हाइवे, महेन्द्र हाइवे र मधेस
केही वर्षअगाडि दीपक रौनियारको फिल्म आएको थियो, हाइवे। फिल्मको विषय २०६२/६३ को आन्दोलनपश्चात् भइरहने बन्दका घटनामा आधारित थियो। त्यहाँ पूर्वी नेपालको एउटा पहाडको सहरबाट काठमाडौं हिँडेको एउटा बस र त्यसमा सवार केही पात्रका समस्या, त्यससँगै ठाउँठाउँमा हुने बन्दले ती पात्रमा पारेको प्रभाव र आफ्नो लक्ष्यमा पुग्न उनीहरूले गरेको प्रयास तथा अपनाएका तरिकाहरूलाई जीवन्त ढंगले देखाइएको थियो।
त्यस फिल्मको एक पक्ष, जसले मलाई पछिसम्म लखेटिरह्यो। बन्द पन्छाउँदै जान एउटा लाहुरे पात्रले उपाय निकाल्छ। उनीहरू सवार गाडीमा रहेको एक केटालाई बेहुला र एक केटीलाई बेहुली बनाइन्छ। यसरी गाडी विवाहका लागि हिँडेको बनाइन्छ। संयोगवश उनीहरूसँग मधेसी मूलका ब्यान्डबाजा पाटी हुन्छ, जो आफ्नो गाउँ जान हिँडेका हुन्छन्। उनीहरू आफ्नो ठाउँमा ओर्लन खोज्दा दिइँदैन। बसका पात्रहरू सबै मिलेर ललाई फकाई अनुरोध गरेर उनीहरूलाई काठमाडौं जान बाध्य पार्छन्। यसरी पहाडका ती सम्पूर्ण समस्याग्रस्त पात्रहरूलाई काठमाडौं पुर्याउन मधेसका ती पात्र निर्णायक साबित हुन्छन्। तर, काठमाडौं पुगेपछि समस्याग्रस्त पात्रहरू आफ्नै समस्यामा अल्झन्छन्। र, अन्तिम दृश्यमा मधेसका ती पात्रहरू कलंकीमा पानीमा रुझिरहेका हुन्छन्। उनीहरूलाई कुनै बसले लग्दैन। उनीहरूको टिठलाग्दो अवस्थाको अनुहार पछिसम्म सम्झनलायक थियो। मलाई लखेटिइरहने घटना यही थियो।
त्यो फिल्म हलमा खासै चलेन। त्यसो त कुन फिल्म चल्ने र नचल्ने भन्ने कुरा फिल्मले भन्दा पनि अहिलेसम्म निर्माण गरिएको फिल्मसम्बन्धी रुचिले बढी असर गरेको छ। अहिलेसम्ममा हामीले हेर्ने र रुचाउने फिल्म नै चल्तीका हिन्दी फिल्म, त्यसकै फर्मुलादेखि कथावस्तुसम्म कपी गरी निर्माण गरिएका नेपाली फिल्महरू नै छन्। हिजो यी फिल्म हामी विकल्प नभएर हेथ्र्यौं। अहिले विज्ञापन हेरेर हेर्छौं। अझ भन्ने हो भने हामी यस्तै हिन्दी फिल्मको लत लागेर यस्ता फिल्म हेरिरहेका छौं, जसलाई हामीले विशुद्ध मनोरञ्जन अथवा स्वस्थ मनोरञ्जनको नाम दिन्छौं। यसैले नै यी फिल्महरू चलेको छ। त्यो कति स्वस्थकर हो या होइन त्यो छुट्टै बहसको विषय होला।
यस्ता आमफिल्मले केही देखाएन भन्ने पनि होइन। तराईका जमिनदार र त्यसबाट पीडित गरिबका कुरा, पहाडका जालीफटाहा र उनीहरूले उठीबास लगाएका मानिसको कथा, तराईमा दाइजोको नाममा पीडित घटना, वर्णव्यवस्थामा आधारित छुवाछूत, सुकुमबासी समस्यालगायत देखाएका छन्। कर्मचारीतन्त्रभित्रको भ्रष्टाचार, राजनीतिभित्रको विकृति पनि देखाएका छन्। तर, देखाएका समस्याको तह के हो ? यसका मूल कारण के हो भन्दा केही पनि पाइँदैन। यही नै नेपाली फिल्मको समस्या हो।
