सदनमा सरकारको आलोचना

सदनमा सरकारको आलोचना

जनकपुरधाम : प्रदेशसभा बैठकमा सांसदले सरकारको आलोचना गरेका छन्। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि खासै काम गर्न नसकेको बुधबार बसेको प्रदेशसभाको बैठकमा बोलेका अधिकांश सांसदहरूले गुनासो गरेका हुन्।

सांसद शिवचन्द्र चौधरीले प्रदेशमा भइरहेको विकास निर्माणको अनुगमन गर्ने निकायसमेत बनाउन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले प्रदेशमा रेल र छ लेन सडक निर्माण हुँदा पनि अनुगमन हुन नसक्दा ढिलासुस्ती र गुणस्तरहीन काम भइरहेको गुनासो पोखे। उनले यो प्रदेशमा भइरहेको विकास निर्माण कामको अनुगमन गर्न चाँडै एउटा समिति निर्माण गर्न पनि माग गरे।

मुख्यमन्त्री र मन्त्रीहरूको अन्तरर्वार्ता पत्रपत्रिकामा पढ्दा छाती चौडा हुने गरेको बताउँदै प्रश्न गरे, ‘के भाषण गरेर मात्र यो प्रदेश नमुना र समृद्ध बन्छ ? ’ उनले मुख्यमन्त्री र मन्त्रीहरूले भाषणअनुसार एउटै पनि काम गर्न नसकेको बताए। भने, ‘विशिष्ट प्रदेश बनाउन विशिष्ट प्रकारको काम पनि गर्नुपर्छ। यसतर्फ सरकारको ध्यान पुगोस्।’

सत्तारुढ संघीय समाजवादी फोरम नेपालका सांसद प्रह्लाद गिरीले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यो प्रदेश अभिभावकविहीनजस्तो लागिरहेको बताए। उनले मुख्यमन्त्री र मन्त्रीहरूले समृद्ध बनाउने कुनै ठोस एजेन्डा बनाउन नसकेर विभिन्न कार्यक्रममा रिबन काट्नमै व्यस्त रहने गरेको गुनासो गरे। उनले निजगढमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलका क्रममा वन फडानी गरेर काठ काठमाडौं लग्ने गरेको भए पनि त्यसतर्फ प्रदेश सरकारको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे। उनले यो प्रदेशको काठ यही प्रदेशको हुनुपर्ने उनले तर्क गरे।

सांसद रवीन्द्र बैठाले छुवाछुत प्रथाको अन्त्य गर्न प्रदेश सरकारले कुनै योजना ल्याउन नसकेको गुनासो पोखेका छन्। उनले भने, ‘छुवाछुत विरुद्ध कानुन त बन्यो। तर, व्यवहारमा कार्यान्वयण भएको छैन। यो चिन्ताको विषय हो।’ उनले छुवाछुतले गर्दा चमार, मुसहर, खत्वे, डोम, पासवानलगायत जातिका व्यक्तिलाई समाजमा अछुत भनेर दुव्र्यवहार गर्ने गरेको बताए। उनले छुवाछुत अन्त्यका लागि जनचेतना अभियान चलाउन र कडा कानुनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे।

बैठकमा बोलेका अधिकांश सांसदले चुरे संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझावसमेत दिएका छन्। चुरे संरक्षण गर्न नसके मधेसका उब्जाउ जग्गाहरू बालुवा र गिट्टीले पुरिने सांसद पारस साहले बताए। उनले अतिक्रमणका कारण ४६ हजार हेक्टरको वन हाल २६ हजार हेक्टरमा सीमित भएकोप्रति गुनासो पोखे। उनले पनि निजगढमा अन्तर्राष्ट्रिय विमान स्थलको नाममा भइरहेको वन फडानी रोक्न सरकारसँग माग गरे। उनले भने, ‘विमानस्थल बन्नु हुँदैन भन्ने पक्षमा म छैन। तर अतिक्रमण भएको जग्गा सरकारले निकाल्नु प¥यो। अतिक्रमणमा परेका जग्गा निकाल्न सके, त्यही जग्गा विमानस्थलका लागि काफी हुन्छ।’

यस्तै सांसद दिलिप साहले पनि चुरे संरक्षणमा जोड दिए। उनले चुरे संरक्षण गर्न नसके मधेस मरुभूमि बन्ने बताए। चुरेलाई मधेसको लाइफ लाइन बुझ्न सरकासँग अपिल गर्दै भने, ‘सरकारले प्रदेशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन विशेष योजना ल्याउने प्रतिबद्धता जनाएको छ। तर चुरे संरक्षण गर्न नसके कृषि उत्पादन बढ्न सक्दैन, त्यसैले संरक्षण आवश्यक छ।’

बैठकमा बाल्दै सांसदहरूले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको प्रशंसा गरेका छन्। सांसद अनिता यादवले अभियानको प्रशंसा गर्दै दहेज(दाइजो) अन्त्य नभएसम्म अभियान सफल नहुने तर्क गरिन्। उनले दहेज लिने र दिने दुवैलाई कडा कारबाही हुने खालको कानुन बनाउन सरकारसँग अपिल गरिन्। सांसद सुरेश मण्डलले पनि बेटी बचाऊ, बेटी पढाऊ अभियानको जताततै प्रशंसा भइरहेको बताए। उनले यो अभियानसँगै विद्यालय भर्ना अभियान पनि सफल बनाउन जरुरी भएको बताए।

बुधबारको सांसद बैठकमा मुख्यमन्त्री मो. लालबाबु राउत र कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव अनुपस्थित थिए। उनीहरूलाई पर्खेर मुख्यमन्त्रीको तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न लागेको विधेयक र कानुनमन्त्रीको तर्फबाट प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि कृषि तथा सहकारी मन्त्री शैलेन्द्र यादवले पेस गरेका छन्। आज बस्ने सांसद बैठकमा मंगलबार प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.