न पढाइ न त भर्ना अभियान

न पढाइ न त भर्ना अभियान

जनकपुरधाम : जनकपुर उपमहानगरपालिका–१२ स्थित कुवा रामपुर मावि खुले पनि पठनपाठन अझै सुरु भएको छैन। यो विद्यालयले भर्ना अभियान पनि चलाएको छैन। रिजल्ट तयार पार्न समय लागेकाले पठनपाठन थाल्न ढिलाइ भएको विद्यालय प्रशासनले जनाएको छ।

जिल्लाभरका विद्यालय वैशाख ३ गतेदेखि नै सञ्चालनमा आएका छन्, भर्ना अभियान पनि जारी छ। यो विद्यालयले न पठनपाठन न त भर्ना अभियान नै सञ्चालन गरेको छ। पठनपाठन नभए पनि बिहीबार विद्यालयमा विद्यार्थीको भीड लागेको थियो। कक्षा ७ मा गएका विशाल खंगले रिजल्ट हेर्न आएको बताए। भने, ‘विद्यालयमा कहिलेदेखि पढाइ हुन्छ भन्ने थाहा छैन।’

कक्षा ८ मा गएका समीर राम पनि विद्यालयमा पठनपाठन कहिले सुरु हुन्छ भन्नेमा अनभिज्ञ छन्। भने, ‘सरहरूले अहिलेसम्म केही भन्नुभएको छैन।’ विद्यालय सुरु नहुँदा घरमा समय बर्बाद हुने गरेको उनले सुनाए। ‘पाठ्यपुस्तक भए घरमा आफैं पनि पढ्थें’, उनले भने, ‘तर, विद्यालयले अहिलेसम्म पाठ्यपुस्तक नै उपलब्ध गराएको छैन।’

प्रधानाध्यापक रामऔतार यादवले आइतबारदेखि पठनपाठन हुने जानकारी दिए। उनका अुसार कक्षा ९ को पठनपाठन भने रिजल्ट नआएसम्म हुनेछैन। कक्षा ८ को परीक्षा स्थानीय तहले लिएको तर रिजल्ट अझै सार्वजनिक गर्न नसक्दा कक्षा ९ को पठनपाठन अनिश्चित रहेको उनले सुनाए।

‘स्रोतव्यक्ति र विद्यालय निरीक्षकले कक्षा ९ को रिजल्ट तयारीमै लागेको भनेर बताउनुभएको छ’, उनले भने, ‘तर, रिजल्ट कहिलेसम्म आउँछ भन्ने ठ्याकै भन्नुभएको छैन।’ रिजल्ट सार्वजनिक गर्न समय लाग्ने देखिएको उनको भनाइ छ।

पाठ्यपुस्तक अझै आइनपुगेको उल्लेख गर्दै उनले भने, ‘पाठ्यपुस्तक पठाउन नसके रकम पठाउँदा पनि हुन्थ्यो, आफैं खरिद गरेर पनि बाँड्थे।’ पाठ्यपुस्तक पठाउन ढिलो गरे तत्काल पुरानाबाटै काम चलाइने उनको भनाइ छ।

रकम निकासामा ढिलाइ

पाठ्यपुस्तक खरिदका लागि जनकपुर उपमहानगरपालिकाले रकम निकासा गर्न ढिलाइ गरेको छ। यही कारण पाठ्यपुस्तक पुग्न नसकेपछि विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन्। स्रोतव्यक्ति रत्नकुमार कर्णले पाठ्यपुस्तक खरिदका लागि २ दिनभित्र रकम निकासा हुने जानकारी दिए।

उपमहानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाको रिजल्ट प्रकाशन गर्न एक साता लाग्ने उनले बताए। ‘हामी रिजल्ट निकाल्न हतारमा छौं’, उनले भने, ‘कापी जाँच्ने काम तीव्र गतिमा भइरहेको छ।’ परीक्षा चैत ३१ गते सकिएका कारण रिजल्ट प्रकाशनमा ढिलाइ भएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.