कालीगण्डकीमा नुहाउँदा डुबेर एकको मृत्यु
तानसेन : कालीगण्डकी नदीमा डुबेर शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट–१ रमीडाँडाका २० वर्षीय दलबहादुर घर्ती रहेका छन ।
घर्ती कालीगण्डकी करिडोर रामपुर नगरपालिका–१ साखर्दी पुल निर्माणको काममा पाल्पा आएका थिए । उनको नुहाउने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
शनिबार दिउँसो साथीहरुसँगै लिटिपिरिङ घाटमा नुहाउन गएका घर्ती चिप्लीएर गण्डकीमा डुबेको बताइएको छ । झण्डै पौने घण्टा सम्म पानी भित्रै बेपत्ता भएका घर्तीलाई स्थानिय युवाले नदीबाट अचेत अवस्थामा उद्धार गरेका थिए ।
घर्तीलाई उपचारको लागि रामपुर अस्पतालमा पुर्याएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।