किताबसँगै हिँडेका किशोर दिनहरू
झमझम पानी परिरहेको थियो। खियाले रातो भइसकेको पुरानो टिनले कर्कश संगीत सिर्जना गरिरहेको थियो। झ्यालको खापा थोरै उघारेर, बाछिटाका मार सहँदै हेर्दा सडक विभागमा अवस्थित प्रहरी पोस्ट लुछुप्पै भिजेका देखिन्थे, पारि मैनडाँडाका समीका रूखहरू पनि निथ्रुक्क रुझिरहेका थिए। सुनार्नी आमाको घरमा खरको छानाबाट रातो पानी चुहिरहेको थियो। लाग्थ्यो, बर्खाको यो निरन्तर झरीले सिंगो वातावरण चिस्याएको छ, सबैको गति अवरुद्ध गरिरहेको छ। सबैजना झिज्जिरहेका छन् यो पानीसँग।
तर यसैमा रमाइरहेकाहरू पनि छन्। पारी चिदेरीका खेतका गह्रा-गह्रामा किसानहरू धान रोप्न मस्त छन्। हली, रोपाहा र बाउसेहरूका हिलो छ्यापाछ्याप परबाट हेर्दा नै लोभलाग्दो छ। पानी र टिनको आवाजले सुन्न रोक्छ र मात्र सायद रोपाहाहरूको असारे भाका पनि उत्तिकै सुमुधुर गुञ्जिएको होला। एउटै परिवेश कसैको लागि अवसर बन्छ कसैका लागि अवरोध।
हामीलाई (म र मेरो जुम्ल्याहा भाइ) भने चिन्ता लागिरहेको छ। चिन्ता लागिरहेको छ माटोमुनि आफ्नो संसार रच्ने कमिलाहरूको। उनीहरूले कत्ति दुःखले स्याहारेका खानाहरू, बनाएका घरहरू पानीको धारले खत्तम गर्यो होला। यो पानीसँग पौठेजोरी खेल्दै तिनीहरू अर्को सुरक्षित स्थानको लागि दौडिरहेका छन् होला। म र मेरो भाइ झ्यालबाट वर्षाको रमणीय दृश्यावलोकन गर्दै कमिलाबारे कुरा गरिराख्छौं। किनभने हामीले भर्खरै कविताराम श्रेष्ठ लिखित ‘कमिलाको कथा’ बाल उपन्यास पढिसिध्याएका छौं। किताबमा हामी जस्तै एउटा स्कुले केटो कमिलामा परिणत हुन्छ।
कमिला बनेर उसले कमिलाको संसार बुझ्छ। कमिलाको परि श्रम, कमिलाको दुःख, कमिलाको जीवनसंघर्षको हरेक क्षणहरू महसुस गर्छ। तर, किताबको अन्त्यमा थाहा हुन्छ कि उसले सपना देखिरहेको हुन्छ। सपनामा नै ऊ कमिला बनेको हुन्छ। यसरी हामीले चालै नपाई रमाइरमाई कथामार्फत् कमिलाको जीवनचक्र, उसको जीवविज्ञान र सामाजिक अवस्था थाहा पाउँछौ। त्यसैले त हामीमा कमिलाप्रति संवेदना सिर्जना भएको। हामी चिन्तित हुन्छौ यो पानीको धारले कमिलाहरूका कैयौं संसार नष्ट गरेको छ। उनीहरू अहिले कति बिचल्लीमा होलान्।
यो अनुभूति मेरो स्कुले दिनको हो। किशोरावस्थाको हो। जुन अहिले पनि मेरो मनको कुनामा सुरक्षित छ। जब कुनै सन्दर्भले ती पुराना दिनहरूको स्मरण गराउँछ मेरो मनको पुरानो रिल फुक्न थाल्छ। म मेरो गाउँ सम्झिन पुग्छु। गाउँका प्रत्येक दृश्यहरू, धुलोमा खेल्दै हिँड्ने स्कुलको बाटो, पँधेराको छेउमा बसेर कथाका किताब पढेका दिनहरू पुरानो चलचित्रको दृश्यजस्तो आँखामा छाउँछ। किताब मेरा किशोर दिनलाई आनन्ददायी गराउने महत्वपूर्ण साधन थिए।
