मौलिक विकासका उदाहरण

मौलिक विकासका उदाहरण

हाल नवउदारवाद र मानव विकाससम्बन्धी अवधारणाका बारेमा बहस भइरहेको छ। सन् २०३० सम्म गरिबी अन्त्यदेखि शान्तिसुरक्षा र न्याय प्रत्याभूतिका लागि साझेदारी गर्न १९३ देशले स्वीकृति जनाइसकेका छन्। यहाँसम्म आइपुग्दा फरक राजनीतिक दर्शन, भौगोलिक संरचना र राजनीतिक पद्धति भएका मुलुकहरू विभिन्न तरिकाले आफूलाई समृद्ध बनाउन सफल भएका देखिन्छन्। अहिले समृद्ध मुलुकहरूको विकास अभ्यास हेर्दा दर्शनभन्दा पनि मूलतः राजनीतिक दल र नेतृत्वको आचरणलाई मुख्य मान्न सकिन्छ। सन् १९६५ बाट करिब तीन दसक सिंगापुरको नेतृत्व सम्हालेका ली क्वान यु र सिंगापुरको सफलता यसको उदाहरण हो।

ली क्वान यु र सिंगापुर

सन् १९६० मा राष्ट्रसंघको आग्रहमा गरिब टापुको गिर्दो अर्थतन्त्र सुधारका निम्ति डच अर्थविद् डा. अल्बर्ट विनसेमिसलाई खटायो। अध्ययनको सारांशमा विनसेमिसले एसियाको अँध्यारो कुनामा सानो गरिब बजार भनी सिंगापुरको बारेमा आफ्नो अध्ययनको निष्कर्ष निकालेका थिए। सन् १९६३ अगस्त ३१ मा बेलायतबाट छुट्टिएर मलेसियामा गाभियो र सन् १९६५ अगस्त ९ मा मात्र सिंगापुर औपचारिक रूपमै स्वतन्त्र राष्ट्र बन्यो। तत्कालीन समयमा ३० लाखभन्दा बढी मानिस निरपेक्ष बेरोजगार थिए। चरम पिउने पानीको अभाव, अव्यवस्थित मानव बस्ती र फोहोरले आक्रान्त सिंगापुर प्राकृतिक स्रोत र साधनले पनि ठगिएको मुलुक थियो।

उनै अर्थविद् डा. अल्बर्ट विनसेमिसलाई आफ्नो आर्थिक सल्लाहकारका रूपमा अगाडि सार्दै स्वतन्त्र मुलुकको पहिलो प्रधानमन्त्री ली क्वान युले आफ्नो तीन दशकको कार्यकालमा त्यै एसियाको अँध्यारो कुनाको सानो गरिब बजारलाई विश्वको तेस्रो ठूलो प्रतिव्यक्ति आय (करिब ७९ हजार डलर) भएको समृद्ध मुलुकका रूपमा विश्वभरि परिचित गराए। मुख्यतः विनसेमिसको पाँच चरणमा सिंगापुरको अर्थतन्त्रको विकास गर्ने योजना र ली क्वान युको कुशल राजनीतिक नेतृत्व यसको मुख्य कारण थियो। आधारभूत उद्योगको सिर्जनादेखि बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षण, इलोक्ट्रोनिक्स वस्तु उत्पादनमा जोड, विश्व आर्थिक केन्द्र बन्ने र विश्व पारवहन केन्द्र बन्ने विनसेमिसका पाँच चरणका योजना थिए।

फलस्वरूप सिंगापुरमा आज करिब ३५ हजारजति बहुराष्ट्रिय कम्पनीहरू सञ्चालित छन्। कुल जनसंख्याको आधाभन्दा बढी ३२ लाख सीपयुक्त श्रमशक्ति छ। कुल गार्हस्थ उत्पादन तीन खर्ब डलरभन्दा बढी छ। जघन्य अपराध र भ्रष्टाचार न्यून छ। वर्तमानमा सिंगापुर विश्वभरमै सफा र समृद्ध सहरका रूपमा प्रसिद्ध छ। मुलुकको स्रोत र साधनको अनुसन्धान गरी त्यसैको उच्चतम प्रयोगबाटै मुलुक समृद्ध बन्न सक्ने कुरा कोरिया र किम योङ कीको अभियानले पनि देखाउँछ।

सेमाउल उन्दोङ अभियान र किम योङ की

कोरियन भाषामा से, माउल र उन्दोङ भन्नाले नेपालीमा नयाँ, गाउँ र अभियान भन्ने अर्थ लाग्छ। समाज सुधारक किम योङ कीले सन् १९३२ देखि कोरियामा यो अभियान सञ्चालन गर्दै आएका थिए। सेमाउल उन्दोङ गरिबी निवारण र समृद्धिका लागि सञ्चालन गरिएको अभियान हो। देशका सबै जनतालाई राम्रो शिक्षा, खाना, लाउन र सुरक्षित तथा सुविधाजनक घरमा बस्न पाउन भन्ने उद्देश्य राखिएको थियो। सन् १९४५ देखि १९७० सम्म किसान किम योंगीले कनान फार्म स्कुलमार्फत यसबारे तालिम दिएका थिए।