उदाहरणका लागि तपाईं दाइजो प्रथामा आधारित कुनै चल्तीको नेपाली तथा हिन्दी फिल्म हेर्नुभयो भने के निष्कर्ष निकाल्नुहुन्छ ? प्रायः फिल्ममा केटा पक्षका परिवार खासगरी केटाका बुवा या आमालाई नकारात्मक रूपमा चित्रण गरिन्छ। महिलासम्बन्धी कुनै फिल्ममा महिलाको समस्या भनेको नियतिसँग जोडेर टुंग्याएको पाइन्छ। तर, कारण त वास्तवमा निजात्मक त होइन। समग्रमा त्यो संस्थागत माइन्डसेटको परिणाम हो जुन यो समाजले निर्माण गरेको छ। र, त्यो माइन्डसेट कुनै एक वा दुई दिनमा निर्माण भएको पनि होइन।
सय अथवा हजार वर्ष लगाएर निर्माण गरी स्थापित गराइएका मान्यता हुन्। तसर्थ कुनै एउटा पात्रलाई नकारात्मक चित्रण गरेर समाजमा व्याप्त विभेदलाई देखाउन खोज्दा सही ठाउँमा पुग्न सकिँदैन। खासगरी फिल्मलाई जबसम्म हामी विशुद्ध मनोरञ्जनका साधनका रूपमा लिन्छौं र जब बनाउनेले जबसम्म यसलाई विशुद्ध नाफा कमाउने व्यापारका रूपमा मात्र लिन्छन्, तबसम्म बन्ने फिल्म यस्तै तपाईंहाम्रो वास्तविक सत्यभन्दा टाढाको नै हुन्छ।
म हुर्केको ठाउँ गोलबजार महेन्द्र राजमार्गमा पर्छ। त्यसभन्दा केही किलोमिटर दक्षिणमा छ बलकवा, जहाँ म जन्मेको थिएँ। महेन्द्र राजमार्गका कारण गोलबजार गुलजार भयो। अहिले बलकवा बजार छैन।
फेरि एकपटक ‘हाइवे’कै कुरा जोडौं। हुन त त्यस फिल्ममा प्रमुख पात्रमा मधेसी कोही पनि छैनन्। किनकि बसमा यात्रारत यात्री र उनीहरूसँग जोडिएका पात्र नै यसका पात्र हुन्। र, बसको यात्रा पूर्वी पहाडबाट सुरु भएकाले नहुनु स्वाभाविक छ। त्यहाँ कुनै पनि पात्र नकारात्मक छैन। सबै पात्रका आआफ्नै समस्या छन्। झन् उनीहरूको समस्याले उनीहरूप्रति सहानुभूति नै लाग्छ। तर, उनीहरूको समस्या समाधान गर्न जुन पात्रलाई कोरसका रूपमा प्रयोग गरिएको छ, अन्तमा उनीहरूलाई नै अलपत्र छाडेर उनीहरू हिँडछन्। वास्तवमा समग्र मधेसको विगतदेखिको अवस्थालाई यति सचेततापूर्वक सायदै कुनै फिल्ममा अभ्यास गरिएको छ। यस फिल्ममा थुप्रै कमजोरी होलान्। तर, त्यो अन्तिम दृश्य यति प्रतीकात्मक छ कि त्यसका आधारमा मधेसको विगतदेखि आगतसम्मको राजनीतिक घटनाक्रमको एक प्रकारको प्रतिविम्ब पाउन सकिन्छ।