कल्पना गरौं त ¤ एउटा किशोर ठिटो जसको गाउँमा घरबाट एक घन्टा टाढा पुगेपछि बल्ल एउटा स्टेसनरी भेटिन्छ र जहाँ केवल कापी, केही गेसपेपर, पाठ्यपुस्तक, कलम, नीब, मसी, फुटबल, बलको ब्लाडर यस्तैयस्तै मात्र उपलब्ध छ। त्यो गाउँ जहाँ तीन दिन बासी गोरखापत्र हुलाक, गाविस र स्वास्थ्यचौकीमा आइपुग्छ। जहाँ सूचनाको प्रमुख साधन केवल रेडियो हुन्छ। त्यस्तो गाउँको किशोर केटोले एकदिन पढ्छ, ‘गुलिभरको लिलिपुट यात्रा’।
एउटा औसत उचाइको बेलायती मानिस सामुद्रिक यात्राको क्रममा दुर्घटनावश यस्तो देश पुग्छ जहाँका मानिस केबल ६ इन्चका छन्। त्यो किशोरले ६ इन्च बुझ्नलाई आफ्नो जेमिट्री बक्सको स्केलका धर्का गन्छ र थाहा पाउँछ कि ६ इन्च भनेको १५ सेमीको स्केल बराबर। ओहो ¤ आफ्नो स्केलबराबरको मान्छेको कथा पढ्दा त्यसमा कस्ता भावनाहरू खेले होलान्। कति रोमाञ्चित भयो होला त्यो केटो।
त्यो केटो मै थिएँ। त्यो गुलिभरको यात्राको कथा पढ्दा म प्रत्येक पानामा रोमाञ्चित भएको थिएँ। त्यो किताबको चित्र हेरेर हामी दुई भाइ मरीमरी हाँसेका थियौं। त्यो ठाउँको हात्ती त सामान्य मुसा जत्रा पनि थिएनन्। कस्तो कल्पनालोक !
त्यो केटो मै थिएँ। त्यो गुलिभरको यात्राको कथा पढ्दा म प्रत्येक पानामा रोमाञ्चित भएको थिएँ। त्यो किताबको चित्र हेरेर हामी दुई भाइ मरीमरी हाँसेका थियौं। त्यो ठाउँको हात्ती त सामान्य मुसा जत्रा पनि थिएनन्। कस्तो कल्पनालोक।
मुनादेखि चीनसम्म
ठूलो मामाले बालसाहित्यका केही किताबहरू ल्याइदिएपछि मेरो साहित्यिक पुस्तकहरूको अध्ययन सुरु भयो। प्राविकी शिक्षिका आमाले ती पुस्तकहरू वाचन गर्न लगाउनुहुन्थ्यो। ‘एक्लो बालक’, ‘रिसाहा थर्कमान’ जस्ता कथाका किताबदेखि केही कविताका किताबहरू पनि। ठाडामा कक्षा पाँचसम्म पढेपछि मावली सन्धिखर्कको बोर्डिङमा पढाइ सुरु भयो।
सन्धिखर्कको पढाइले हामीमा किताबप्रति थप मोह जगाइदियो। यो सदरमुकाम थियो। यहाँ ठाडामा जस्तो किताबको अभाव थिएन। हामी हरेक महिना मुना पत्रिका पढ्न थाल्यौं। बेलाबेलामा अंग्रेजी पत्रिका ‘विसडम’ पनि। यहीं बेला हो हामीले मुनामा पठाउन भनेर नियमित कविता लेख्न थालेको। धेरै चिठी पनि पठायौं तर एउटै छापिएन। सायद पुगेन कि ¤
मावली घरको आँटी भण्डारखाना थियो। खेल्दाखेल्दै हामी त्यहाँ पुग्थ्यौं। एकदिन हामीले त्यहाँ अनेक पुस्तक भेट्टायौं। आमा र मामाहरूले पढेका पाठ्यपुस्तकहरू, केही कविताका किताब र एउटा गाता च्यातिएको किताब। पुराना पाठ्यपुस्तकहरूका सबै कथा र कविता हामीले तुरुन्तै पढिहाल्यौं। मलाई अझै पनि सम्झना छ ती किताबको धुस्रे स्वरूप। अक्षरका आकार र अनेक चित्रहरू। किताबको सुरुमै भएको राजा वीरेन्द्रको तस्बिरसहितको महावाणी।
