प्रजातन्त्रको मृत्युबारे
यदि तपाईंको सरकार संविधानलाई अस्वीकार गर्छ वा संविधान उल्लंघन गर्न चाहन्छ। यदि तिनीहरू गैरप्रजातान्त्रिक कदमहरू जस्तो कि निर्वाचन बदर गर्ने, संविधान उल्लंघन वा खारेज गर्ने वा केही संगठनमाथि प्रतिबन्ध लगाउने, नागरिक र राजनीतिक अधिकारहरूमाथि नियन्त्रण गर्न खोज्छन् भने, सम्झनुस् तपाईंको प्रजातन्त्र मरिरहेको छ। त्यस्तै तिनीहरू गैरसंवैधानिक माध्यमहरू जस्तो कि सैनिक कु, हिंसात्मक विद्रोह जस्ता कदमहरू चाल्छन् भने फेरि सोच्नुस् प्रजातन्त्र मरिरहेको छ। यदि तिनीहरू निर्वाचनको विश्वसनीय परिणाम अस्वीकार गरेर निर्वाचनको वैधानिकता बेवास्ता गरिरहेका छन् भने पनि यी सबै व्यवहार एकाधिकारवादी व्यवहार हुन्।
माथिको विचार ‘हाउ डेमोक्रेसिस डाई ? ’ पुस्तकबाट लिइएका हुन्, जसका लेखक हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र डेनियल जिबलाट हुन्। सरकार विषयका ज्ञाता उनीहरूले संयुक्त रूपमा लेखेको पुस्तक ‘हाउ डेमोक्रेसिस डाई ? ’ अर्थात् प्रजातन्त्र कसरी मर्छ ? ले समकालीन विश्वमा प्रजातन्त्रको नाजुक अवस्था देखाउँछ। आज प्रजातन्त्र विश्वकै उत्कृष्ट र पुरानो प्रजातन्त्र मानिने अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कालमा प्रजातन्त्र मरिरहेको छ भने प्रजातन्त्रको जननी युरोपमा नै प्रजातन्त्रको अवस्था चिन्ताजनक छ। टर्कीमा राष्ट्रपति इड्रोजनको एकाधिकारवादी क्रियाकलापले प्रजातन्त्र संकटमा छ।
भर्खरै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चौथो कार्यकालमा भएको अत्यधिक बहुमतको निर्वाचनले रुस नयाँ जारशाहीतर्फ गएको छ। पुटिनले आफ्ना सही प्रतिद्वन्द्वीलाई निर्वाचनमा उम्मेदवार हुनै दिएनन्। आर्थिक उदारीकरण र राज्य पुँजीवादमार्फत विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनको राष्ट्रपति पदमा दुई कार्यकालभन्दा बढी पदासीन हुन नहुने प्रावधानलाई चिनियाँ जनकंग्रेसले हटाएर राष्ट्रपति सी जिङपिनलाई जीवनभरि पदासीन हुने बाटो खोलिदिएको छ।
यहाँ स्मरण गर्न लायकको कुरो के छ भने रुस विश्वको सबैभन्दा ठूलो भूगोल र चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। दुवैले पश्चिमी प्रजातन्त्र र उदारवादलाई अस्वीकार गरेका छन्। दुवै आणविक हतियारसम्पन्न राष्ट्र र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सदस्यहरू हुन्। भारतमा पनि २०१४ मा भारतीय जनता पार्टीको विजयपछि प्रधानमन्त्री बनेको नरेन्द्र मोदीले भारतलाई हिन्दु राष्ट्रवाद र दक्षिणपन्थी चिन्तनअनुसार शासन गरिरहेका छन्। उनी अल्पसंख्यक मुस्लिम, दलित र इसाईप्रति अनुदार छन्। उनको सत्ताको विरोध गर्ने बुद्धिजीवी, लेखक र कलाकारहरूसमेत आक्रमणको निशाना बनाइएका छन्। भारतको धर्म निरपेक्षतावादी संविधानको उल्लंघन भएको छ र सत्ताधारी हिन्दु राष्ट्रवादी दल अनुदार लोकतन्त्र र असहिष्णु राजनीति गरिरहेको छ। भारत संसारको देस्रो ठूलो जनसंख्या भएको देश हो भने आणविक शक्ति राष्ट्र पनि हो।
