माटाका भाँडाबाट गुजारा
तेह्रथुम : म्याङलुङ नगरपालिका नाकदहका चन्द्रबहादुर श्रेष्ठको दैनिकी माटोसँग खेल्नु हो। उनको हरेक दिनको सुरुवात माटो छोएरै हुन्छ। उनी साँझ अबेरसम्म पनि माटोकै काम गरिरहेका हुन्छन्। मानौं, उनको जिन्दगी नै माटो हो।
उनको दिनचर्या काँचो माटो मुछेर नयाँ-नयाँ सामग्री तयार गर्नु हो। उनले माटाका घरेलु सामग्री बनाउन थालेको ५० वर्ष भयो। उनी अहिले उमेरले ५८ वर्ष पुगे। ‘मैले सानो छँदा नै माटाका भाँडाकुडा बनाउन सिकेको हुँ’, उनी भन्छन्, ‘मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो। यसलाई मैले पैतृक अंश मानेको छु।’
यहाँको नेवार समुदाय भक्तपुरबाट १८०० सालतिर आएर तेह्रथुममा बसोबास गर्न थालेको जनाइएको छ। भक्तपुरमा नेवार समुदायले माटाका सामग्री बनाएर गुजारा चलाउने गर्थे। चन्द्रका पुर्खाले तेह्रथुम आएर पनि माटाका सीपबाटै गुजारा चलाउन थाले। चन्द्रका बुवा गजवीर श्रेष्ठले सानै उमेरदेखि यही पेसा अँगाले। यही पेसाबाट गुजारा चलाएका गजवीरले आफ्ना सीप छोरा चन्द्रलाई हस्तान्तरण गरे।
आर्थिक अवस्था कमजोर भएपछि विद्यालय पढ्न नपाए पनि चन्द्र माटाका सामग्री बनाउन जानेकोमा दंग थिए। त्यस बेला अहिलेजस्तो प्लास्टिक र धातुका भाँडाकुडा र घरायसी सामग्री पर्याप्त थिएनन्। उनले बनाएका सामान बिक्री गर्न बजारको समस्या थिएन। यही सीपको कमाइबाट उनले परिवारको गुजारा चलाउँदै आए।
‘पहिले पाँच रुपैयाँ पर्ने सामान अहिले पाँच सयमा बिक्री हुन्छ’, उनी भन्छन्, ‘जति खट्यो उति धेरै पैसा हुन्छ।’
माटाका सामग्री बेचेरै अहिले मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनी सुनाउँछन्। बुवासँग छुट्टिँदा १७ प्रकारका सामान बनाउन सिकेका चन्द्रले अहिले ५० भन्दा बढी खालका घरायसी सामग्री बनाउँछन्। उनका उत्पादनमा खुत्रुके, दियो, गमला, धुपौरो, पाला, घडा, मटिया, यागाङमा, नानिमा, गाग्रोलगायत छन्।
‘स्थानीय बजारदेखि धनकुटा, पाँचथर, संखुवासभा, ताप्लेजुङ र इलामबाट पनि सामानको अर्डर आउँछ’, उनी भन्छन्, ‘खुत्रुके, दियो, गमला, धुपौरो पाला र घडा बढी बिक्री हुन्छ। त्यसमा पनि सजावटका सामान ग्राहकको रोजाइमा पर्छ।’
म्याङलुङका चन्द्रबहादुर श्रेष्ठले माटाका भाँडाकुडा बनाएरै परिवारको गुजारा चलाएका छन्। तर, यो पेसालाई निरन्तता दिने कोही भेटिएका छैनन्।
उनका अनुसार माटाका भाँडाकुडा बनाउन मुख्य भूमिका चक्रको हुन्छ, जसलाई कुमालेको चक्र भनिन्छ। यो काठको टुक्रा जोडेर बनाइएको हुन्छ। चन्द्रले गाडीको चक्काबाट चक्र बनाएका छन्।
सामान बनाउन तीन किसिमको माटो चाहिने उनी सुनाउँछन्। कालो चिम्ट्याइलो, लसाइलो र कालो फुस्रो। यी माटो मिलाएर चक्रकोे सहारामा सामान तयार गरिन्छ। एउटै सामानमा १३ भन्दा बढी प्रकारका बुट्टा डिजाइन गर्न सकिने उनी बताउँछन्।
पाँच जना सन्तानका अभिभावक चन्द्रले पुख्र्यौली सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न भने सकेका छैनन्। ‘पहिले जीवन चलाउन यो सीप सिक्नै पर्दथ्यो’, उनी भन्छन्, ‘मेरा छोराछोरी सबै जागिरे छन्, माटोको सीप कसैले जान्दैनन्।’
विभिन्न ठाउँमा पुगेर माटाका सामग्री बनाउने तालिम दिए पनि कसैले पनि यो पेसालाई निरन्तरता दिन नसकेको उनको गुनासो छ। ‘तालिम तालिममै सीमित रह्यो’, उनी भन्छन्, ‘म मरेपछि यो सीप पनि मर्छ होला।’
यो पेसाको निरन्तरताका लागि इच्छुकलाई अझै तालिम दिने विचार रहेको उनको भनाइ छ। भन्छन्, ‘अब पहिचान नै गुम्ने डर छ।’