तिनै किताबमा त हो हामीले पढेको- लाटोकोसेरो र हात्तीको मित्रता, यमराजभन्दा बलिया मान्छे अनि दिक्कलाग्दो यात्रा वर्णन, ‘घनघस्याको उकालो चढ्दा’। भेटिएका किताबमध्ये एउटा किताब भने अलि फरक थियो। त्यो नेपाली भाषामै लेखिएको भएता पनि नेपाली किताब थिएन। त्यो त हाम्रो उत्तरी छिमेकी चीनको कथा थियो। किताबको गाता च्यातिएको थियो। कथा भने पूरा थियो। कथामा एउटा हामीजस्तै केटा थियो जसको बुवा देशलाई मुक्त गराउने भनेर लालसेना बनेर हिँडेको थियो। बुवाले त्यो केटालाई कपडाको रातो तारा उपहार दिएको थियो। कथा अनेक संघर्षले भरिएको थियो।
हामीलाई त्यो किताबले यति लठ्ठायो कि टुकीको ज्योतिले अगाडिको कपाल डढाउँदासम्म हामी पढिरह्यौं। जब कथामा केटाको आमालाई जमिनदारले जिउँदै जलायो हाम्रो आँखाबाट आँसु बग्न थाले। किताब पढेर रोएको सायद यो नै पहिलो क्षण थियो। हामी अर्घाखाँचीको त्यो मोटर नपुगेको सुदूरगाउँमा थिएनौं, हाम्रो मन त चीनको कुनै किसानको गाउँमा पुगिसकेको थियो। बच्चैमा हामी चीनको केटालाई भेटेका थियौं र उसँगै चीनका महान् नेता माओत्सेतुङलाई। पछि एघार कक्षा पढ्दा पुन:किताब दोहोर्याउने संयोग जुरेपछि हामीले थाहा पायौ किताबको नाम- चम्किलो रातो तारा। अनि यो त्यहीँ बेला थियो हामीले ‘माओ जिन्दावाद’ नारा लगाउनेहरूलाई देख्न थालेको।
एक दराज किताब
कारणवश हामी फेरि ठाडाको त्यहीँ माविमा फर्कियौं फाइभ क्लासबाट हाम फालेर कक्षा सातमा। यतिबेला गाउँमा एउटा परिवर्तन आएको थियो। प्रौढ कक्षा पढाएको कुनै संस्थाले पठन संस्कृति विकास गर्न भनेर एक दराज किताब छोडेको रहेछ। किताब पीसीओमै थियो। दस रुपैयाँ तिरेर सदस्य बनी पुस्तक ल्याउने सुविधा सदुपयोग नगर्ने त कुरै थिएन।
त्यो दराजमा अचम्म-अचम्मका किताबहरू थिए। आकारले पनि, विषयले पनि। मसिना ‘हात्ती निल्ने भ्यागुतो’ देखि मोटो भानुभक्तकृत रामायणसम्म। रामायणका केही श्लोक पढेपछि त्यसले तानेन। रामका धेरै कथा हामीले सुनिसकेका थियौं। तर हामीलाई अरू किताबले ताने। ‘गुलिभरको लिलिपुट यात्रा’, ‘कमिलाको कथा’, ‘एसियाली लोककथाहरू भाग-१, २, ३ र ४’, ‘रमाइला बालकथाहरू’ यस्तै यस्तै अनेक किताबहरू।
एउटा किताब थियो जसको आकार अरूभन्दा फरक। लाम्चो पनि चौडा पनि। चिल्लो कालो गातामा निलो पृथ्वी, स-साना ताराहरू। किताब पृथ्वीको उत्पत्तिदेखि मान्छेको उद्विकाससम्मको चित्रकथा थियो। मलाई अहिले पनि सम्झना छ मध्यपृष्ठमा ठूलो र सानो डाइनोसरको चित्र थियो र लेखिएको थियो- ठूला डाइनोसरहरू शाकाहारी थिए भने साना डाइनोसरहरू मासांहारी। त्यो किताबले मलाई विज्ञानप्रति रुचि जगाइदियो। पृथ्वीदेखि मान्छेको उत्पत्तिको कथाले स्वस्थानीमा पढिने दुई दानवको हत्याद्वारा विष्णुद्वारा पृथ्वी, समुद्र आदिको सृष्टिको कथा झुटो लाग्न थाल्यो। मैले उक्त किताबको नाम बिर्से तर हरेक पुस्तक पसलमा आज पनि त्यो किताब खोज्छु। आजसम्म भेटेको छैन।
