साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर

स्याङ्जा : सबभन्दा बढी साक्षरता प्रतिशत भएको जिल्ला स्याङ्जामा अझै १ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको शिक्षा कार्यालयले जनाएको छ। विद्यालय जाने उमेरका तर शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार हुँदाहुँदै पनि विद्यालयसम्म पुर्‍याउन नसक्नु चुनौती बनेको छ। ४ वर्षअघि स्याङ्जा साक्षर जिल्ला घोषणा गरिएको थियो।

शिक्षा कार्यालयका उपसचिव बाबुराम सापकोटाका अनुसार जिल्लामा ६ सय ११ सार्वजनिक विद्यालयको ९८ दशमलव ६ प्रतिशत बालिबालिका विद्यालय पहुँचमा छन्। उपसचिव सापकोटाका अनुसार १ देखि ५ कक्षामा १७ हजार ६ सय ९२, ६ देखि ८ कक्षामा १३ हजार ४ सय २० र ९ देखि १० कक्षामा ९ हजार ५ सय ५९ जना गरी ४० हजार ६ सय ७१ जना छात्राछात्रा विभिन्न विद्यालयमा पढ्ने गर्छन्।

संस्थागत विद्यालयतिर १२ हजार १ सय ९६ जना छात्राछात्रा छन्। बर्सेनि भर्ना अभियान सुरु गरिन्छ तर सबै बालबालिका विद्यालय भित्रिन सकेका छैनन्। शिक्षा कार्यालयले पनि सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन कार्यक्रम सञ्चालन गर्र्दै आएको जनाएको छ। छात्रवृत्ति, स्रोत कक्षामा भर्ना, सिकाइ केन्द्र सञ्चालनलगायत विविध कार्यक्रम गरेर पढ्ने उमेर पुगेका तर विद्यालयमा जान नसक्ने बालबालिकाका शिक्षाको पहुँचमा ल्याउन प्रयासरत छ तर लक्ष्य पूरा हुन सकेको छैन।

कार्यालयका अनुसार घरधुरी सर्वेक्षणमार्फत बालबालिकाको विद्यालय पहुँच वा विद्यालयबाहिर रहेको भन्ने तथ्यांक लिने गरिन्छ। शिक्षा कार्यालयका स्रोत व्यक्तिमार्फत सबै बालबालिकाको यथार्थ तथ्यांक लिने गरिएको उपसचिव सापकोटाले बताए। विद्यालयमा जानै नमान्ने बालबालिकाका लागि सम्झाइबुझाई, उनीहरूका लागि मात्र छुट्टै शिक्षकको व्यवस्था गरी स्याङ्जा सदरमुकाम र साविक चित्रेभन्ज्याङ गाविसस्थित देवीडाँडा सिकाइ केन्द्रमा २ वटा कक्षा सञ्चालन गरिएका छन्।

दुवै सिकाइ केन्द्रमा विद्यालयको पहुँचभन्दा बाहिरका ५ देखि १६ वर्ष उमेरका ३० जना बालबालिका छन्। उनीहरूलाई दैनिक ४ घण्टा विशेष कक्षा सञ्चालन गरिँदै आएको छ। खाजासहितको कक्षामा सडक बालबालिका, होटलमा काम गर्ने तथा मजदुरी गर्ने बालबालिका, फरक क्षमताका बालबालिकालाई पढाइने गरिएको सिकाइ केन्द्रकी शिक्षिका लक्ष्मी काफ्लेले बताइन्।

बाबुआमा अथवा सहारा नभएका, शारीरिक अशक्तता र पारिवारिक वातावरण अनुकूल नभएका, बाँच्न अरूप्रति आश्रित बालबालिका र विद्यालयको पहुँचबाहिर रहेका बालकालिकालाई अध्ययन गराउन र त्यहाँ टिकाउने उपयुक्त वातावरण सिर्जना गरी शिक्षा दिनु अत्यावश्यक भएको शिक्षिका काफ्लेले बताइन्।

पहिला सडक र खोला किनारमा दिन बिताउने बालबालिका हिजोआज हाँसीखुसी सिकाइ केन्द्रमा आएर पढ्न थालेको दुर्गादेवी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष युवराज पराजुली सुनाउँछन्। केन्द्रका २० जना बालबालिकाका लागि खाजा, पोसाक, शैक्षिक सामग्री र २ जना शिक्षक शिक्षिका उपलब्ध गराइएको छ। आवश्यकताअनुसार स्वास्थ्य परीक्षण र खेलकुद कार्यक्रम पनि हुन्छ।

९५ प्रतिशत निरक्षरलाई साक्षर बनाएपछि जिल्ला पूर्ण साक्षर घोषणा गरिएको थियो। ०६८ को तथ्यांकअनुसार स्याङ्जामा ४८ हजार २ सय ९१ निरक्षरको संख्या रहेकामा ०६८, ०६९ र ०७० सालसम्म ४१ हजार ७ सय ७८ जनालाई साक्षर भएको जनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.