गैरकानुनी संरचनाले बढायो दुर्घटनाको जोखिम

गैरकानुनी संरचनाले बढायो दुर्घटनाको जोखिम

जनकपुरधाम : हुलाकी राजमार्गअन्तर्गत सिरहा सडकखण्डका ठाउँ–ठाउँमा बनाइएका मठमन्दिरले दुर्घटनाको जोखिम बढेको छ। २९ किमि दूरी रहेको सिरहा खण्डमा दुई दर्जनभन्दा बढी मठमन्दिर बनेका छन् भने कतिपय निर्माणाधीन छन्।

सडकबीचमै मठमन्दिर निर्माणका कारण दुर्घटनाको जोखिम बढेको यात्रुको गुनासो छ। मन्दिर बनेका कतिपय ठाउँमा दुवैतर्फ र अधिकांश ठाउँमा एकातर्फी मात्र बाटो छ। नवराजपुर गाउँपालिका–३ स्थित राजमार्गमै निर्माणाधीन हनुमान मन्दिरले चारपांग्रे सवारी साधन गुड्न पनि मुस्किल पर्ने अवस्था छ।

सडकमै मन्दिर निर्माणका कारण दिनहुँजसो कोही न कोही दुर्घटनामा पर्ने गरेको नवराजपुरका विजय यादव बताउँछन्। मन्दिरले सडक साँघुरो भएकै कारण केही दिनअघि मोटरसाइकल दुर्घटना हुँदा एक युवकले ज्यान गुमाउनुपरेको पनि उनी सुनाउँछन्। भन्छन्, ‘सडकमा मन्दिर जहाँ–जहाँ छन् त्यहाँ–त्यहाँ दैनिकजसो दुर्घटना भएकै हुन्छ।’ सम्बन्धित निकायको बेवास्ताले सडकमा मन्दिर निर्माण हुने गरेको उनको भनाइ छ।

सिरहा बजार, सन्हैठा, गणेशपुर, बरियारपट्टी, औरही, दरहिया, नवराजपुरलगायत ठाउँमा हुलाकी राजमार्गमै मन्दिर निर्माण गरिएको छ। स्मारकसमेत सडकमै बनाइएको छ। राजमार्गको आधाभन्दा बढी भाग ओगटेर सोनवर्षा चोकमा स्वर्गीय देवनाथ यादवको स्मृति स्मारक बनाइएको हो। सडकमा स्मारक बनाउनु गल्ती भएको स्थानीय एक व्यापारीले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर रुद्र चुडाल पनि सडकमै मठमन्दिर बनाउने क्रम बढेसँगै दुर्घटना हुने क्रम बढेको बताउँछन्। सडकमा निर्माण गरिएका भौतिक संरचनाले प्रायः रातिको समयमा दुर्घटना हुने गरेको उनी सुनाउँछन्। उनका अनुसार दुर्घटनाको जोखिम बढाउने भौतिक संरचना सडकमा निर्माण गर्न पाइँदैन। भन्छन्, ‘यस्ता संरचना सम्बन्धित निकायले भत्काउनुपर्छ।’

हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर मनोज मण्डल सडकको बीचमै मठमन्दिर निर्माण गरेर स्थानीयले गल्ती गरेको बताउँछन्। गैरकानुनी तरिकाले निर्माण गरिएका भौतिक संरचनाबारे विभागमा जानकारी गराइसकेको उनको भनाइ छ। भने, ‘चालू आर्थिक वर्षमा भत्काउन सम्भव छैन, आगामी आर्थिक वर्ष सबै भौतिक संरचना भत्काउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.