जति बेला यहाँ राजनीति गर्न प्रतिबन्ध थियो। चाहे राणा शासन होस् या पञ्चायत काल, दुवै कालखण्डमा गोप्य राजनीतिक गतिविधि गर्ने ठाउँ मधेस थियो। तर, जब ती आन्दोलन सफल भए, त्यसपछि समग्र मधेस अलपत्र पर्यो। त्यहाँका भाषा, भेषभूषा, समग्र पहिचान अलपत्र भयो। त्यसको सबैभन्दा पछिल्लो उदाहरण हो, माओवादी विद्रोह, २०६२/६३ को आन्दोलन। र, त्यसको पूरकको रूपमा भएको मधेस आन्दोलन। वास्तवमा अधिकार प्राप्ति तथा पहिचानका लागि जति पनि आन्दोलन भए, त्यसलाई निर्णायक तहमा पुर्याएको नै मधेस आन्दोलनले हो। तर, त्यसपछि के भयो त ? संविधानले संघीयतामा जाने बाटो तय त गर्यो तर मधेस आफैं अलपत्र पर्यो। एउटा सिंगो देशबाट विभाजित मानसिकतामा पुग्यो। देशको आधा जनसंख्याले दीपावली मनाइरहँदा आधा जनसंख्या अन्धकारमा बस्न अभिसप्त थिए।
म हुर्केको ठाउँ गोलबजार महेन्द्र राजमार्गमा पर्छ। त्यसभन्दा केही किलोमिटर दक्षिणमा छ बलकवा, जहाँ म जन्मेको थिएँ। त्यो गोलबजार दुईचारवटा घरबाट एउटा विकसित बजार भएको साक्षी म आफैं हुँ। पहिला वलकवा बजारमा हाट लाग्दा त्यहाँको हल्ला गोलबजारसम्म सुनिन्थ्यो। उदयपुरसम्मका मानिस हाटबजारका लागि आउँथे। पछि राजमार्ग अलि दक्षिणबाट बन्यो, जुन पूरै जंगल थियो। त्यहाँ अस्पताल बन्यो। प्रहरीचौकी पनि त्यहीँ आएर बस्यो। एकैपटक मावि स्कुल बन्यो। अहिले बलकवा बजार छैन। गोलबजार गुलजार भयो। महेन्द्र राजमार्गको सरहदमा यो एउटा ठाउँको मात्र कथा होइन। यो समग्र तराईको कथा हो। चन्द्रगढी सुकेर बिर्तामोड र काँकडभिट्टा गुलजार भएका छन्। रंगोली उजाड भएर विराटनगर र इटहरी स्थापित भए। राजविराज र सिरहाको ओज हराएर लहान स्थापित भयो। यस्तै उजाड र गुलजारको सम्बन्ध जलेश्वर र बर्दिवास, मलंगवा र चन्द्रनिगाहपुर, गौर र निजगढ, भैरहवा र बुटवल आदि हेर्न सकिन्छ। हो केही ठाउँहरू जो नाकाका रूपमा रहे, ती ठाउँ भने अझैसम्म स्थापित नै छ।
बन्दका क्रममा सबैभन्दा पहिले बन्द हुने हाइवे नै महेन्द्र हाइवे हो। जस्तोसुकै बन्दले राज्यलाई असर गर्छ। महेन्द्र हाइवे विकास वा समृद्धिको सबैभन्दा विरोधाभास नमुना हो। विकास बाँड्ने कुरा हो कि गर्ने कुरा हो ? महेन्द्रले विकास साँच्चै चाहेका थिए भने उनले हुलाकी राजमार्ग बनाउँथे। जुन बस्तीहरूका माझबाट जान्थ्यो। अस्पताल र स्कुलहरू त्यहीँ खोलिन्थे। त्यहाँको जीवनस्तर उकास्न यसले मद्दत गथ्र्यो। यसका लागि वन विनाश गर्नु पर्दैनथ्यो। चुरे क्षेत्र जोगिन्थ्यो तर त्यसो भएन। उनलाई विकास बाँड्नु थियो। त्यो पनि निश्चित जात, क्षेत्र र भाषाका मानिसहरूलाई। त्यसैले पहाडबाट झारेर थुप्रैलाई खोरिया फाँड्न लगाइयो। त्यहाँका जमिन उनीहरूलाई नै वितरण गरियो।
