दोस्रो क्वालिफायर आज
धनगढी : वर्षाका कारण बुधबार स्थगित भएको धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो क्वालिफायर खेल बिहीबार हुने भएको छ । बुधबार अबेरसम्म चलेको खेल हावाहुरीसँगै पानी परेपछि स्थगित भएको थियो । डीपीएल प्राविधिक कमिटीका प्रमुख तथा अम्पायर देवेन्द्र सुवेदीले बिहीबार फेरि टस हुने र पूरै खेल हुने निर्णय गरिएको बताए ।
बुधबार बिहान टस जितेर काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ब्याटिङको निम्तो दिएको थियो । दुई ओभरको खेलमा महेन्द्रनगर युनाइटेडले आठ रन बनाएका बेला हावाहुरीसँगै पानी परेको थियो । महेन्द्रनगर युनाइटेडका कप्तान विनोद भण्डारी र आसिफ सेखले खेलिरहेका बेला पानी परेको हो ।
बुधबार पनि साढे १२ बजेबाट सुरु भएको खेल १ नबज्दै पानी परेपछि स्थगित गरिएको थियो ।
प्राविधिक कमिटीले बिहीबार फेरि टस हुने जनाएको छ । केही दिनदेखि धनगढीमा पानी परिरहेको छ । मौसम विज्ञान विभागले बिहीबार पनि बदली रहने र केही स्थानमा पानी पर्ने जनाएको छ । बिहीबार पनि खेल स्थगित भएमा ९ अंकका साथ लिग चरणको शीर्ष स्थानमा रहेको काठमाडौं सीधै टीम चौराह धनगढीसँग फाइनलमा भिड्नेछ ।
प्रतिक्रिया दिनुहोस !