कुखुराको तस्करी बढ्यो

कुखुराको तस्करी बढ्यो

लहान : सिरहामा भारतबाट अवैधरूपमा कुखुरा तस्करी गर्ने गिरोह नै सक्रिय भएको छ। बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसण्डीलगायतका नाकाबाट खुलेयाम कुखुरा तस्करी हुने गरेका छन्।सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।

भारतमा कुखुराको मासु ५० देखि सय रुपैयाँ प्रतिकिलो सस्तो भएकाले तस्करी मौलाएको छ। सिमा क्षेत्रमा खट्ने नेपाल र शसस्त्र प्रहरीकै मिलोमतोमा कुखुराको तस्करी भइरहेको स्थानीय बताउँछन्। कुसण्डीका रामप्रसाद यादबले झाझपट्टी नाकाबाट दैनिक करिब २० देखि २५ भ्यान कुखुरा तस्करी भई लहान पुग्ने गरेको बताए। उनले भने, 'पहिले अँध्यारोमा तस्करी हुन्थ्यो। अहिले त दिउँसै हुन थालेको छ।'

कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र चारपाङग्रे भ्यान प्रयोग हुने गरेको छ। भन्सारको टोलीले गत माघ २५ गते मध्यरातमा लगठी गोठ नाकाबा ५ भारतीय जीपसहित १० भ्यान कुखुरा लोड गरिएको अवस्थामा बरामद गर्‍यो। तर तस्करलाई भने पक्राउ गर्न सकेन। त्यसपछि नेपाल प्रहरीले फाल्गुन १७ गते सोही क्षेत्रबाट जीपसहित ८ लाख ५० हजार बराबरको कुखुरा र एक तस्कर पक्राउ गरे। 

त्यसयता पक्राउ पर्न कुनै निकायले कुखुरा बरामद गर्न सकेका छैन्।जिल्लाको लगडी गोठ, झाझपट्टी र बरियारपट्टी नाका कुखुरा तस्करका लागि स्वर्ग बनेको छ। तस्करी रोक्ने निकायले नै कुखुरा तस्करसँग महिनावारी लिने गरेको एक व्यापारीले नाम नछापिदिने सर्तमा बताए। उनले भने, 'प्रहरीले चाह्यो भने एक पीस कुखुरा पनि ल्याउन मुस्किल छ। तर गाडीको गाडी कसरी ल्याउँछन्।' महिनावारी असुल्न सजिलो पार्नका लागि मात्र प्रशासनले कहिलेकाँही कुखुरा बरामद गर्ने गरेको उनको दावी छ।

सीमावर्ती बजारमा भारतबाटै अवैधरुपमा भित्रिने कुखुराको अण्डा समेत विक्री वितरण हुने गरेको छ। चौकमा टेबल लगाएर त्यसमाथि खुलेयाम भारतीय सेतो अण्डा खरिद विक्री भइरहे पनि त्यसतर्फ कसैको ध्यान पुग्न सकेका छैन्। जसका कारण सीमावर्ती क्षेत्रहरू बर्डफ्लुको उच्च जोखिममा रहेका छन्। भगवानपुर, माडर, बरियारपट्टी, ठाडी, जिझौललगायतका बजारमा भारतीय सेतो अण्डा खुलेयाम खरिद विक्री हुन्छ।

जिल्ला भन्सार कार्यालय माडरका प्रमुख राजेन्द्र हमालले कुखुराको तस्करी मौलाएको स्वीकार गरेका छन्। तर उनी भन्छन्, 'भारतबाट कुखुरा भित्र्याउन क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले प्रतिबन्ध लगाएको हो। त्यसैले तस्करी किन भइरहेको छ भन्ने कुरा क्वारेन्टाइन कार्यालयसँगै गर्नुस्।' उनले आफूले गर्नुपर्ने काम गरिरहेका बताउँदै सम्बन्धित सबै निकायले चाहे मात्र तस्करी नियन्त्रण हुन्छ– उनले थपे।

यता, माडरस्थित क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादबले भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेपनि विभिन्न समस्याका कारण नियन्त्रण गर्न नसकेको बताए। उनले भने, ‘हामीले गस्ती गरेर तस्करी नियन्त्रण गर्न सम्भव छैन्। सीमा क्षेत्रमा सुरक्षार्थ खटेका प्रहरीले तस्करी रोक्नुपर्ने हो।' आवश्यक रणनीति बनाएर तस्करी रोक्न सम्बन्धित निकायका प्रमुखहको हुने बैठक लामो समयदेखि बस्न नसकेकाले पनि समस्या भइरहेको उनको भनाई छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.