उपेन्द्र यादबले भने: स्थानीय तहबाट स्वास्थ्य-शिक्षा क्षेत्र खोसौँ
जनकपुरधाम: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले स्थानीय तहलाई दिइएको स्वास्थ्य र शिक्षा क्षेत्रको अधिकार खोस्न सरकारसँग माग गरेका छन् ।
शुक्रबारबाट जनकपुरमा सुरु मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रोर राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताए ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले तहसनहस पार्न खोजेको आरोप लगाए । ‘शिक्षा र स्वास्थ्यको स्तर घट्न थालेको छ,’ उनले भने, ‘अवस्था सुधार्न केन्द्रले आफ्नै मातहतमा राख्नुपर्यो कि त प्रदेश सरकारलाई सुम्पिनुपर्यो ।’
अध्यक्ष यादबले स्वास्थ्य संस्था सञ्चालनको अधिकार स्थानीय तहलाई दिएर सरकारले गल्ती गरेको पनि बताए । ‘देशमा कोही पीडित छन् भने उनीहरु स्वास्थ्यकर्मी हुन्’, उनले भने, ‘राज्यको गलत नीतिका कारण स्वास्थ्यर्मी विभेदमा परेका छन् । दुव्र्यवहारसमेत सहनपर्छ ।’ उनले स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहा र विभेद अन्त्य गर्ने लडाइँ लड्ने प्रतिवद्धता समेत जनाए ।
सरकारको रबैया बेठीक
यादवले संविधान संशोधन र संघीयताको रक्षाका लागि वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारको रबैया ठीक नरहेको टिप्पणी गरेका छन् । उनले सरकार अहिले पनि संघीयता विरोधी काम गरिरहेको आरोप लगाए ।
सरकारले गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्रमा लागेको पनि बताए । ‘प्रदेशिक संरचना जानेरै कमजोर पार्न खोजिएको छ ताकी संघीयता समाप्त होस्’, उनले भने, ‘प्रदेश सरकारलाई कमजोर बनाउन खोजे फेरि पनि संघर्षमा उत्रिन जनता तयार छन् ।’