विद्यार्थी तान्न अंग्रेजी भाषा

विद्यार्थी तान्न अंग्रेजी भाषा

बुटवल : शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थी तान्न भन्दै कतिपय सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा पढाउन थालिएको छ । जिल्लामा ३ सय ६४ सामुदायिक विद्यालयमध्ये ६० विद्यालयले अंग्रजी माध्यममा कक्षा सञ्चालन गरेको छ । कतिपय विद्यालयले सब कक्षा र केहीले थोरै कक्षामा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेका छन् । अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दा निजी विद्यालयतर्फ जाने बालबालिका आकर्षित हुन्छन् भन्ने विद्यालयको अपेक्षा हो । तर, केही विद्यालयबाहेक धेरैजसो सामुदायिक विद्यालयमा अंग्रेजी कक्षाले मात्रै विद्यार्थी तान्न सकेको छैन ।

बुटवलको कालिका मानवज्ञान, कान्ति र नवीन औद्योगिक कद्दरबहादुर मावि तथा मणिग्रामको शान्ति नमुना माविस्तरीय मानिन्छन् । ७–८ वर्षअघिदेखि यी विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन हुन थालेको हो । नतिजा राम्रो भएकाले शैक्षिक सत्रको सुरुमै यी विद्यालयमा भर्नाको चाप हुने गर्छ । बाँकी विद्यालयले स्तर सुधार गर्न सकेका छैनन् ।

दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने प्रचलन बढी छ ।

बुटवल उपमहानगरपालिकामा ३४ वटा सामुदायिक विद्यालयमध्ये १९ वटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । दीपनगरस्थित सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालय कक्षा ४ बाहेक सबै कक्षामा अंग्रेजी माध्यममा पढाउने गरिन्छ । तर, विद्यार्थी संख्या सोचेअनुरूप छैनन् । ‘गत शैक्षिक सत्रमा ८ सय विद्यार्थी थिए । यो वर्ष ९ सय पुग्छन कि ? ’ प्रधानाध्यापक गोपीकृष्ण भण्डारीले भने, ‘शैक्षिकस्तर सुधार गर्न प्रयन्त गरिरहेका छाैं ।’

‘भाषाले मात्र विद्यार्थी नआउँदा रहेछन्’

बुटवल पूर्वको देवदह नगरपालिकामा ३२ वटा विद्यालयमध्ये १६ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन भइरहेको छ । देवदहका पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण खासै देखिँदैन । देवदहको युगज्योति माविमा ०६५ सालदेखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन हुन थालेको हो । गत शैक्षिक सत्रमा ७ सय ८० जना भर्ना भएका थिए । यो वर्ष पनि सोही संख्यामा बालबालिका भर्ना हुने अपेक्षा गरिएको प्रअ शिव ढुंगानाले बताए । ‘ठूलो कक्षामा विद्यार्थी आउँछन् । सानो कक्षामा कम छन्’, उनले भने ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका खडवा बनगाइमा रहेको बनगाइ माविमा ५ वर्षअघि कक्षा १ देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु भएको हो । अंग्रेजी माध्यमका लागि ४ वटा शिक्षक निजी स्रोतबाट पालिएका छन् । अहिले कक्षा ५ सम्म अंग्रेजी माध्यममा मात्र पढाइ हुने गरेको छ । अंग्रेजी माध्यममा पढाइ सुरु गरे पनि बालबालिका निजी विद्यालयमा जान छाडेका छैनन् । ‘आसपासमा २ वटा निजी विद्यालय छन्, अभिभावकलाई बुझाउन गाह्रो छ’, प्रधानाध्यापक गोकुल घिमिरेले भने ।

सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरे पनि शिक्षक व्यवस्थापनमा समस्या छ । सामुदायिक विद्यालयमा अधिकांश पुराना शिक्षक छन् । जिल्ला शिक्षा कार्यालयमा कार्यरत विद्यालय निरीक्षक हरि विष्ट सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गाह्रो भएको बताउँछन् । ‘कतै निजी स्रोतबाट व्यस्थापन गरिएको छ । पुराना सेवाका शिक्षक भएको ठाउँमा भने अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न समस्या छ’, उनले भने ।

बुटवलको कान्ति माविले ०६७ सालमा कक्षा ९ बाट पहिलो पटक अंग्रेजी माध्यममा कक्षा सुरु गरेको थियो । त्यसबेला निजी विद्यालय सञ्चालकले चर्को विरोध गरेका थिए । कान्तिका प्रधानाध्यापक गोविन्द ज्ञवाली सम्झन्छन्, ‘जिल्ला शिक्षा कार्यालयमा उजुरी दर्ता गरे । मैले स्पष्टीकरण दिनुपरेको थियो ।’ लामो समय नेपाली माध्यममा पढाएका शिक्षक भएकाले सामुदायिकमा अंग्रेजी भाषा असहज हुने गर्छ । तैपनि, शिक्षक कस्सिएर गुणस्तर वृद्धि र भाषा पढाइमा लागेका छन् ।

रुपन्देहीमा कतिपय विद्यालयले विगतमा अंग्रेजी माध्यम सुरु गरे पनि व्यवस्थापन गर्न नसकेर नेपाली माध्यममै फर्किएका उदाहरण पनि छन् । ‘सामुदायिक विद्यालयलाई सफल बनाउन अंग्रेजी माध्यम मात्र पर्याप्त होइन । अभिभावकको विश्वास जित्नुपर्छ’, ज्ञवालीले भने, ‘संस्थागत विद्यालयमा जसरी पढाइ हुन्छ त्यो सन्तुष्टि सामुदायिकले दिन सक्नुपर्छ ।’ अंग्रेजी भाषामा पढाइ हुने सामुदायिक विद्यालयमा निजी स्कुलका विद्यार्थी स्थानान्तरण हुने गरेका छन् । कक्षा ९ मा भर्ना भई १२ कक्षा पास हुँदा छात्रवृत्तिका लागि सहज हुने अभिभावक बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.