किमको यो अभियानलाई सन् १९७० अप्रिल २२ मा दूरदर्शी सैनिक शासक पार्क जङले सरकारी रणनीतिका रूपमा मान्यता दिँदै सबै देशबासीलाई उक्त अभियानमा सामेल हुन आह्वान गरे। उनको नेतृत्वको सरकारले त्यसै वर्ष उन्नत गाउँ निर्माणका निम्ति ‘दश परियोजना’ को कार्य सम्पादन निर्देशिका जारी गरी सामुदायिक विकासका लागि भौतिक सामग्री ३३ हजार दुई सय ६७ गाउँमा बाँडेको थियो। अर्कोतिर समुदायका अग्रजहरूदेखि सरकारी कर्मचारीलाई भ्रष्टाचार नियन्त्रणदेखि सुशासनसम्मका विषयमा तालिम व्यवस्था गरिएको थियो। भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिएका थिए।

छोटो समयमै सेमाउल उन्दोङ अभियानले समाजप्रति समर्पित जागरुक नेतृत्व तयार पा¥यो। जनतालाई स्वतस्फूर्त जग्गादान, श्रमदान, सामग्री दान गर्ने उत्प्रेरणा दियो। हरेक गाउँ वा एकाइमा कृषिमा आधारित एक सेमाउल उद्योग अनिवार्य खोल्नुपर्ने अभियानले तीव्रता पायो। यसले जुन कारण एकातिर गाउँको आय बढाउने काम ग¥यो भने रोजगारका अवसर सिर्जना गर्‍यो। फलस्वरूप अभियान लागू भएका गाउँले जनताको आय विस्तारै बढ्न थाल्यो। पाँच वर्ष नपुग्दै अभियान सञ्चालन गरिएका ग्रामीण समुदायका जनताको आय बढेर सहरी परिवारसरह पुग्यो।

सन् १९७४ देखि उक्त अभियान सहरमा पनि लागू गरियो, जसको कारण औद्योगिक क्षेत्रहरूको विकास तीव्र रूपमा हुन गयो। सहरमा उद्योगहरूको विकास हुँदा पनि सरकारले उद्योग उत्पादनहरूका लागि काम लाग्ने सेमी प्रोडक्टसम्बन्धी कम्पनीहरू बढी गाउँमै स्थापना गर्ने नीति लियो। यो नीतिले गाउँ र सहरलाई जोड्ने र गाउँको विकास र रोजगारमा टेवा पु¥याउने काम गर्‍यो। सरकारी स्रोतअनुसार सन् १९७० मा ८३ करोड डलर निर्यात गरेको कोरियाले सन् १९८० मा १७ अर्ब डलरको उत्पादन निर्यात गर्‍यो।

सरकारले कृषिविज्ञलाई देशभर परिचालन गरेर कृषि तालिम प्रदान ग¥यो। यो तालिमले जनतामा परम्परावादी कृषि प्रणालीलाई विस्थापित गरी कृषिमा आधुनिकीकरणसम्बन्धी चेतनाको विकास गराइदियो। फलस्वरूप अहिले कोरिया २/३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ।

अन्त्यमा

संविधानसभाबाट नयाँ संविधान जारीपश्चात् मुलुकमा आर्थिक समृद्धिको नारा बहसका रूपमा अगाडि आएको छ। अहिले राजनीतिक दलहरूले भनेजस्तै आर्थिक समृद्धि अबको राजनीतिक यात्रा हो। राजनीतिक अस्थिरताको अन्त्य भएको छ। अस्थिर सरकारलाई विकासको अवरोध ठान्ने वाम गठबन्धनलाई करिब दुईतिहाई जनमत प्राप्त भएको छ। प्रतिनिधिसभाको तीनचौथाइ मतबाट केपी ओली प्रधानमन्त्री बनेका छन्। उनको सरकारलाई यस्ता उदाहरण काम लाग्न सक्छन् समृद्धितर्फको यात्रामा।

जबसम्म मौलिक विकासको अभ्यासको गरिँदैन, तबसम्म मुलुक समृद्ध बन्दैन। अत मुलुक समृद्ध बनाउन मुलुकका स्रोतसाधनको खोज, विकास आयोजनाहरूको प्राथमिकीकरण, आन्तरिक दक्ष जनशक्तिको उत्पादन र प्रयोग गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.