एमाले-माओवादीका आन्तरिक काम ठप्प !

एमाले-माओवादीका आन्तरिक काम ठप्प !

काठमाडौं : एमाले-माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः' भएको छ। पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन्। पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन्। असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले-माओवादीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो।

दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन्। अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्नेलगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन्। पार्टी जीवनसँग जोडिने कुनै विशेष अवसरमा कम्युनिस्ट पार्टीका संयुक्त कार्यक्रम बनाउनेबाहेक अहिले कुनै पनि औपचारिक कार्यक्रम एमाले-माओवादीले प्राथमिकतामै राखेका छैनन्। तर, कुनै पार्टी विशेषका नेता-कार्यकर्ताले पार्टी प्रवेश गर्न चाहे सामान्य कार्यक्रम गरी प्रवेश गराउने काम मात्र हुँदै आएका छन्।

सबैजसो कार्यक्रम ठप्पप्रायः नै भएको एमाले-माओवादी नेता स्विकार्छन्। एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराई केन्द्रीय सर्कुलरकै आधारमा अहिले एमालेले सदस्यता नवीकरणबाहेक अन्य काम स्थगन गरेको बताउँछन्। ‘एमालेका अहिले धमाधम जिल्ला अधिवेशन, जनसंगठनका अधिवेशन गर्ने समय थियो तर सबै स्थगित गर्न केन्द्रीय सर्कुलर भएकाले रोकिएका छन्', उनले भने, ‘सदस्यता नवीकरणबाहेक अन्य आन्तरिक काम सुस्ताएको छ।'

माओवादी केन्द्रको कार्यालयका मुख्यसचिव तथा पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकी पनि आन्तरिक पार्टी काम ठप्पै भएको बताउँछन्। ‘नेता-कार्यकर्ता सबैको काम, ध्यान, प्रतिष्ठा र अपेक्षा सबै पार्टी एकतामा केन्द्रित हँुदा आन्तरिक काम ठप्पै छ', उनले भने, ‘सदस्यता नवीकरणको काम मात्र केन्द्रीय कार्यालयले गरिरहेको छ।'

काम नपाउँदा सिंहदरबारमा कार्यकर्ता

एमाले-माओवादीका केन्द्रदेखि जिल्ला, गाउँ तहसम्मका नेता-कार्यकर्ता अहिले सिंहदरबारमा केन्द्रित हुन थालेका छन्। पार्टीले काम दिन नसक्दा टाठाबाठा नेता-कार्यकर्ता सिंहदरबार धाउन थालेका हुन्। पार्टीका एकाध शीर्ष नेताबाहेक अन्यलाई एकता प्रक्रियाका कुनै जिम्मेवारी दिइएको छैन। अझ दुई पार्टीका अध्यक्षबाहेक अन्य नेतासमेत पार्टीभित्रै बेरोजगारको स्थितिमा छन्। यस्तो बेला तल्लो तहका नेता-कार्यकर्ता झनै रुमल्लिइरहेका छन्।

त्यही भएर पनि नेता-कार्यकर्ता मन्त्रीहरूसँगको भेटघाटमा रमाउने, फाइल बोकेर सिंहदरबारमा मात्र दौडधुपमा लाग्ने काममा तल्लीन हुन थालेको बुझाइ छ, एमाले सचिव योगेश भट्टराईको। ‘अहिले पार्टीका नेता-कार्यकर्ता सिंहदरबारमा देखिन थालेका छन्। स्थानीय जनप्रतिनिधिदेखि पार्टीको जिल्ला नेतृत्वलगायत सबै फाइल बोकेर सिंहदरबारमै कुदेका देखिन्छन्', उनी भन्छन्, ‘पार्टीले नै काम दिन नसकेपछि बहाना पनि मिलेको छ, बजेट माग्ने भन्ने। यस्तो हुँदा पार्टी संगठन जीवन्त हुन सक्दैन।'

माओवादी मुख्यसचिव बुढाथोकी पनि नेता-कार्यकर्ता अलमलमा परेको र पार्टी निर्णय पर्खेर बसेको बताउँछन्। ‘पार्टीका काम केही छैनन्, कुनै नयाँ योजना बनेको पनि छैन, सबै अलमलमा रुमल्लिइरहेका मात्र देखिन्छन्', बुढाथोकी भन्छन्, ‘पार्टी संगठन चुस्त र व्यवस्थित गर्ने योजना पार्टीले नै बनाएको थियो एकता प्रक्रिया लम्बिँदा प्रभावित बनिरहेको छ।'

टाइमलाइन तोक्न दबाब !

पार्टीका आन्तरिक काम ठप्प हुन थालेपछि नेताहरूलाई एकताको निश्चित ‘टाइमलाइन' तोक्न उत्तिकै दबाब पर्न थालेको छ। कार्यकर्ताले एकता प्रक्रिया लम्बिएर समय मात्र लिँदा पार्टी आन्तरिक जीवनमा ह्रास आएको भन्दै नेतामाथि दबाब बढाउन थालेका छन्। ‘लामो समयसम्म पार्टी एकता नहुँदा समस्या आउँछ। मनोविज्ञान पनि स्थिर छैन, यसले आन्तरिक कमिटी प्रभावित भइरहेको छ', एमाले सचिव भट्टराईले भने, ‘नेतृत्वले अब एकताको टाइमलाइन तोक्न ढिला गर्नु हुँदैन। निश्चित टाइमलाइन बनाएर एकताको कोर्स पूरा गर्नुपर्छ।'

एकता प्रक्रिया लम्बिए पार्टीका रोकिएका आन्तरिक काम सुचारु गर्ने र छिटो टुंगिने भए त्यहीअनुसार दुवै पार्टी नेतृत्वले योजना बनाउनुपर्ने भट्टराईको भनाइ छ। माओवादीमा पनि त्यस्तै छ। माओवादीले दुई वर्षअघि माओवादी धारका १० पार्टीसँग एकता गरेपछि भद्रगोल बनेको पार्टी संगठनको वास्तविक तथ्यांक राख्न र आन्तरिक संगठन मिलाउन संगठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो।

त्यस्तै, चुनावी अन्तर्घात छानबिन गर्न पनि अमिक शेरचन नेतृत्वमा गठित अर्को छुट्टै कार्यदलले काम गरिरहेको थियो। अहिले दुवै कार्यदलका काम प्रभावित भएका छन्। दुवै कार्यदलका एकाध बैठक बस्नेबाहेक अन्य काम एकता प्रक्रियाकै कारण प्रभावित भएको कार्यालयका मुख्यसचिव बुढाथोकी बताउँछन्। ‘पार्टीको आन्तरिक समितिका काम गर्ने जिम्मेवारी थियो, ती समितिका एकाध बैठक पनि भए। तर, पछि पार्टी एकताका कारण अहिले सबै काम प्रभावित भएको छ', उनले भने।

एमाले-माओवादीको एकता कहिले हुने मिति टुंगो लागेको छैन। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मात्र अहिले छलफल भइरहेको छ। नमिलेका विषय मिलाएर पार्टी एकता संयोजन समिति बैठकमा आउन नेताद्वयलाई जिम्मेवारी दिइएको छ। तैपनि, दुई अध्यक्षबीचको छलफल अझै टुंगिन नसक्दा एकता प्रक्रिया लम्बिइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.