यसरी संसारको प्रमुख भूगोल, जनसंख्या र शक्ति राष्ट्रहरूमा अहिले अनुदार लोकतन्त्र चलिरहेको छ। हिटलर पनि निर्वाचनमार्फत सत्तामा आएका थिए। मुसोलिनी इटालीमा परिस्थितिका उपज थिए। तर, उनीहरूले फाँसीवादको नाउँमा प्रजातन्त्रलाई मार्ने काम कसरी गरे भन्ने कुराको चर्चा लेखकद्वय गर्छन्। फाँसीवादको पराजय दोस्रो विश्वयुद्धमा उदार प्रजातन्त्रको विजय थियो तर फेरि साम्यवादको भूतले प्रजातन्त्रलाई तर्साउन थाल्यो। युरोप साम्यवादी र प्रजातान्त्रिक विश्वमा विभाजित भयो। विश्वका हरेक कुनामा साम्यवाद र पुँजीवाद बीचको द्वन्द्व चर्कियो।
सरकार विषयका ज्ञाता लेखकद्वयले ‘हाउ डेमोक्रेसिस डाई ? ’ अर्थात् प्रजातन्त्र कसरी मर्छ ? पुस्तकले समकालीन विश्वमा प्रजातन्त्रको नाजुक अवस्था देखाउँछ।
सन् १९६० मा चिलीका वामपन्थी राष्ट्रपति साल्भाडोर एलिन्डेको सरकारलाई अपदस्थ गरेर कसरी अमेरिकाले सीआईएमार्फत प्रजातन्त्रको हत्या गर्यो, त्यसको विवरण पुस्तकमा दिइएको छ। एलिन्डे निर्वाचित लोकप्रिय राष्ट्रपति थिए। अर्कातिर पेरुमा अल्बर्ट फुजिमोरो कसरी लोकप्रियतावादी नारामार्फत सत्तामा आई मिडियाको दुरुपयोग गर्दै प्रजातन्त्रको मृत्युको कारक बने, त्यसको चर्चा पुस्तकमा छ। प्रजातन्त्रका लिखित अलिखित नियमहरू हुन्छन्, जुन पालना गर्नुपर्ने हुन्छ तर तथाकथित प्रजातन्त्रवादीहरू कसरी ती नियमहरूको खेलवाड र उल्लंघन गर्छन् भन्ने कुरो देखाउनु पुस्तकको उद्देश्य हो। भेनेजुएलाका नेता ह्युगो चाभेजले कसरी त्यहाँ सत्ता कब्जा गरे ? अनि वामपन्थी लोकप्रियतावादमार्फत शासन गर्दा प्रजातन्त्रको मृत्यु भएको उदाहरण पेस गरेका छन्। भेनेजुएलामा अहिले चाभेजका उत्तराधिकारी निकोलास मडुरोको सरकार संकटमा छ। यसर्थ अहिले ल्याटिन अमेरिका, एसिया र युरोप जताततै प्रजातन्त्र संकटमा छ।
अमेरिकामा एक वर्षअघि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प शृंखलाबद्ध रूपमा प्रजातन्त्रका लिखित अलिखित नियमहरूका उल्लंघनकर्ता हुन्। हुन त उनको निर्वाचनको विजय रुसी साँठगाठमा भएको भन्ने विषयलाई लिएर अनुसन्धान भइरहेको छ। यस अनुसन्धानबाट रुसी हस्तक्षेपका नयाँ सूचनाहरू प्राप्त भइरहेका छन्। ट्रम्प लोकप्रियतावादी रैथाने जातिवादी नेता हुन्। उनको व्यक्तिगत जीवन सम्पत्ति र चरित्र त्यत्तिकै विवादस्पद छ। ट्विटरमार्फत राजनीति गरेका ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अमेरिकालाई एक्लो तुल्याएका छन्। गोरा जातिको वकालत गर्ने ट्रम्प न्यायालयदेखि अन्य संवैधानिक निकायहरूमा हस्तक्षेप गर्न खप्पिस छन्। क्रिस्चियन र कामदार वर्गमा पकड भएका ट्रम्प आफ्नो एकवर्षे कार्यकालमा अमेरिकी इतिहासमै सबैभन्दा विवादस्पद राष्ट्रपति हुन्। यसरी लेखकद्वयले यो पुस्तक विशेष गरी अमेरिकामाथि केन्द्रित गरेका छन्। अमेरिकामा लोकप्रियतावादको इतिहास, प्रजातन्त्रका नियमहरू उल्लंघन भएका घटनाहरू र कसरी एउटा शासकको कर्मले उदार प्रणालीमाथि संकट आउँछ, त्यसको उल्लेख गरेका छन्।
