसम्म नआएको बताउँछन । ‘आउनुपर्ने सचिव नै हो तर सह-सचिवलाई खटाइएको छ', उनले भने, 'तर उनीहरु प्रदेशमा अझै आइपुगेका छैनन् ।’

उनी नयाँ संरचनामा सचिव अतिआवश्यक रहेको बताउँछन् । ‘नयाँ ऐन,कानुन, नीति, नियम बनाउनुपर्नेछ, सचिव नभई हुँदैन, तर खै ! उहाँहरु कता हुनुहुन्छ’, उनी भन्छन् ।

मन्त्री रावल राज्यले खटाएको ठाउँमा जानु कर्मचारीको दायित्व रहेको बताउँछन् । उनले प्रदेशले तत्काल सचिवसहितका कार्मचारी पठाउन पटक पटक केन्द्र सरकारलाई अनुरोध गरेको पनि बताए । ‘हामीले सचिवसहितका कर्मचारी नहुँदा काम गर्न अठ्यारो भयो भनेर केन्द्र सरकारलाई पटक पटक गुनासो गरिसकेका छौँ,’ रावलले भने ।

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको गुहार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सातै प्रदेशका मुख्यमन्त्रीहरुले सचिवसहितका कर्मचारीहरु तत्काल खटाइदिन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओली र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री पण्डितले समेत सचिव लगायत सबै कर्मचारीलाई खटिएको ठाउँ तत्काल जान निर्देशन दिएका छन् । तर उनीहरु सम्बन्धित प्रदेशमा पुगेका छैनन् ।

मुख्य सचिवको असहयोग ?

ओली नेतृत्वको सरकारलाई मुख्य सचिव लोकदर्शन रेग्मीको असहयोग गरेले सचिवसहितका कर्मचारी नगएको चर्चा पनि छ । रोलक्रम मिचेर निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले रेग्मीलाई मुख्य सचिव बनाएका थिए ।

उनले ओली सरकारलाई असहयोग गरेको भन्दै मन्त्रीहरुले नै असन्तुष्टि जनाइरहेका छन् । अहसयोग गरेको भन्दै मुख्यसचिव परिवर्तन गर्ने दबाब समेत प्रधानमन्त्रीलाई मन्त्रीहरुले दिइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रालय सचिवहरु नै खटिएको ठाउँमा नपुगेको गुनासो आएको स्वीकार गरे । उनी मन्त्रालयले ७ विशिष्ट श्रेणीका सचिवसहित १ हजार बढी कर्मचारी प्रदेशमा खटाएको बताउँछन् ।
भौतिक योजना मन्त्रालयमा खटिएका सचिवहरु त कुनै पनि प्रदेशमा गएका छैनन्, मन्त्रालयमा त्यस्तै अवस्था छ । भौतिक योजना मन्त्रालय सचिवले कर्मचारीलार्य रमाना नदिएर मन्त्रालयमा नै हाजिर गर्न दिएका कारण उनीहरु सम्बन्धित प्रदेशमा नगएका हुन् ।

‘हामीले खटाउने काम गर्यौं, तर रमाना दिने काम सम्बन्धि मन्त्रालयको हो, उहाँहरुले यही (केन्द्रीय मन्त्रालय)मा हाजिर गराइदिएपछि समस्या भयो,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन् । उनले ८० प्रतिशत कर्मचारी सम्बन्धित प्रदेशमा गएको जानकारी मन्त्रालयमा आएको दाबी गरे ।

मन्त्री पण्डितले कर्मचारीलाई सम्बन्धित प्रदेश नगएका कडा कारवाही गर्ने चेतावनी दिइसकेको प्रवक्ता न्यौपाने बताउँछन् ।

यस्तो छ व्यवस्था

प्रवक्ता न्यौपानेका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा विशिष्ट श्रेणीको सचिवस्तरको कर्मचारी व्यवस्था गरिएको छ । अन्य छ वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभाको सचिवालयमा प्रथम श्रेणीका सह-सचिवस्तरको कर्मचारीलाई ‘सचिव’को रूपमा रहने गरी अस्थायी संरचना तयार गरिएको छ । त्यही व्यवस्था अनुसार उनीहरुलाई खटाइएको छ ।

कति कर्मचारी चाहिन्छ ?

मुख्यमन्त्रीको कार्यालयमा सचिवसहित २९ कर्मचारीको व्यवस्था गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २९ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा २७, सामाजिक विकास मन्त्रालयमा ४१, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ३८, उद्योग र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ कर्मचारी रहने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रदेश प्रमुखको कार्यालयमा २९ र प्रदेश सचिवालयको कार्यालयमा ३४ जनाका दरले प्रत्येक प्रदेशमा राख्ने व्यवस्था गरिएको छ ।

को कहाँ खटिए ?

सरकारले सातै प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी खटाएको छ । सरकारले मुख्यमन्त्रीको कार्यालयमा प्रदेश १ मा यादवप्रसाद कोइराला, प्रदेश २ मा राजेश्वरमान सिंह, प्रदेश ३ मा रश्मीराज पाण्डे, प्रदेश ४ मा लक्ष्मण अर्याल, प्रदेश ५ मा शंकर पाठक, प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराम पौडेललाई खटाएको छ ।

प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएका ७ सचिवहरु सम्बन्धित प्रदेशमा गएर काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । ‘मुख्यमन्त्री कार्यालयका सातजना सचिवहरु गइसक्नु भएको छ, मन्त्रालयका सचिवमा मात्र समस्या हो', न्यौपानेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.