सम्बोधन

सम्बोधन

नारायणगोपालको स्वर र दीपक जंगमको शब्द र संगीतको ‘तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ’ गीत मलाई साह्रै नै मधुर लाग्छ। उपमाको हिसाबले हैन, सम्बोधनको हिसाबले सोचौं त। कस्तो महसुस हुन्थ्यो होला, हामीलाई गरिने सम्बोधन हामीले चाहेजस्तो हुने भए। हामीलाई सम्बोधन गर्दा होच्याउने हिसाबले नभई सम्मान दर्शाउने भएमा साँच्चै नै गज्जब हुने थियो। तथापि वास्तविक जीवनमा गरिने सम्बोधन भने कतिपय अवस्थामा साह्रै कटु हुन्छन्। सम्बोधनसम्बन्धी मैले देखेका केही घटनाको दृष्टान्त यहाँ प्रस्तुत गर्छु :

म करिब ६ वर्षको हुँदा बर्खे बिदा पारेर साथीको घरमा बस्न गएको थिएँ। भोलिपल्ट सबेरैदेखि नै घरमा निकै चहलपहल थियो। रोपाइँको चटारो रहेछ। ढोकाको ठीकबाहिर एक अधबैंसे उमेरका व्यक्ति थिए। सिलटको थालमा सेतो डल्लो भातमाथि कालो दाल खन्याएर उनी भात मुछ्दै थिए। धपेडी गरेर कतैबाट आएका थिए कि खाना तातो थियो। उनको अनुहारभरि नै पसिनाका दाना थिए, बरर्र परेका मसिना, मसिना। विस्तारै पसिनाका थोपा नाकबाट र चिउँडोबाट झर्नै लाग्दा उनी टोपी निकालेर पसिना पुछ्दैथिए। ढाका टोपी पनि एकातिर फाटेको थियो। हतारिँदै खाना खाँदै गरेका उनको अनुहार अब त रातो भइसकेको थियो। काकी (साथीकी आमा) भन्दै थिइन्, ‘हली, ल ल छिटो खाऊ, बेलैमा मेलो सक्नुपर्छ।’ काकीले खाना खाउन्जेल पनि कस्तो हतार गराएको होला भन्ने लाग्यो।

हाम्रो घरमा पनि खेतको काममा सहयोग गर्ने एक हजुरबुवा हुनुहुन्थ्यो। मलाई आजसम्म पनि उहाँको नाम के थियो थाहा छैन, उहाँ मेरो हजुरबुवाभन्दा उमेरले अलि कान्छो हुनुहुन्थ्यो। हामी उहाँलाई हजुरबुवा भनेर नै बोलाउँथ्यौं। खै, मलाई के लागेछ कुन्नि ? घर पुग्नेबित्तिकै बुवालाई सोधेँ, ‘हजुरले खेतमा काम गर्ने हजुरबुवालाई हली भनेर किन नबोलाउनुभएको, मेरो साथीका घरमा त त्यसै भन्दा रहेछन्।’

मेरो कुरा सुनेर उहाँ सरासर भित्तामा झुन्ड्याइएको मेरो हजुरबुवाको तस्बिर अगाडि गएर एकटकले हेर्नुभयो। बुवाले गम्भीर मुद्रामा मलाई सम्झाउनुभयो, ‘उहाँले काममा सहयोग नगरे त सायद हाम्रो खेतबारी नै बाँझै हुन्छ। खानाको थाल पनि खाली हुन्छ। हाम्रो घरमा भित्रिने प्रत्येक अन्नमा उहाँको देन छ। उहाँकै सहयोगमा गोरु, खेतालादेखि बीउ, ब्याड, सिँचाइसम्मको बन्दोबस्त हुन्छ। तिमीलाई थाहा छ नि हैन ? म चाहन्छु, म जुन सम्मानले उहाँलाई पिता समान मान्छु, काका भनेर सम्बोधन गर्छु। तिमी पनि उहाँलाई त्यही श्रद्धाका साथ हजुरबुवा समान मान, आजसम्म जसरी हजुरबुवा भनी सम्बोधन गर्छौ, त्यसरी नै गर। अबदेखि यस्तो कुरा कहिल्यै नगर है नानी।’

मैले ‘हस्’ भन्दै टाउको हल्लाएँ। त्यति दुःख गर्ने हजुरबुवालाई बिनासित्तीमा त्यसो भनेछुजस्तो पो लाग्यो। अनि मेरी साथीकी आमाको व्यवहार देखेर रिस पनि उठ्यो, खेतदेखि थालसम्म अन्न ल्याउनेलाई नै खाने बेलासमेत सुख नदिने कस्तो मान्छे।