अर्को ठूलो प्रजातान्त्रिक मान्यताको गढ युरोपमा कसरी लोकप्रियतावाद, नाजीवाद आप्रवासी र शरणार्थी विरोध र भूमण्डलीकरणविरुद्ध आक्रोश छ। त्यसको चर्चा गरिएको छ। हालै जर्मनीमा भएको निर्वाचनमा वैकल्पिक जर्मन दल कसरी हिटलरपछि संसद्मा पुग्यो। फ्रान्समा दक्षिणपन्थी रैथानेवादी मेरिलिपेनको पार्टी सम्मानित मत पाउन सफल भयो र नेदरल्यान्डमा लोकप्रियतावादी ग्रिट गिल्डर्सको पार्टी मतदाताको आकर्षण बन्यो भन्ने कुरा सबै प्रजातन्त्रवादीको चिन्ताका कारणहरू हुन्।
अहिले प्रजातन्त्र एउटा शून्य अवस्थामा छ। दोस्रो विश्वयुद्धताका फाँसीवादको विरुद्ध उदारवाद थियो। साम्यवादविरुद्ध प्रजातन्त्र र स्वतन्त्रता थियो। अब यी वैचारिक प्रतिद्वन्द्वीहरू नरहेपछि प्रजातन्त्र शून्यमा रहन गयो। सन् १९९० को दशक प्रजातन्त्रका लागि सबैभन्दा उत्तम र विजयको दशक थियो, जसलाई हार्वर्डका अर्का प्राध्यापक स्यामुयल हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहर भनेर नामकरण गरे। पूर्वी युरोप र सोभियत संघबाट साम्यवादको पतनले विश्वभरि प्रजातन्त्रको लहर ल्याएको थियो। त्यस लहरमा परी सैनिक तानाशाह र एकाधिकारवादी शासन व्यवस्थाहरू ढले, जसलाई फ्रान्सिस फुकुयामाले उदार प्रजातन्त्रको विजयलाई इतिहासको अन्त्य भने। तर, अहिले विश्वभर इतिहास फर्किरहेको छ। उनी गलत साबित भएका छन्। अहिले प्रजातन्त्रको नाममा देखिएको संकट यसको आन्तरिक संरचना र नेतृत्वको कारणले हो। अब सन् १९९० पछि निर्माण भएको नवउदारवादीहरू संस्थापन पक्षजस्तो देखिएका छन् भने अनुदारवादीहरू विरोधी देखिएका छन्।
अमेरिका, जो प्रजातन्त्रको प्रवक्ता रहेको राष्ट्रमा नै एकाधिकारवादका संकेतहरू देखिएकाले मरिरहेका प्रजातन्त्र सबैभन्दा पहिले अमेरिका र युरोपमा यो संकटबाट जोगिनुपर्छ। होइन भने गैरपश्चिमी समाजमा ठूलो दुर्घटना हुनेछ। भर्खरै निर्वाचित इजिप्टका पूर्व सैनिक अधिकारी सिसि र हंगेरीका निर्वाचित हुन गइरहेका भिक्टरओरवान संविधानको भावना मिचेर राजनीति गरिरहेका छन्। शीतयुद्धको समाप्ति प्रजातान्त्रिक प्रणालीहरूका लागि स्वर्णिम कालखण्ड थियो भने त्यसयताका २८ वर्ष फिलिपिन्स, पोल्यान्ड, निकारागुआ, थाइल्यान्ड, जर्जिया र दक्षिण एसियामा नै श्रीलंकामा प्रजातन्त्र घाइते बनाइएको छ। प्रजातन्त्र अत्यधिक रूपमा मास्ने निर्वाचित यी पूर्व जनरलहरू वा राजनीतिक क्रान्तिकारीहरू जो राष्ट्रवाद, क्षेत्रीयतावाद, लोकप्रियतावाद, भ्रष्टाचार निर्मूल गर्ने नारा र सुशासनको कार्यक्रमका लागि निर्वाचित भएका थिए। संविधानको भावनालाई नै मिचेर तिनीहरूले प्रजातन्त्र मारिरहेका छन्।
यसर्थ समकालीन विश्वमा प्रजातन्त्रको ज्यान जोगाउनु छ भने संवैधानिक खबरदारीको संविधानको सम्मान, आपसी सहनशीलता, प्रतिद्वन्द्वीको वैधानिकता स्वीकार, संवैधानिक विशेषाधिकार प्रयोग गर्दा आत्मनियन्त्रण, मिडियाको सही उपयोग र एकाधिकारवादी चिन्तनको त्याग जरुरी हुन्छ।
पुस्तक :हाउ डेमोक्रेसिस डाई
लेखकहरू :स्टिभन लाभिस्त्कि, डेनियल जिबलात
प्रकाशक :भाइकिङ
मूल्य :१४.९९ डलर