सुरु-सुरुमा दुईवटा किताब ल्याउने गरे पनि अन्य सदस्य नभएकाले हामीले पछि-पछि नौ दसवटासम्म किताब ल्याउन थाल्यौं। आँटी हाम्रो पढ्ने र सुत्ने कोठा थियो। आँटीमा हामी यति मस्त भएर पढ्न थाल्थ्यौ कि भान्साबाट बोलाउँदा बोलाउँदा थाकेर आमाले कुचो लिएर आउँदासम्म चाल पाउँदैनथ्यौं। छिमेकीले- यिनीहरू ओथारो बस्छन्। तर, हामी त संसार डुलिरहेका थियौं बिना भिसा, बिना पासपोर्ट। हामीले इजरायलका मान्छेका लोककथा सुनेका थियौं, रोमको एपोलोलाई भेटेका थियौं, इन्डोनेसियाको समुद्री ठूलो माछा पनि त हामीले जानिसकेका थियौं। किताबले हामीलाई संसार डुलायो। हामी किताबसँगै कल्पनाको नयाँ लोकमा विचरण गर्न थाल्यौं। नजानी नजानी कविता, कथा र डायरी लेख्न थाल्यौं। आठ कक्षा पुग्दासम्म त्यो एक दराज किताब पढिसकिएको थियो बाँकी थियो भानुभक्तको पुरानो रामायण।
आमा र शिरीषको फूल
किताबले हामीलाई संवेदनशील र बढी भावुक बनाए। हामी अन्तर्मुखी बन्न थाल्यौं। हामी दुई भाइ भएपछि अरू साथी चाहिँदैनथ्यो। किताब हाम्रा नजिकका साथी थिए। तर हामी बढी कोमल, भावुक र संवेदनशील बन्न पुगेछौं। कसैसँग चाहिँदा पनि झगडा गर्न नसक्ने। स्कुलमा कसैले जिस्क्याउँदा बरु रोइदिने तर नबाझ्ने। हदैको अन्तर्मुखी। कक्षा आठमा पढ्दाको कुरा हो एकदिन मेरै नाम भएको मेरो साथी रामचन्द्रले भन्यो, ‘हाम्रो कृषिको म्यानेजर अंकलसँग पनि कति किताब छन् तिमीहरू पढ्छौ ल्याइदिम् ? ’
उसको दुईवटा घरमध्ये नयाँ घरमा कृषि बैंक भाडामा थियो उसले त्यसैको कुरा गरेको थियो। हामीले अस्वीकार गर्ने त कुरै भएन। अर्को दिन उसले ल्याइदियो। त्यो किताब म्याक्सिम गोर्कीको ‘आमा’ थियो। किताबको गातामा कपाल खल्बलिएको एउटी आमाको चिच्याइरहको र पर मैदानमा हतियारलैस सेनाको टुकडी भएको फोटो थियो। हामीलाई खोलले नै आकर्षित गर्यो। तुरुन्तै पढ्न थाल्यौ। किताबले हामीलाई खुबै तान्यो। पछि हामीले राजेन्द्र मास्केको अनुवाद पढ्दा थाहा भयो बाबुरामले निकै कमसल अनुवाद गरेका रहेछन्। संक्षेपीकरण जस्तो। तर त्यहीँ किताबले नै हाम्रो जीवन फेर्यो। किशोरावस्थाको हाम्रो कमजोर मनस्थितिलाई आँट र साहस दिने, हिम्मत दिने र जुझारु गराउने प्रेरणा त्यहीँ किताब थियो। ‘आमा’ले हामीलाई मेटामर्फोसिस गर्यो।