रौतहट, गौरका मधेसी मूलका केशरीलाल दाइ गाउँमा तरकारी बेच्नुहुन्थ्यो, टोकरीमा लगेर। गाउँमा तरकारी त धेरैले बेचे तर केशरीलाल दाइ अरूभन्दा अलग थिए, ‘जरा हट्के’। उहाँले गाउँमा नपाइने सामान सहरबाट ल्याइदिने र गाउँमा धेरै उत्पादन हुने सामान सहर लग्ने हुँदा गाउँले सबैले उहाँलाई निकै सराहना गर्थे। हाम्रो घरमा मान्छे नभेट्दा तरकारी अड्कलेर छोड्नुहुन्थ्यो। तर, हिसाब भने एकमुष्ठ रूपमा उहाँ घर फर्किने बेला मात्र गर्नुहुन्थ्यो। एक दिन उहाँले तरकारी जोखेर हाम्रो घरभित्र राख्नै लाग्दा भर्खर मात्र तरकारीको पसल खोलेका मेरा छिमेकीले उनलाई बेस्सरी हपारेछन्। केशरीलाल दाइ पनि के कम। उनले भनेछन्, ‘मलाई यहाँको दिदीले तरकारी राखिदिनु भनेर राखेको। म तरकारी त्यसै थोडी राखेछु, दिदीसँग भएको सल्लाह मुताविक न राखेछु।’ छिमेकीले भर्खर पसल राखेका थिए। उनको नयाँनयाँ जोश थियो, बजार आफ्नो बनाउन हैकम हैन, युक्ति लगाउनुपर्छ भन्ने हेक्का उनलाई थिएन सायद। उनले रिसको झोँकमा समुद्र पारिबाट आएको विदेशीलाई ठेगाना लगाइदिने भन्दै टोकरी नै उल्ट्याएर तरकारी फालिदिएछन्।

केशरीलाल दाइले भनेछन्, ‘यो घरको दिदी मलाई भाइ भन्नुहुन्छ, उहाँको छोरीले मलाई दाइ भन्नुहुन्छ, मेरो घर रौतहट हो, म त नेपाली हो, अहिले नै भनेछु दाइ, तिमी पनि मलाई चिनिहाल। नेपालीलाई नेपालमा हिँड्न, व्यापार गर्न वा बसोबास गर्न रोक्ने तिमी को ? नेपालीलाई नेपालमा नै विदेशी भन्ने तिमी पो बरु कुन देशको हो, नेपाली हो कि हैन ? ’ यस्तो उत्तर सुनेर मेरा छिमेकी अवाक् भएछन्। स्कुलबाट फर्कनेबित्तिकै यो घटना सुन्दै गर्दा मैले सोचेँ, ममीले भाइ भन्ने उहाँलाई मैले मिलाएर साइनो लगाएको भए मामा भन्नुपथ्र्यो। मैले दाइ भन्ने साइनो लगाएको मिलेको त थिएन तर त्यो दाइ सम्बोधनले कति मिठास घोलेको रहेछ हामीमाझ भन्ने लाग्यो।

हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?

कलेजमा साथीहरूमाझ नामले बोलाइनु सामान्य हो। तर, एकजना साथीले आफ्नी समकक्षी साथीलाई बोलाउने नामको अगाडि गार्ड जोडेको पाएपछि मलाई अनौठो लाग्यो र नरमाइलो पनि। हाम्रा कैयौं साथी बिहान कलेज पढेर दिउँसो सहर डुल्थे, आनन्दले बस्थे। तर यो साथी भने बिहानमा हामीसँगै पढेर दिउँसोको समयमा सुरक्षा गार्डको काम गर्थे, कलेजमा नै। उनले समय व्यवस्थापन गरेर पढाइका अलावा कामसमेत गरेकोमा हामीले त उनलाई प्रोत्साहन गर्नुपर्ने हो नि। मलाई लाग्यो, साथी आफ्नो व्यावसायिक जीवनमा जेसुकै काम गर्ने भए पनि कक्षाका लागि ऊ विद्यार्थी र साथीका लागि केवल साथी हुनुपर्ने अनि सोहीअनुसार नै सम्बोधन गरिनुपर्ने हो। मैलै साथीहरूलाई पनि यही भनेँ, साथीहरू पनि कन्भिन्स भए सायद। त्यसपछिका दिनहरूमा उनलाई सम्बोधन गरिँदा गार्ड भनेको सुनिएन।

