वन व्यवस्थापन सुचारु

वन व्यवस्थापन सुचारु

विराटनगर : मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम आइतबार सुचारु भएको छ ।

मुख्यमन्त्री राईले वन फँडानी बढेको र व्यापक मात्रामा रूख कटान हुन थालेको गुनासो आएको भन्दै रोक्न निर्देशन दिएपछि चैत ४ गतेदेखि दुवै जिल्लामा वैज्ञानिक वन व्यवस्थापनको काम स्थगन भएको थियो । उनले अर्को निर्णय नभएसम्म वन व्यवस्थापनका कुनै पनि काम अघि नबढाउन निर्देशन दिएका थिए । तीन तहको सरकार भएकाले प्राकृतिक स्रोतसाधन बाँडफाँटको टुंगो नलागेकाले पुरानो नीतिनियममा टेकेर गरिएका निर्णय रोक्न उनको निर्देशन थियो ।

प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनको काम सुचारु भएको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं क्षेत्रीय वन निर्देशक किशोरचन्द्र गौतमले केन्द्र सरकारको निर्देशनमा वन विभागले पत्र पठाएरै काम सुचारु गर्न भनेको बताए । वन व्यवस्थापनको काम रोकिएको सम्बन्धमा निरीक्षण गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव गेहेन्द्र केशरी उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रीस्तरबाट वन व्यवस्थापनको काम सुरु गर्ने निर्णय वैशाख ३ गते भएको थियो ।

वन व्यवस्थापनको काम रोकिनुपर्ने कुनै कारण नभएको प्रतिवेदन आइतबार सचिव गौतमले सार्वजनिक गरे । विभागले काम सुचारु गर्न पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयलाई पत्र लेखेपछि मुख्यमन्त्रीको कार्यालयले बाधक नबन्ने संकेत गरेको स्रोतले जनाएको छ ।

वन व्यवस्थापनका नाममा जथाभावी रूख कटान बढेको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी परेको थियो । कार्यदलको प्रतिवेदनमा भने उजुरीमा भनिएजस्तो अनियमितता भएको वा जथाभावी फँडानी भएको नपाइएको उल्लेख छ । गौतमका अनुसार संघीय र प्रादेशिक तथा स्थानीय गरी तीन तहको सरकार बनिसकेपछि वन तथा वातावरणबाट प्राप्त हुने आम्दानी एवं राजस्व बाँडफाँटका विषयमा सहकार्य अभाव देखिएको निष्कर्ष कार्यदलले निकालेको छ ।

कार्यदलले वन व्यवस्थापनलाई सुचारु गरी सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्ने, भविष्यमा पनि यसमा अवरोध नआउने वातावरण बनाउनुपर्ने, स्थानीयस्तरमा दरिलो संयन्त्र निर्माण गर्दै तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्नुपर्नेलगायत ११ बुँदे सिफारिससमेत गरेको छ । मोरङमा २० सामुदायिक र चार साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.