बर्माबाट लखेटिएर आएकाहरू वा झिकाइएकाहरूलाई नेपालीसरह जग्गा वितरण गरियो। बनजंगल मासेर चुरेका छेवैछेउ राजमार्ग बनाइयो। तर सडक, अस्पताल, स्कुल केही किलोमिटर दक्षिणमा बनेन। जहाँ सदियौंदेखि घना बस्ती थिए। अचम्म त के हो भने तिनै बस्तीहरूमा भूमिगत जीवन बिताएर राजनीति गरेकाहरूले समेत त्यसलाई विकास नै देखेका छन्। तर, वास्तवमा त्यो विकास कति महँगो थियो भने यसले मधेसका जीवनस्तरलाई पछि त राख्यो नै, सँगै चुरेको तीव्र दोहनको आधार पनि निर्माण गर्यो। अहिले समग्र मधेस मरुभूमीकरणको चपेटामा छ। चुरे क्षेत्र संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण राष्ट्रिय गौरवको योजनामार्फत संरक्षण गर्नु परेको छ। यसले पनि खासै उपलब्धि ल्याउन सकेको छैन।
भाषा र भूमि ती दुई यस्ता कुरा हुन्, जुन गुमाएपछि कुनै जातिको अस्तित्वसमेत खतरामा पर्छ। विगतमा उपनिवेश बनाउन यही दुवै कुरा प्रयोग गरिए। पछि त्यसैलाई साम्राज्य विस्तारका रूपमा प्रयोग गरियो। नेपालमा पहिचानको समस्या यही भाषा र भूमिकै समस्या हो।
फेरि एकपटक ‘हाइवे’को अन्तिम दृश्यकै कुरा गरौं। कलंकीको अस्तव्यस्त सडकमा पानीमा रुझ्दै घर फर्कन गाडी खोज्दै गरेका अलपत्र मधेसी पात्र र संविधान घोषणाका क्रममा बेवास्ता गरिएको मधेस आफैंमा उस्तै हुन्। उनीहरू काठमाडौंमा अलपत्र पर्नाको कारण भाषा र भूमि नै त हो।
अन्तमा यस फिल्मका केही रमाइला संयोगहरू छन्। यो फिल्ममा एकदमै दिग्भ्रमित देखाइका एक पात्र छन्, जुन पात्र बनेर अभिनय गरेका व्यक्ति कुनै बेला नेपालका नामुद पत्रकार थिए। तिनले मधेस आन्दोलनको बेला यसको पक्षमा लागेकालाई तपाईं पहिले नेपाली कि मधेसी ? हाकाहाकी सोधेका थिए। यो आफैंमा एउटा नेपाली कस्तो हुन्छ वा हुनुपर्छ भनेर बनाइएको माइन्डसेट प्रश्न त थियो नै, सँगै यस्तो हुनुपर्छ भन्ने आग्रह पनि थियो। तर, यस फिल्मका निर्देशक दीपक रौनियार आफैं मधेसी हुन्। उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ‘सेतो सूर्य’जस्ता फिल्म पनि बनाए। उनै रौनियारले मधेस आन्दोलनको पक्षमा मुखर भएर बोले। उनले बोल्नु स्वाभाविक पनि थियो किनकि उनले ती पीडाहरू राम्ररी आत्मसात् गरेका छन्। विभेदलाई नजिकबाट देखेका, भोगेका छन्। अन्तिममा प्रश्न के हो भने त्यस फिल्मको अन्तिम दृश्यले एउटा मधेसीलाई मात्र छुने हो कि त्यसै फिल्ममा अभिनय गरेका पत्रकार वा अरू पात्रहरू, जो ती पात्रबाट उद्धार गराइए, उनीहरूलाई पनि छुनुपर्ने हो ?