कहाँ पुग्यो पुन:निर्माण ? यसो भन्छन् प्राधिकरण र भूकम्पविद (भिडियो)
काठमाडौँ: २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको तीन वर्ष पुग्दा पुनर्निर्माणको गति सकारात्मक रहेको सरोकारवालाले बताएका छन् ।
उनीहरुले नेपालको राजनीतिक, सामाजिक र भौगोलिक अवस्था तथा राज्यको क्षमता अनरुप भएका पुनर्निमार्ण प्रगति सकारात्मक रहेको दाबी गरेका हुन्
एपीवान टेलिभिजनको विशेष कार्यक्रम एपी सेन्टरमा बोल्दै भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपालका पुर्वकार्यकारी निर्देशक आमोदमणि दीक्षितले बिपद् र जोखिम न्युनीकरणका लागि नागरिक समाज र सरकार सबैले मानसिकता परिवर्तन गर्नु जरुरी रहेको उल्लेख गरे । उनले अहिले भइरहेका कामलार्इ प्रोत्साहन गर्न सके पुन:निर्माणले अझ गति लिने बताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा साढे दुई वर्षमै चार प्रमुख कार्यकारी अधिकृतले काम गरिसेकोतर्फ इङ्गित गर्दै भूकम्पविद् डा. दीपक चौलागार्इंले राजनीतिक भर्तीलार्इ ग्राह्यता दिएकैले काम ढिलो भएको आरोप लगाए। 'त्यो ठाँउमा विज्ञहरुलार्इ खटाइएको भए पुन:निर्माण अझ प्रभावकारी हुने थियो', उनले भने ।
यही कार्यक्रममा सहभागी राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यूवराज भुषालले आफ्नो टीममा अनुसन्धान गर्ने विज्ञहरुको टोली भएकोले राजनीतिक भर्ती भन्न नहुने भन्दै असन्तुष्टी पोखे ।
उनले करिब ८ लाख मध्ये १ लाख ४२ हजार घर बनिसकेको पनि जिकिर गरेका छन् । '४ लाख भन्दा बढी निर्माणकै क्रममा रहेका छन्', उनले भने, 'पञ्चवर्षीय योजना अनुरुप पुन:र्निर्माणको गति सुस्त छैन।'
नीतिगत रुपमा धेरै काम सम्पन्न भइसकेकाले बाँकी कामहरु अब द्रुतत गतिमा अघि बढ्ने दाबी पनि उनले गरेका छन् ।