एकपटक आमाको टेबलमा एउटा पातलो किताब देखापर्यो। आकर्षक अक्षरमा लेखिएको थियो- शिरीषको फूल। हामीले खुसुक्क उठायौं त्यो किताब। अनि दुई भाइ मस्तले पढ्न थाल्यौं। दसमा पुगिसकिएको थियो। एसएलसीको वर्ष बाहिरी किताब छुन पनि हुन्न भन्ने आमाको कडा कानुन। जहाँ इच्छा त्यहाँ उपाय। विज्ञान किताबको बीचमा छोपियो ‘शिरीषको फूल’। आमाले बेलाबेलामा खुसुक्क भर्याङबाट निरीक्षण गर्नुहुन्थ्यो। सबै ठीकठाक थियो। लालटिनको उज्यालोमा दुई भाइ छोरा बडो गढेर किताब पढिरहेका छन्। गातामा लेखेको छ- विज्ञान, कक्षा दस। तर दुई भाइ त डुबेका थिए सकमबरी र सुयोगवीरको घनचक्करमा। पारिजातको भाषा नै लोभलाग्दो।
बेलुका खाना खानेबेलामा आमाले सोध्नुभयो- ‘टेबलमा मैले एउटा किताब राखेको थिएँ, देखेथ्यौ ? ’ सत्य बोल्ने कुरै भएन। जबर्जस्ती ओठको हाँसो च्यापेर टाउको हल्लाइदियौं ‘नाइँ, देखेनौं’। बाहिरी किताब अहिले नपढ्नु भन्ने आमाको आदेश फेरि सुनियो। ‘हुन्छ’ नभन्ने त कुरै थिएन। तर हामीलाई अत्याइरहेथ्यो विज्ञान किताबबीचको ‘शिरीषको फूल’ले। रातभरिमा पढिसिध्यायौं। अगाडिको शंकर लामिछानेको लयात्मक भूमिका पनि। बिहान आमा भान्साको काम गर्दैगर्दा टेबलमा जस्ताको तस्तै पुग्यो- ‘शिरीषको फूल’।
‘ए किताब टेबलमै रहेछ मैले देखेनछु।’ खाना खानेबेलामा आमाले यसोभन्दा हामीले कसरी हाँसो थाम्यौं होला
पारिजातको जीवनी पढ्दा नेपाली कक्षामा माधव सरले भन्नुभयो- ‘उनको शिरीषको फूल निकै चर्चित उपन्यास हो। त्यो अस्तित्ववादी उपन्यास हो। जीवन केही होइन केवल निस्सार हो.....।’ यस्तै यस्तै गहिरो विश्लेषण सुनाउँदै हुनुहुन्थ्यो शिक्षक। मेरो मुखबाट फुस्किहाल्यो- ‘सर त्यो त एउटा रिटायर्ड सैनिक र एउटी केटीको कथा होइन र ? ’ सर त तीन छक्क।
‘तिमीहरूले पढिसक्यौ ? ’ शंका र आश्चर्यसहित सरले प्रश्न गर्दै गर्दा सिंगो कक्षाको आँखा हामीतिरै थियो। अलिकति लाज, अलिकति गर्व र अलिकति घमण्डले हाम्रा अनुहार राता भएका थिए।
पारिजातलाई कक्षा आठबाटै जान्यौं हामीले। कक्षा दसमा सिक्किमको निर्माण प्रकाशनले उनका रचनाहरूको संग्रह गरेर ग्रन्थहरूमा प्रकाशन गर्न थाल्यो। छ भोल्युमा पारिजातका सबै रचनाहरू। केही भोल्युम हात लागे। हामीले उनको संस्मरणहरू ‘धूपी सल्ला र लालीगुँरासको फेदमा’, एउटा चित्रमय सुरुवात’, ‘अध्ययन र संघर्ष’का पानाहरू बडो भावुक हुँदै, दार्जिलिङका परिवेशहरूमा चुर्लुम्म डुब्दै पल्टायौ। कक्षा आठमा पारिजातको नाममा हामीले ‘पारिजात अध्ययन समूह’ बनायौं। ‘उज्यालो’ नामक हस्तलिखित पत्रिका पनि निकाल्यौं।
किताबहरूले मलाई किशोरावस्थामा सिर्जनशील हुन सिकाए। संवेदनशील बन्न सिकाए। समाज, इतिहास र मनस्थितिबारे बोध गराए। किताबहरू हुँदैनथे भने मेरा किशोर दिनहरू कति उराठ, उदास र निरस हुन्थे होला। धन्यवाद छ ती लेखकहरूलाई जसले हाम्रो लागि यत्ति राम्रा किताब रचिदिए। लेखकहरू सृष्टिकर्ता हुन् तिनले एउटा बेग्लै संसार बनाइदिन्छन्।