कार्यालयमा एकजना साथीले समकक्षीलाई चालक दाइ भनेर बोलाउँदै थिए। मैले उनलाई पदले नबोलाई नामले बोलाउन सुझाएँ। उनी त उल्टै तर्क पो गर्न थाले, ‘गाडी चलाउनेलाई चालक नभन्नु ? ’ कतिपय बेलामा पेसाको माध्यमले पनि चिनिन्छ। तर, व्यक्तिको सम्पूर्ण परिचय केवल एउटा पेसा मात्र पनि त हैन। एक व्यक्ति अनेक पेसामा संलग्न हुन सक्छ। कामकै आधारमा वा उसले कामको लागि प्रयोग गर्ने औजारका आधारमा सम्बोधन गरे कसैलाई फोन, कसैलाई कुचो, कसैलाई कलम, कसैलाई कागजबाट चिनाउन पर्ला नि भनेर प्रतिप्रश्न तेस्र्याएँ। केही बेरको आनाकानीपछि बल्ल उनी आश्वस्त भए।

‘के छ कमला, हालखबर कस्तो छ ? ’

फोनमा कसैले यसरी कुरा गर्दा यो वार्तालाप कुनै समकक्षी, साथी वा छिमेकीको वार्तालाप होला भनी सोच्नु स्वाभाविक नै हो। हो, मैले पनि स्वाभाविक ढंगले नै सोचेँ तर हैन रहेछ, यो वार्तालाप त एउटी छोरीले आफ्नी आमासँग गरेको पो रहेछ। यस्तो आवश्यकता आखिर किन, आमालाई नि कसैले नामले बोलाउँछ ? भन्ने प्रश्नमा उसको उत्तर निकै घतलाग्दो थियो। उसले भनी, मेरी आमाको परिचय एकपछि एक गर्दै माइतीकी नानी, घरकी दुलही (बुहारी), उसको बाबुकी पत्नी, मलगायत मेरा दाइदिदीकी आमाको रूपमा फेरिँदै गयो। नागरिकतामा उल्लेख भएको मेरी आमाको नाम कमलाको अस्तित्व केवल नागरिकतामा मात्र सीमित भयो।

उहाँको नामको सार्थकता जोगाइराख्न भए पनि आमालाई गर्ने प्रत्येक सम्बोधनमा आजकल म उहाँको नाम लिन्छु। आमालाई नामले बोलाउने तरिका कस्तोकस्तो सुनिए पनि उसले कारण बताएपछि उसले आमाको नामकोे प्रयोग गर्ने सम्बन्धमा निकालेको जिकिर भने मनासिब नै लाग्यो। हामीलाई हाम्रो नामले कसैले पनि बोलाएन भने कस्तो लाग्ला ? नाम भनेको पहिचान पनि हो, अस्तित्व पनि हो। वास्तविक नामले बोलाइनुले साँच्चै धेरै फरक पार्छ। आज पनि जब पहिचानको नाराको राजनीतिक मुद्दा पृष्‍ठभूमिमा सुन्छु वा कमला नाम सुन्छु, मानसपटलमा साथीको अनुहार घुमिरहन्छ।

अझै पनि काले, पोक्चे, डल्ले, भुन्टे, टुटुल्के, तिखे, नेप्टी, चेप्टी, काली, सेती, बाटुली, मसिनी या यस्तै नाममा परिचय बोकेर त्यतिमा नै जीवनको यात्राबाट वि श्राम लिने धेरै छन्। अझ भनौं, त्यसको लेखाजोखा नै छैन। यसो सोच्दा नाम, काम, परिचय र सम्बोधन बीचको साइनो जेलिएको लाग्छ। खेत जोतेर अन्न उत्पादनमा सहयोग गर्ने दाइको प्रसंग होस् वा सायदै नामबाट सम्बोधन गरिएकी मेरी साथीकी आमा, घरदेखि टाढा आफ्नै देशमा जीविकोपार्जनका लागि खट्ने, श्रमको सम्मान हैन, विदेशीको रूपमा अपमानजनक व्यवहार गरिएका केशरीलाल दाइ हुन् वा आफ्नै सहकर्मीबाट कार्यको नामले सम्बोधित कर्मचारी वा सहपाठीबाट साथीका रूपमा नभई गार्डका रूपमा सम्बोधित साथी, यी सबै हामीले दैनिक जीवनमा देख्दै र भोग्दै आएका घटना नै हुन्।

काम भनेको हाम्रो जीवनको एउटा पाटो हो, पूर्ण पाटो हैन। तसर्थ, हामीले गर्ने काम मात्रै पनि हाम्रो पूरा परिचय हैन। अतः हिस्सा आफैंमा पूर्णता हैन। हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अब अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.